भुकम्प प्रभावितलाई फेवातालमूनि भव्य बस्ती, दोलखामा एनआरएन इन्टरनेशल भिलेज

0
340

अल्कापुरी । भुकम्प पछिको पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनको निकै चर्चा भयो । त्यसपछि एक्लै वस्ती बनाउने धादिङका दिनेश तामाङ चर्चित भए । तर, यी भन्दा ठूला आयोजनाहरु हल्लाखल्ला बिनै निर्माण सम्पन्न भएकाछन् । आज ती आयोजना भुकम्प पीडितहरुलाई चुपचाप हस्तान्तरण गरिएका छन् । हेर्नोस्, मनै भरंग पार्ने फोटो कथा ः

औधरी ग्रुपको अन्डर वाटर सिटी

मूलूकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान औधरी ग्रुपले फेवाताल मुनी बनाएको अत्याधुनिक वस्ती आजै गोर्खाका भुकम्प पीडितलाई हस्तान्तरण गऱ्यो । दुई बर्ष अघि भुकम्प पीडितलाई एक हजार वटा घर बनाई दिने घोषणा गरेको थियो । प्रतिष्ठानको २५ करोड तथा बांकी दाताको अनुदानमा बनेको यो अद्भुत सिटीमा पुग्न लाप्राकबाट ८० किलो मिटरको सुरुंग बनाईएको छ । पानी मुनी बनाईएको यो बस्ती विश्वमै नौलो प्रयोग हो । वस्तीमा धादिङ र गोर्खाका हजार परिवारहरु बस्छन् । उनिहरुको जिविकोपार्जनकालागि पानी मुनी खेतीको बिकास गरिएको छ ।

एनआरएन इन्टरनेशल भिलेज दोलखा

उता गैर आवासीय नेपाली संघले ३५ खरबको लगानीमा दोलखाको अति प्रभावित च्यामा गाउंमा इन्टरनेशनल भिलेज सिटी निर्माण गरेको छ । सिटीमा चीनको स्वसासित तिब्बतको ना प्यो शहरबाट सोझै रेलसेवा पनि जोडिएको छ । अमेरिकन इन्जिनियर, रसियन डिजाईनर, अष्ट्रेलियन कन्ट्र्याक्टरको सहकार्यमा निर्माण भएको सो बस्तीमा सिन्धुपाल्चोक र दोलखाका बिपन्न भुकम्प पीडितलाई हस्तान्तरण गरिएको छ । बस्तीमा बैंक, बिद्यालय, मेट्रे तथा मनोरञ्जनकालागि मिनि डिज्नील्याण्डको पनि स्थापना गरिएको छ । भुकम्प दिवसको अवसर पारेर एनारान अध्यक्षले अनलाईन हस्तान्तरण गरेको थिए ।

सरकारको स्काइ टाउन

अर्बौको सहयोग र अनुदान आएपनि पुर्ननिर्माणमा सरकार निस्क्रिय रहेको जन आक्रोस आइरहेको बेला प्रधानमन्त्रीले आज सिन्धुपाल्चोकको हेलम्बुको आकाशमा ग्लोबल स्काइ टाउन भुकम्प प्रभावितलाई हस्तान्तरण गरेकाछन् । अमेरिकन स्पेश कम्पनीको आर्थिक सहयोग तथा पुर्ननिमाण आयोगको संयोजनमा दुईबर्ष लगाएर तयार पारिएको यो बस्ती आकाशमा तैरिने भएकोले भुकम्पको कुनै गुञ्जायस नभएको सरकारका बिज्ञानमन्त्रीले बताए । विश्वमै नौलो प्रयोग भएकाले सुरक्षार्थ यो वस्तीलाई गोप्य राख्नु परेको प्रोजेक्ट कोअर्डिनेटर जर्ज डलरले बताए ।

यो व्यंग्य लेख हामीले सुप्रसिद्ध व्यंग्यकार मनोज गजुरेलको ब्लगबाट साभार गरेका हौं ।