अष्ट्रेलियाबाट नेपालमा रहेका आफन्तसंग सधै भर्चुअल दशैं, यसपाली यहीँ पनि भर्चुअल कार्यक्रम

0
151
  • प्रेम राज उप्रेती ( न्याभ, उपाध्यक्ष / मेलबर्न ) ‘

अष्ट्रेलिया। नेपालबाट अष्ट्रेलिया आइसकेपछि दशैं भर्चुअल जस्तै हुन थाल्यो। साथीहरुसंग रमाइलो गरेतापनि परिवार तथा आफन्तसंग फोन र अहिले पछिल्ला वर्षहरुमा भिडियो कलमा दशैं मनाउन थालियो।

यो वर्ष भने यहीं साथीहरु बीचमा पनि भर्चुअल दशैं मनाउनुपर्ने अवस्था आएको छ। म आबद्ध संस्थाहरु नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, सुदुर पश्चिम समाजले कोरोना महामारीले सुनसान जस्तै भएको दशैंमा कार्यक्रमहरु गरेर केही उल्लास थप्ने जमर्को गरेका छन्। ती कार्यक्रमहरु पनि भर्चुअल नै हुन्। जहाँ भएपनि जसरी सकिन्छ त्यसरी मनाउने हो। त्यसमै रमाइलो मिल्छ।

नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर, रमाइलो माहोलको सिर्जना गरौँ, टाढा-टाढा बस्नुपरेतापनि भर्चुअल माध्यमबाट एक भएर दशैं मनाऔं, हाम्रो कला संस्कृतिको सम्बर्द्धन र प्रबर्द्धन गरौँ भन्न चाहन्छु।

मेरो लागि यसपालीको दशैं व्यक्तिगत रुपमा अलि खल्लो लाग्दैछ। मेरो बुवाको देहान्तपछि मनाउंदै गरेको यो पहिलो दशैं हो। त्यसैले बुवालाई धेरै ‘मिस’ गरिरहेको छु।

अर्कोतिर, नेपालमा दशैं मनाउन नपाएको थुप्रै वर्ष भैसक्यो। नेपालमा रहने साथीहरु, आफन्त, छरछिमेक सबैलाई सम्झिरहेको छु। अर्को वर्ष सबैलाई भेट्न पाइन्छ कि भन्ने आशा पनि छ।

अन्त्यमा, बडा दशैं २०७७ को सम्पूर्णमा शुभकामना !