मायाः फ्रेस सेकुवा कि खै लागेको झिर ?

0
169

–रामकुमार एलन

‘कति एंग्रिन्न सक्छेस्, तेरो रिस त कुकुरमा १२ सिठ्ठी लगाएर गलाउनु पर्ने ?’ सातपटक फोन गर्दा पनि नउठाएपछि रोशनले सुष्मालाई च्याटमा पठाएको सन्देश ।

फेसबुकको म्यासेन्जर, भाइबर, इमोमा पनि अनलाइन देखिँदासमेत सुष्माले रोशनलाई कुनै प्रतिक्रिया नदिएको १४ घण्टा बित्यो । सुष्माले बोक्ने एनसेलमा ब्यालेन्स हिजैदेखि थिएन । तर सबै सोसल साइट कसरी चल्यो ? हिजो रोशनले लेखेको थियो, ‘ओइ तेरो रिचार्जर अरु पनि छ ?’ त्यस यता सुष्मा निःशब्द छे ।

‘होस्टलको वाइफाइ पनि बन्द । हेर न, मेरो त डाटा प्याक पनि सकियो,’ सुष्माले लेखेको अन्तिम सन्देश । सुष्माको मोबाइलमा सधैँ ब्यालेन्स भर्ने काम रोशनकै हो । मानौँ रोशन सुष्माको नेपाल रिचार्ज निगम थियो । आयल निगमले १२ हजार लिटर इन्धन भरेर ट्यांकर काठमाडौं पठाएजस्तै हप्तैपिच्छे रोशन ब्यालेन्स भथ्र्यो सुष्मालाई । अनि चल्थ्यो एकहप्तासम्म भिडियो च्याट । रोशन बाटोमा थियो, भन्यो, ‘भरे ल ?’ तर भरेसम्ममा सुष्मा अनलाइन देखेर रोशनले शंकाको वाण हान्यो, ‘कति छन् तेरो रिचार्जर ?’

म्यासेज सिन देखाउँछ । तर छैन रिप्लाइ । होस्टलको वाइफाइ चलेको पनि त हुनसक्छ । रोशनले किन एकाएक चरित्रमै धावा बोल्यो र फायर खोल्यो ? सुष्मा बेडमा पल्टेर भित्तातिर हेर्न थाली । जहिले शंकाको जाल हानेर रित्तो फर्कने मछुवारे रिसाइरहेको आकृति भित्ताभरि टाक्सियो । सिरानीमा घोप्टो परी । उही रोशन रिसाइरहेको छायाचित्र । कस्तो मान्छेलाई माया गरिएछ, सधैँ शंकाको जाल हान्ने ? उम्किरहन पर्ने बुदुना माछाजस्तो ? सुष्मा एकोरिई ।

भाइब्रेसनले सिरानी थर्थराइरहेको छ । सुष्मालाई थाहा छ, यो रोशनकै फोन हो । उसको दाइ विदेशमा छ । भाउजु गाउँमा । आमाले महिनामा एकपटक फोन गर्ने हो भाउजुको मूड हुँदा । भाउजु पनि सकभर नन्दबाट टाढा रहन खोज्छिन् । त्यसैले भाउजुको पनि ब्लकमा छिन् फेसबुकमा । कहिलेकहीँ भाइबरमा कुरा हुन्छ । फेसबुकमा भाउजु र नन्द हुँदा कहिले नन्दलाई समस्या, कहिले भाउजुलाई । भाउजुका भाइले सोल्टिना कोसँग चिप्किएको भनेर कलेजका साथीसँगको धेरै फोटोमा कमेन्ट हानेको छ । अनि भाउजुको गाउँको तरकारी बैठक र जमघटमा पनि नन्दको प्रश्न हुने नै भयो, ‘हजुरलाई कर्के घुर्ने यो समाजसेवी को हो भाउजु ?’ यसपछि नन्द भाउजु फेसबुकमा बाइकट ।

भक्तपुरको घ्याम्पेडाँडामा भेटिएका थिए रोशन । पल्सर–२२० मोटरसाइलमा उकालोमा हुइँकिदा रातोमाटोमा पिलित्त चिप्लेर लड्यो । नजिकै भएकी सुष्माको सातो गयो । नजिक गएर उठाउन खोजी । हात समातिन् । ‘म ठीकै छु’ भन्दै रोशनले करङहरु मर्कायो । बाइक उठाए । धन्यवाद भन्दै रोशन रातोपिरो हुँदै चढे उकालो ।

सुष्मा पाइलट बाबा आश्रमतिर टहलिँदै थिइन् । चिसो हावाले पाइन्ट र टिसर्ट बीचका नाइटोमा जोडले चुम्बन मारिरहेको थियो । रेलिङमा टाँस्सिएकी सुष्मा पहिलोपटक साथीहरुसँग त्यहाँ गएकी थिइन् । कसैले भन्यो, ‘एक्स्क्युज मी ।’ फर्कँदा उनै रोशन थिए । ‘म रोशन, अघि गर्नु भएको सहयोगका लागि धन्यवाद् ।’ हाँस्दै भनी, ‘म सुष्मा, घर धादिङ, पिकेमा पढ्छु, अनामनगरमा होस्टलमा बस्छु ।’ फेसबुकका आइडी साटासाट भए । ‘कफी पिउन जाउँ,’ रोशनले मित्रताको बैना मार्न खोज्यो । तर उस्को प्रस्तावको डोरी बाटिएन । ‘पछि न, अहिले साथीहरुसँग छु,’ सुष्माले टाट्ना र बाख्रा नभएकाले दाम्लो नचाहिएको संकेत ग¥यो । रोशन ओझेल प¥यो ।

काठमाडौं खाल्डोमा को कहाँ किन, कोसँग के गरिरहेका हुन्छ ? हिसाबकिताब कसले राख्ने ? पत्रकारका फाइभडब्ल्यु वान एच अर्थात् ६ प्रश्नको उत्तर दिने फुर्सद पनि छैन घण्टे ड्युटी र त्यो भन्दा बढी जामको जिन्दगीमा । कुर्कुरे उमेरका केटाकेटीहरुले कलेज बंक गर्नु, राति ४ बजेसम्म कलेज डे«समै डिस्कोमा नाचेर ह्विस्कीकै सासमा बिहान कलेज जानु, कलेजमा ह्याङओभर भएर फेरि दिउँसै साथीसँग रेष्टुरेन्ट जानु, चुरोट पिउनु अनि मन लागेको जिन्दगी जिउन ब्वाइफ्रेन्डको कोठामा सुतेर फेरि राति १२ बजे डिस्को छिर्नु ‘साधारण स्केज्युल’ हो काठमाडौँमा । काठमाडौँको मजा पनि त यही हो । रोशनले पठाएको फ्रेन्ड रिक्वेस्ट, होस्टलले दिएको वाइफाइ अनि भाउजु र आमासँग पनि आक्कलझुक्कल बोल्ने र भेटिने सुष्मा रत्तिँदै गइन् रोशनसँग ।

‘जाउँ ककनी घुम्न,’ रोशनले एकदिन प्रस्तावको बल्छी हान्यो । सुष्मा बिलखबन्दमा परिन् । जाउँ, कसैले देखे के होला ? नजाउँ ककनी घुम्ने सपनाले काउकुती लगाइरहेको थियो । ककनी स्टे, स्ट्रबेरी अनि ट्राउट माछा । पत्रिकामा पढेको, सोसल साइटमा साथीहरुले इन्जोय गरेको तस्बिरले उसको मन बेलगाम हुन लालयित थियो । सुष्माले कयौँपटक ककनी कथा पढेकी थिइन् । ‘के के छ त्यहाँ ?’ सुष्माले सोधी, ‘सल्लाघारी, चिसो हावा, मीठो माछा, सेकुवा अनि तिमी र म,’ रोशनले एकभारी घाँस हाल्यो नयाँ गाईलाई ।

‘सेकुवा मन पर्छ ?’ रोशनले खाली ठाउँ भरिहाल्यो, ‘सेकुवा त सबै मन पर्छ, साँधेको, पोलेको अनि तिमीजस्तो ।’ ‘म सेकुवा,’ सुष्मा निर्दोष थिई । ‘हो त तिमी सेकुवा, म झिर,’ रोशनले फेरि अर्को बैना मार्न खोज्यो । सुष्मालाई काउकुती लाग्यो ।

अलि अगाडि किशोर नेपालले कान्तिपुर गाथामा लेखे’थे, ‘शहरमा हरेक दिन सेकुवा नयाँनयाँ, झिर पुरानै ।’ त्यसको अर्थ कति चोटिलो, सेक्सिलो या भड्किलो थियो, यतिखेर पो खुल्दैछ रहस्य । विभिन्न जिल्लाबाट आउँछ सेकुवा, काठमाडौँमा आगोले तातिएर रन्किएको झिर आतुर छ उन्न सेकुवाहरु ।

कयौँपटक रोशन झिर बनेर आयो सुष्माको जीवनमा । सुष्मा स्वादिलो सेकुवा बनेर प्रस्तुत भई रोशनका लागि । काठमाडौँको कस्मेटिक मायामा कहिले रोशन डबल क्लोजअप गरेको दाँत भएर सुष्मा डेरीमिल्क बन्थिन् । कहिले सुष्माको उखरमाउलो गर्मीमा रोशन ‘गोपाल आइसक्रिम’ भएर शितल वर्षाउँथ्यो । काठमाडौँ मायाको बारी नै त हो । मायाको पसल पनि चल्छ, मायाको फसल पनि फल्छ । उमेरको मायामा वैँशको बाढी यसरी उर्लिरहेको थियो कि चोभार, सल्लाघारी, ककनी, नगरकोट, हात्तिवन र पशुपतिको श्लेष्मान्तक वन परिसरमा एउटा उखान चरितार्थ भइरहेको थियो, ‘तिर्खा लाग्दा मोही र वैँश छँदा जोइपोइ ।’ उमेरको भोक दालभातले नटर्ने । एकजनासँगको सम्बन्धलाई समाजले पनि रिस नगर्ने ।

तर एकाएक रोशन किन बिच्कियो सानो कुरामा । मोबाइलमा डाटा सकिएपछि रिसिभमात्र हुन्छ भन्ने भ्रममा किन उसले भन्यो, ‘कति छन् तेरा रिचार्जर ?’ सुष्माको मनमै प्वाल पा¥यो प्रश्नले । अक्सर रिसाउँथ्यो रोशन, यसपटक एंग्रिने पालो सुष्माको । रोशन मार हान्दा दाम्लो छिनाएर रन्थनिएर गाउँमा बौलाउँदै दगुरेको राँगोजस्तै भएको छ । सुष्माको मनमा धेरै माया र थोरै डर छ । उहीले डेनी डेङ्जोङपाले गाएको ‘कान्छीलाई घुमाउने काठमाडौँ शहर’ रोशनले सुष्मालाई कार्यान्वयन गरिदिएको थियो, दलहरु अस्थिर भए पनि रोशन र सुष्माको मायाको संघीयता संस्थागत हुँदै थियो । तर एउटै प्रश्नले सुष्मा र रोशनको माया तार्किक निष्कर्षमा पुग्न सकेन र वार्ता पनि रोकिएको छ । रोशन, ‘कति छन् तेरा रिचार्जर ?’ सुष्मा, ‘कतै रोशनले पायो अर्को नयाँ फ्रेस सेकुवा र नयाँ स्वादका लागि भयो उद्देलित ?’ शहरका सडक, चोकचोकमा खाल्डो परे झैँ मायापथको पर्खाल पनि कहिलेकहीँ भत्किन्छ यसरी । दुई किशोरीकिशोरी दुईतिर उधुमुन्टिएर सोचिरहेका छन्, ‘जीवन फ्रेस सेकुवा कि खै लागेको झिर ?’

(जनता टेलिभिजनमा कार्यरत लेखक  ‘एलन ‘ शुक्रवार साप्ताहिकमा नियमित लेख्छन् )