अष्ट्रेलियामा लक डाउनको चपेटोमा नेपाली बिद्यार्थीहरु

0
145

चैत्र १९, मेलबर्न 
कोरोना भाइरसका कारण अष्ट्रेलिया लक डाउन भएपछि यसको प्रत्यक्ष प्रभाव बाहिरका विद्यार्थीमा देखिन बढि थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत रहेका छन् । सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरेपछि देशभरका क्लब, खेलकूद, धार्मिक केन्द्र, सिनेमाघर, मनोरन्जनस्थल र रेस्टुरेन्टहरु बन्द छन् । त्यहाँ काम गर्ने नेपालीसहित हजारौं विद्यार्थी बेरोजगार भएका छन् ।

अहिले समग्र मुलुकनै लक डाउन हुँदा बेरोजगारीको समस्याले नेपाली विद्यार्थीलाई पनि नराम्ररी असर पारेको छ । महँगो घरभाडा, खाद्यान्न अभाव र रोगको त्रासले विद्यार्थीमा आर्थिकदेखि मानसिक समस्या समेत देखिन थालेको छ । बिहान बेलुका के खाने भन्नेमा मात्र उनिहरुको ध्यान जान लागेको छ ।  अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने “पछिल्लो समय नेपाली बिद्यार्थीहरुबाट गुनासा आउने क्रम बढेको छ । समाधान गर्ने प्रयासमा लागिराखेको छौं” । यहाँका नेपालीको समस्याका सम्वन्धमा एनआरएन, स्थानीय संघ संस्था र महावाणिज्यदूतसँग समन्वय गरेर अगाडि बढ्ने काम भइरहेकोले बिभिन्न संघ संस्थाले पनि सहयोग गरिरहेको बताए ।

https://www.youtube.com/watch?v=ks3nXalt5i0&t=41s

एनआरएन अष्ट्रेलियाले कोरोना प्रभावित विद्यार्थीलाई एक महिनाका लागि खाद्यान्न सामाग्री समेत सहयोग गरिसकेको छ । जस अन्र्तगत धेरै नेपाली बिद्यार्थीहरुले राहतको महशुस गरेता पनि यतिले मात्र प्रयाप्त नहुने जनाकारी प्राप्त भएको छ ।  अष्ट्रेलियन सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दालाई मध्यनजर गरेर विभिन्न आर्थिक सहयोगको प्याकेज घोषणा गरेको छ । तर यसले यहाँ पढ्न आउने विद्यार्थीलाई नसमेट्ने हुदा गैरआबासिय संघलेनै काम गर्नु पर्ने बाध्यता रहेको छ । ज्यालादारी ,व्यवसायी, सेवानिवृत्त भएका र काम नपाएका अनि भत्ता पाउनेहरुले राहत कोषबाट थप आर्थिक सहयोग पाउने भएका छन् ।यस सहायता अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, कृषक भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिनेछ ।
यस्तै काम गुमाएको पुष्टि हुने दैनिक ज्यालादारी र एकल व्यवसायीलाई पनि सहायक भत्ता दिइने भएको छ । हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा ११ सय डलरसम्म पाउने छन् । यसरी स्थानीय नागरिक र पिआरले प्राप्त गर्ने यस्ता सुविधाहरु अन्तर्रा्ष्ट्र्रिय विद्यार्थीको हकमा लागू नहुनुले उनीहरुमा नैराश्यता छाएको छ । कर तिर्ने विषयमा सबै समान भएपछि आपतकालीन सुविधा प्राप्त हुनुपर्नेमा विद्यार्थीको माग रहेको छ ।