अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना नियन्त्रणको लागि जारी नियम खुकुलो बनाइने सरकारको घोषणा

0
152

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा समुदाय स्तरमा कोरोना संक्रमण दर घटेको छ। आज सार्वजनिक तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा समुदाय स्तरबाट संक्रमण सरेका व्यक्तिको संख्या शुन्य रहेको छ।

समुदाय स्तरमा संक्रमण दर घट्दै गएपछि आज पत्रकार सम्मेलनमा प्रिमियर ग्लेडिस बेरेजीक्लीयनले हाल जारी केही नियमहरु खुकुलो बनाइने बताएकी छिन्।

न्यु साउथ वेल्समा यसअघि रेष्टुरेन्टमा एक पटकमा २० जनासम्मलाई अनुमति दिंदै आएकोमा अब ३० जनासम्मलाई अनुमति दिइनेछ। त्यस्तै, विवाहमा ३ सय जनासम्म सहभागी हुन पाइनेछ। तर विवाह समारोहको लागि यो नियम डिसेम्बर १ देखि मात्र लागु हुनेछ।

त्यस्तै, प्रिमियर ग्लेडिस बेरेजीक्लीयनले क्रिसमस मनाउँदा घर भित्र भन्दा पनि घर बाहिर रमाइलो गर्न आग्रह गरेकी छिन्। उनले घर भित्र साँघुरो स्थानमा मान्छे जम्मा हुँदा संक्रमणको डर हुने उल्लेख गर्दै बाहिर रमाइलो गर्न आग्रह गरेकी हुन्।

साथै प्रिमियर ग्लेडिस बेरेजीक्लीयनले कोरोना नियन्त्रणको लागि प्रयास पछि यहाँसम्म आइपुगेको र फेरी पछाडी फर्किन नचाहेको उल्लेख गर्दै सबैलाई सामाजिक दूरी कायम गर्न स्वास्थ्य सुरक्षा अपनाउन आग्रह समेत गरेकी छिन्।