कविता : चित्रकारको ग्यालरीमा

0
514

-गीता तिमिल्सिना

चित्रकारको ग्यालरी अवलोकन गर्दा गर्दै
आँखा टक्क अडिए
मल्टिपल टाइम्स मेगापिक्सेल क्यामेरामा
जूम गरेर कैद गरिएको जस्तो
यो कस्को तस्बिर हो चित्रकार
यस्तो लाग्छ मानौं तिमी एक जिवन्त अनुहारलाई
आफ्नो मेगापिक्सेल क्यामेरामा बन्द गर्न चाहन्छौ

स्पष्ट देख्छु म तिम्रो तस्बिरमा
ज़ूम गरेर मेकअपलाई अतिरंजित गर्दै
उजागर गरिएका
जीवन संघर्षका अनगिन्ती रेशाहरु
संघर्षका सालौं सालहरु
मानौं भन्न खोज्दैछन्
अभिव्यक्त गर्न खोज्दैछन्
संघर्षसँगैका वेदानका तिक्तताहरु
तर पनि चित्रकार
म अझै देख्दै छु चारैतिर छरपस्ट
अथक जीवनका उर्जाहरु ।

शरीरमा आधा बेरिएको वस्त्रमा म कुनै
यौवनको उन्माद र उच्छृंखलपन देखिरहेको छैन
यस्तो लाग्छ मानौं
त्यही क्यामेराको ज़ुमले देखाऊँदैछ
ती वस्त्रहरु सुनाऊँदैछन्
असंख्य अपूर्ण तर भद्र र शालीन
इच्छा र आवश्यकताका पूराना
श्रृङ्खलाबध्द कथाहरु।
लाग्दैछ मानौं कुनै आवरण फोडेर
पुतली उसको कोकूनबाट बाहिर निस्कँदैछ ।

तिम्रो रचनामा अटाएको छ चित्रकार
एउटा सम्पूर्ण सजिवता
दा भिंचिको मोनालिसाको जस्तै
ओठमा अपूर्ण मुस्कान
चलायमान आभा वरिपरि भौंतारीरहेका छन्
कुनै स्थिरताको खोजिमा
यो कुरा अर्कै हो कि
यो मुस्कन अझै पूर्ण हुन्छ
भन्ने विश्वासमा बर्षौं देखि यत्तिकै स्थिर छ
मोनालिसा जस्तै
विश्वप्रख्यात हुन अझै संघर्षका सिंढीहरु
थुप्रै थुप्रै चढ्न बाँकी नै छन् ।

कस्तो सुन्दर रचना हो यो तिम्रो चित्रकार
यही तस्बीरमा तिमीले जीवनको सम्पूर्ण सौन्दर्य
अनावरित गरिदियौ
यो अमूल्य रचनाको
कति मूल्य तोक्यौ चित्रकार
तिमीले कतै सजिवताले भरिएको
अनुहारको बोली पो लगायौ कि ?
कतै भित्र निसास्सिएर गुम्सिएको
एउटा जीवन्त कथाको मूल्य पो
निर्धारित गर्यौ कि चित्रकार ?
मूल्य तोकेर कतै तिमीले
आफ्नो रचनाको अवमूल्यन त गरेनौ ?
तिम्रो रचनाले म ब्याकुल भएको छु।
म बवह्वल भएको छु
तिम्रो ग्यालरी अवलोकन गर्दा गर्दै
यो कस्तो श्रृजना हो तिम्रो चित्रकार
यो कस्तो छटपटी हो मेरो
यो कस्तो अनुपम सोन्दर्य तिम्रो कलाको
म त्यसै त्यसै द्रबिभुत हुँदैछु चित्रकार ।