के आमा छोराको मात्र हुने हुन् ?

0
131

–कामना न्यौपाने

“एउटा मान्छेले अर्को मान्छेलाई संसारमा भित्र्याउने हो, नानी ! कहाँ सजिलो छ र ? नरोऊ, तिमीलाई पनि तिम्री आमाले यसरि नै जन्माउनु भएको हो । छोरी मान्छे भएर जन्मिएपछि भविष्यमा तिमीले पनि यो व्यहोर्नुपर्छ ।“

मेरी दिदी अस्पतालको बेडमा छटपटाईरहेकी हुनुहुन्थ्यो । जब डाक्टर देखा पर्थे उनीहरुले आफ्नो हात र औजार फेरी प्रयोग गर्ने डरले दिदी झन् आत्तिनुहुन्थ्यो । डाक्टरको लागि त्यो कर्तव्य थियो तर दिदीको लागि डर । दिदीको पीडा देख्न नसकेर म रोएको देखेपछि छेउको बिरामीको कुरुवा बसेकी एकजना आन्टीले त्यसै गरि सम्झाउनु भएको थियो ।

संसारको सृष्टि सजिलै थामिए जस्तो लाग्छ । महिनावारी, गर्भधारण अनि जन्म । तर पहिलो पटक प्रसुति वार्डमा कुरुवा बसेकी म, ती आमा बन्दै गरेकाहरुको चिच्याहटले हतास बनिरहेकी थिएँ  । मलाई त्यो सहन गर्न नसकेर रिङ्गाटा लाग्दै थियो । दिदीलाई हेर्दा लाग्थ्यो, यसरी जन्मेको बच्चाको पनि माया लाग्ला र कहीं ? मलाई त बच्चाको अनुहार हेर्ने लालसा नै हराएर गयो  । बस् लाग्यो, मेरी दिदी बाँचिदिए हुन्थ्यो, फेरी एकपटक हाँसिदिए हुन्थ्यो ।

रातभरिको त्यो छटपहाटपछि बिहान दिदीको चिच्याहट रोकियो र संगै आवाज आयो सांसारिक मोहमा जेलिन आईपुगेको अबोध बच्चाको । केहीछिनपछि दिदीलाई भेट्दा त म जिल्ल परें । अघिसम्म चिच्याईरहेकी दिदी अहिले केहि पनि नभएजस्तो , खुशी मात्र भरिएजस्तो गरि बच्चा राखिएको ठाउँतिर हेरी मुस्कुराईरहनुभएको थियो । त्यो रातभरिको पीडा एकैछिनमा कसरी गायब भयो होला ? हाम्री आमा पनि त हामीलाई देखेपछि आफ्नो सबै थकान भूलेर मुस्कुराउनुहुन्छ । वाह ! दिदी पनि अब आमा बन्नुभएछ । अब त दिदीको चिन्ता, हेरचाह, समय सबै उसैको लागि हो, हाम्रो लागि हाम्री आमाले गरे जस्तै ।

दिदीलाई वार्डमा सारिएपछि दिदीसंगै हिजो राती अर्को बेडमा पीडाले चिच्याईरहेकी घर पूर्व बताउने दिदी भेटिनुभयो । तर अचम्म, आमा बनिसकेपछि पनि उहाँमा हाम्री दिदीको अनुहारमा जस्तो खुशी थिएन । कुरा गर्दै जाँदा दुखेसो पोख्नुभो, “ बूढा र सासू ससुरासँग दुई वटी छोरी गाउँमा छन् । दुईवटी नै गाउँमै जन्मेका हुन् । यसपाली त छोरा हुन्छ , अस्पतालमै जन्माउनुपर्छ भनेर घरकाले यहाँ पठाए । खर्च भयो तर छोरी जन्मिई  । फोन गरेर बताएँ । आफूलाई त माया लाग्छ नि सन्तानको तर के गर्नु घरका खुशी छैनन् ।“

ती छोरीकी आमा, आफ्नो सन्तानलाई मायाले स्पर्श गर्दै निन्याउरो अनुहारमा झोक्रिरहेकी थिईन् । नौ महिनाको सकस र एक दिनको त्यो प्रसव पीडा पछि उनि नतिजामा फेल भएको भान गरिरहेकी थिईन् । अहिले नै आमाको परीक्षाको नतिजामा फेलको ट्याग बोकेर आएकी त्यो बच्चीको भविष्य कस्तो होला ?
फेरी ऊ पनि त भविष्यमा यसै गरि कठघारामा उभिनु छ, जहाँ उसको सन्तानको लिङ्गले उसको जिन्दगीको नतिजा बताईदिनेछ  । पास नै भई भनेपनि उसको संघर्षबाट जन्मिएको सन्तानले उसको परिचय बोकेर हिंड्नेछैन । त्यसैले त ती दिदी उसको अनुहारमा हेरेर भन्दै थिईन् , “ मलाई पनि दुःख दिईस्, आफूले पनि दुःख पाउन जन्म लिईस् “ ।

ती मैले देखेकी उनै आमा हुन् जो आफ्नो सन्तानलाई धर्तीमा ल्याउन हिंजो सघर्षरत थिईन्, अस्पतालको बेडमा । त्यो भन्दा अगाडि पनि गरिन् होला, महिनावारीमा, गर्भधारणमा, गर्भावस्थामा । तर ती सबै संघर्ष अहिले बिलाएर गएका छन्, नयाँ संघर्ष जन्माएर, तीन छोरीकी अभागी आमा बनाएर । हिजो उनि पीडा सहन नसकी बेडबाट चिच्याउँदै थिइन्, “मरे नि आमा !  “  बिरामी भेट्न आएका दुई वटा केटाले व्यंग्य हान्दै थिए उनितिर, “ अब मरें भनेको कति समय भईसक्यो, अझै मर्ने होईन.. हाहा ..“ । थाहा छैन अब कति प्रसव पीडा, छोरीकी आमा हुनुको पिडा र यस्ता व्यंग्य उनले सहनुपर्नेछ, त्यो पनि “कमजोर महिला“ को उपमा लिएर ।

’महिनावारी, गर्भावस्था, प्रसव अवस्था’ नकार्दै र बेवास्ता गरिंदै आएको आमाहरुको शक्ति हो । जबसम्म तिमीले यो पीडालाई होच्याउँछौ, महिलालाई कमजोरको संज्ञा दिन्छौ तबसम्म तिमी आमाप्रति सही सम्मान देखाउन असमर्थ हुन्छौ । जबसम्म सन्तान जन्माउने कार्यलाई शक्तिभन्दा बढी कमजोरीको रुपमा लिईन्छ तब सम्म प्रत्येक आमाहरु हेपिईरहन्छन् । भविष्यकी आमालाई जन्माएकोमा वर्तमानकी आमाले दुःख मनाउ गर्ने स्थितिको सिर्जना हुनबाट रोक । र,जबसम्म छोरी अथवा महिलालाई दोश्रो दर्जा दिईन्छ तबसम्म आमाहरुले उचित सम्मान पाउनेछैनन् । मिठाईमात्र होईन, धन्यवाद देऊ आमालाई आज, उनले पीडा सहन सक्ने हिम्मत गरेकैले तिमीले यो धर्तीमा टेक्ने मौका पाएका हौ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus