अष्ट्रेलियाको बसाईमा मेरो लागि कालो रात बनेको त्यो शुक्रबार

0
140

– किरण पौड्याल

गएको वर्ष अर्थात २०१७ को २७ जनवरी, शुक्रबार मेरो अष्ट्रेलिया बसाई अथवा भनौं, मेरो जीवनकै नराम्रो दिन सावित भयो। म आफूले त्यो दिनलाई सम्झिँदा ‘ब्ल्याक फ्राईडे’ को रुपमा सम्झिन्छु । मैले पी.एच.डीको लागि अनुसन्धान गरिरहेको हुँदा ‘जर्नल’ मा दिनको लागि पाण्डुलिपि तयार गर्नु थियो । युनिभर्सिटीमा त्यही सम्बन्धि काम गर्दा गर्दै राती भयो। घर जानको लागि म ट्रेन स्टेसनमा पुग्दा रातीको १० बजेको थियो ।

त्यो दिन भियतनामीहरुको नयाँ वर्षको दिन थियो। आतसबाजी भइरहेको थियो। श्रीमतीलाई पर्खिंदै म आतसबाजी हेर्दै थिएँ । र, काठमाडौंबाट मेलबर्न आउने तयारि गरिरहेको भाईसंग फोनमा कुराकानी पनि गर्दै थिएँ । यत्तिकैमा अफ्रिकन जस्ता देखिने मानिसहरुको केही समय म भएको ठाउँमा आए र मैले केही सोंच्नै नभ्याउँदै केहीले मेरो हात समात्ने र केहीले ममाथि मुक्का बर्साउने गर्न थाले । त्यो सबै दृश्य मैले अहिले वर्णन पनि गर्न सक्दिन। हातमा चक्कु सहितका उनीहरुले मलाई मुक्का प्रहार गरिरहेका थिए । यत्तिकैमा मेरो श्रीमती आइन् र पुलिसलाई खबर गरिन् । मेरो मुखबाट रगत बगिरहेको थियो ।

खबर गरेको केही मिनेटमै पुलिस म भएको ठाउँमा आए । तर उनीहरुले केही गरेनन् । अनुहारमा र टाउकोमा प्रहार भएका मुक्काले गर्दा म दुई/तीन दिनसम्म बोल्न समेत नसक्ने भएको थिएँ । हामी पुलिसकोमा मेरो ल्यापटप दिलाइदिन आग्रह गर्दै कैयौंपटक धायौं। उनीहरुले मेरो पर्स, ल्यापटप, ब्याकअप सबै लगेका थिए । तर पुलिसले उनीहरुलाई पक्रेको तर मेरो सामान उनीहरुसंगबाट नभेटिएको बताइरह्यो । सायद, उनीहरुले मेरो ल्यापटप २००/ ३०० डलरमा बेचे होलान्। तर त्यो ल्यापटप मेरो लागि केवल ल्यापटप मात्र थिएन। त्यसभित्र मेरो मेहनत र सपना थियो। त्यहाँ मेरो तीन वर्षे पी.एच.डीको सबै डकुमेन्ट, मैले तयार पारेको डकुमेन्ट, सक्नै लागेको पाण्डुलिपि सबै थिए। दैनिक रुपमा तयार पारेका ती डाटा राख्न मैले क्लाउड स्पेसको पनि प्रयोग गरेको थिइन।

म एकदमै निराश भएँ। मेरो तीन वर्षको मेहनत चोरिएको थियो । रातीमा निदाउन छोडें, डिप्रेसनमै गएको जस्तो भएँ । मानिसहरुलाई त्यो घटनाको बारेमा बताउँदा म भित्रै देखि टुट्थें। भाइको परिवार र मेरो श्रीमतीको मामाको परिवारले एक हप्तासम्म हामीसंगै बसी रमाइलो माहोल सिर्जना गर्दै हामीलाई भुलाउन कोसिस गरे । तर मलाई यो निराशाबाट निस्किन २/३ महिना नै लाग्यो ।

यो घटनाबाट बाहिर निस्किएपछि साथीभाई लगायत धेरैले मलाई अब यो छोटो अवधिमा पी.एच.डीको त्यो सबै काम पूरा गर्न गाह्रो हुन्छ भने। तर मलाई जसरि पनि पूरा गर्नु थियो । त्यसपछि म एक वर्षसम्म सामाजिक संजाल देखि लिएर बाहिरि दुनियाँबाट समेत एक वर्षसम्म बेखबर जस्तै भएर पी.एच.डीको आफ्नो काममा लागिपरें । म आफ्नो मेहनतमा सफल पनि भएँ र अब छिट्टै थेसिस बुझाउँदै छु ।

मैले यो घटनाबाट धेरै सिकेको छु । कृपया आफ्नो महत्त्वपूर्ण डकुमेन्ट कम्प्युटर, एक्सटर्नल ब्याक-अप मात्र नभएर क्लाउड ड्राइभमा पनि सुरक्षित गर्नुहोस्।