‘अष्ट्रेलिया या जहाँसुकै पुगेपनि आफ्नो प्रतिभा र रुचीलाई नमार्नुस्, प्रयास जारी राख्नुस्’

0
80

हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सुशील चालिसेले नेपाली साहित्यिक क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ। उहाँको पहिलो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ प्रकाशित छ। त्यस्तै, कला क्षेत्रमा समेत क्रियाशील, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ओसेनिया संयोजक चालिसेले नेपालको पहिलो महिला धिमे वादक इन्दिरा लाछिमस्युुको बारेमा डकुमेन्ट्री निर्माण गर्नुभएको छ। उक्त डकुमेन्ट्री केही दिन अगाडी मात्र सार्वजनिक भएको छ। यसै सेरोफेरोमा रहेर नेपाली कला तथा साहित्य क्षेत्रमा क्रियाशील सुशील चालिसेज्यूसंग गरिएको संक्षिप्त कुराकानी :

नेपाली कला तथा साहित्य क्षेत्रप्रति तपाईंको रुची कसरी बढ्यो ?
खासमा हाम्रो हजुरबुवा चक्रपाणि चालिसे नेपाली कला तथा साहित्यमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो। अहिले पनि उहाँको नाम नसुनेकाहरु कमै होलान्। सानोमा हजुरबुवाकै प्रभाव पर्यो होला ममा पनि। त्यसपछि स्कुल पढ्दा साहित्यिक लगायत कार्यक्रमहरुमा भाग लिने गरियो। जिल्लास्तरीय र कलेज स्तरीय साहित्यिक तथा वक्तृत्वकला प्रतियोगिताहरुमा भाग लिंदा म प्रथम हुने गर्थें। राष्ट्रिय नाचघरमा म नाटक पनि खेलें। भक्तपुर एफएममा दाइजो प्रथा, जातीय विभेद,अन्तरजातीय विवाह जस्ता विषयहरुसंग सम्बन्धित कार्यक्रम ‘प्रयास’ संचालन गरें। यसरी नेपालमा रहँदा म निरन्तर साहित्य, कला क्षेत्रसंग नजिक रहेर काम गरें।

अष्ट्रेलिया आइसकेपछि कला, साहित्य प्रतिको त्यो रुचीलाई निरन्तरता दिन कसरी सम्भव भयो ?
अष्ट्रेलिया आइसकेपछि केही समय त हराएँजस्तै भएँ। यहाँको संघर्ष, दिनचर्या छुट्टै किसिमको भयो। आफ्नो रुचीतर्फ त मैले ध्यानै दिन पाइन। तर भित्र भित्रै म छट्पटाइरहेको थिएँ। आफूलाई इच्छा लागेको काम गर्न नपाउँदा, आफ्नो मन मारेर बस्नुपर्दा मान्छे निराश हुन्छ। म पनि निराश भएँ। मनमा म एक किसिमको छट्पटाहट र पीडा बोकेर हिडिरहेको थिएँ। जब म यहाँ केही हदसम्म स्थापित हुन सकें, तब आफ्नो त्यो पीडा र छट्पटाहटलाई अब बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो। त्यसपछि मैले फेरी लेखन कार्यलाई निरन्तरता दिएँ।

विदेशमा रहेर नेपाली कला साहित्य क्षेत्रको यात्रालाई निरन्तरता दिनु कत्तिको सजिलो रहेछ ?
सजिलो त पटक्कै छैन। यहाँको जीवनशैलीबाट समय निकाल्न गाह्रो पर्छ। अर्को कुरा, हाम्रो देश कला, संस्कृतिमा जति धनि छ विश्वमा अरु कुनै देश त्यति धनी छैन होला जस्तो लाग्छ। कला र साहित्यको लागि नेपालमा साना देखि ठूला थुप्रै विविध सामग्री फेला पार्न सकिन्छ। त्यसको लागि पनि विदेशबाट समय निकालेर नेपाल गएपछि मात्र आफूले गरेको काममा पूर्णता मिल्छ जस्तो मलाई लाग्छ। मेरो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ मैले नेपाल गएको बेलामै फाइनल गरेर प्रकाशनको लागि दिएको थिएँ।

‘गुराँसहरु पलाँसहरु’ पुस्तकको बारेमा अलिकति बताइदिनुहोस् न !
अष्ट्रेलिया आएपछि धेरै समय म साहित्यबाट टाढा भएँ। त्यो ब्रेक पछि चाहिं मैले आफ्ना पूराना र नयाँ मुक्तकहरु संकलन गरी मुक्तक संग्रह निकाल्ने निधो गरें। शुभेच्छुकहरु, साथीहरुबाट राम्रो प्रतिक्रिया पाएँ। जसले गर्दा कला र साहित्य क्षेत्रमा निरन्तर लाग्नको लागि यो पुस्तक पनि मेरो लागि प्रेरणा बनेको छ। यो पुस्तकको सार्वजनिक कार्यक्रम नेपाल र अष्ट्रेलियाका विभिन्न सहरहरुमा गरिएको थियो। अष्ट्रेलियामा भएका कार्यक्रमहरुबाट संकलन भएको रकम मैले नेपाली संघसंस्थाहरुलाई सहयोग स्वरुप प्रदान गरें। यो पुस्तकले मेरो लागि समाजसेवाको बाटो पनि खोलिदियो।

लेखन कार्यमा लागिरहेको व्यक्ति डकुमेन्ट्री निर्माणमा चाहिं कसरी लाग्नुभयो ?
वास्तवमा म लेखन मात्रभन्दा पनि समग्र कला क्षेत्रमा रुची भएको व्यक्ति हूँ। विद्यार्थी कालमा पनि म सडक नाटक देखि लिएर राष्ट्रिय नाचघरमा प्रदर्शन हुने नाटकमा संलग्न हुन्थें। कला र साहित्यका हरेकजसो कुराले मलाई छुन्छ। अहिले पछिल्लो समय युट्युब च्यानल मार्फत आफ्नो कला, साहित्यलाई व्यक्त गर्न थालें। त्यसपछि भिडियो निर्माण सम्बन्धि सोंच आउन थालेको हो।

धिमे वादक इन्दिरा लाछिमस्युुकै बारेमा डकुमेन्ट्री बनाउने सोंच कसरी आयो ?
म भक्तपुरमा जन्मिएको हूँ। भक्तपुर कला र संस्कृतिको धनी ठाउँ हो। विशेषगरी नेवारी संस्कृतिले भक्तपुर एकदमै सुन्दर छ। तर म त्यहीं जन्मेर हुर्केर पनि थाहा रहेनछ कि, भक्तपुरको नेवारी समुदायमा एउटा अचम्मको नियम छ। त्यो के भने, नेवारी समुदायले विशेष पर्व तथा जात्राहरुमा धिमे लगायत बाजाहरु बजाउने गर्छन्। तर ती बाजा केवल पुरुषले मात्र बजाउने र महिलाले बजाउन नहुने भन्ने मान्यता रहेछ। पछिल्लो समयमात्र महिलाहरुले बाजा बजाउन थालेका रहेछन्। र, यसको सुरुवातकर्ता इन्दिरा लाछिमस्युु हुनुहुँदो रहेछ। त्यसमा पनि उहाँले बाह्र वर्षको उमेर देखि समाजको त्यो प्रचलनलाई चुनौती दिंदै बाजा बजाउन थालेको कुराले म निकै प्रभावित भएँ। यी कुराबारे मैले भक्तपुरकै नेवार साथीहरुलाई सोध्दा उनीहरुलाई समेत थाहा रहनेछ। यो हाम्रो इतिहास, नेपाली संस्कृतिको प्रबर्द्धन संगै प्रेरणाको विषय पनि रहेको तर धेरैलाई थाहा नभएको बुझेपछि मैले उहाँकै बारेमा डकुमेन्ट्री बनाउने निधो गरेको हूँ।

तपाईं त अष्ट्रेलियामा बसिरहनुभएको व्यक्ति, डकुमेन्ट्री भक्तपुरमा छायाँकन गरिरहेको छ। यसलाई कसरी सम्भव बनाउनुभयो ?
भन्छन् नि, चाहना हुनुपर्छ, प्रयास गर्नुपर्छ, सबै बन्दै जान्छ। इन्दिरा ज्यूको बारेमा थाहा पाएपछि नेपाल गएको बेलामा मैले उहाँसंग भेटें र डकुमेन्ट्रीको प्रस्ताव राखें। उहाँ खुशी हुनुभयो। त्यसपछि मेरो जतिपनि नेपालको बसाई थियो, त्यो सबै डकुमेन्ट्री निर्माणमा लगाएँ। विदेशबाट आएर समय नदिएकोमा, भेट्न नगएकोमा कति आफन्तले चित्त दुखाउनुभयो। तर अहिले डकुमेन्ट्री सार्वजनिक भएपछि उहाँहरुले पनि खुशी व्यक्त गर्नुभयो।

डकुमेन्ट्रीबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ। डकुमेन्ट्री सार्वजनिक कार्यक्रमका अतिथि देखि लिएर अहिले युट्युबमा डकुमेन्ट्री हेर्ने साथी लगायत दर्शकहरुको बधाई र माया पाइरहेको छु। नेवारी समुदायका साथीहरुले आफ्नै समुदायको कुरा आफूहरुलाई थाहा नभएको अवस्थामा यसरी सुन्दर तरिकाले बाहिर ल्याइदिदा खुशी व्यक्त गरिरहनुभएको छ। यति धेरै फोन, म्यासेज मैले कहिल्यै रिसिभ गरेको थिइन होला। अहिले निदाउन लाग्दा पनि म यति ढुक्कका साथ निदाउन थालेको छु कि, मैले जीवनमा एउटा राम्रो काम गरें। र, यतिधेरै हौसला दिने सबैप्रति कृतज्ञ छु।

अब यस क्षेत्रमा कस्तो योजना लिएर अगाडी बढ्दै हुनुहुन्छ ?
लेख्नको लागि लेख्ने, देखाउनको लागि गर्ने भन्दा पनि समुदायलाई काम लाग्ने केही गरौँ भन्ने लाग्छ। अहिले तत्कालको लागि चाहिं पब्लिक स्पिकिंग सम्बन्धि केही गरौँ कि भन्ने सोंचमा छु। खासमा म नेपालमा छँदा रेडियो उद्घोषकसंगै उद्घोषण कलाको प्रशिक्षक थिएँ। त्यो अनुभव र आफ्नो अहिलेसम्मको सिकाईलाई बाहिर ल्याउने चाहना छ ।

अष्ट्रेलियामा सघर्षरत रहेका कारण आफ्नो रुचीलाई निरन्तरता दिन नसकिरहेका युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
जीवन भनेकै चुनौती हो। त्यसैले चुनौतीलाई स्वीकार्नुपर्छ र आफ्नो रुचीलाई मर्न दिनुहुँदैन। म त भन्छु आफूसंग केही प्रतिभा, केही रुची छ भने जुनसुकै उमेरको व्यक्ति भएतापनि बाहिर व्यक्त गर्नुपर्छ। मैले पनि केही समय ब्रेक लिएँ। त्यस्तै, सधै निरन्तरता दिन नसकिएला तर आफ्नो प्रतिभा र रुचीलाई कहिल्यै छोड्नुहुँदैन।

डकुमेन्ट्री :