सन्दर्भ २६ औं स्मृति दिवस : ‘के नारायणगोपाल ट्यापे थिए ?’

0
980

–कामना न्यौपाने

“केही मिठो बात गर ,
रात त्यसै ढल्किँदै छ “

हजारौं,लाखौँ गीत कानमा ठोक्किए । कति स्रष्टा उदाए त कति अस्ताए तर यी शब्द र त्यो स्वरलाई प्रतिस्थापन गर्न अहिलेसम्म कसैले सकेनन् । पुराना पुस्ता हुन् या नयाँ पुस्ता, त्यो स्वरलाई बिर्सने सायदै होलान् । यहि स्वरका धनी ,नेपाली साङ्गीतिक क्षेत्रमा “स्वर सम्राट“ को उपाधि पाएका गायक स्व.नारायण गोपालको आज स्मृति दिवस ।

अहिलेको पुस्तासंग गीतहरुको प्रचारप्रसारको लागि विभिन्न आधुनिक माध्यमहरु छन् तर जहाँ रेडियो मात्र एउटा सजिलो माध्यम थियो र टेप रेकर्डर एकाध रुपमा पाइन्थ्यो , त्यो समयमा पनि नारायण गोपालको स्वर श्रोताको कानम कानमा बजिरह्यो र हजारौंको मनमा बस्यो । सीमित माध्यमद्वारा असीमित मनमा बस्न सक्नु,यो भन्दा ठूलो सफलता, एउटा गायकको लागि अरु के हुन सक्ला ? नेपाली साङ्गीतिक क्षेत्रमा हजारौँ स्वरहरु प्रतिस्पर्धी बनेर निस्किए तर यो स्वर कहिल्यै ओझेलमा परेन । एकाउन्न वर्षको अल्पायुमै भौतिक रुपमा अस्ताए पनि नारायण गोपाल कहिल्यै अस्ताएनन् न त अस्ताउने नै छन् ।

“मलाई नसोध , कहाँ दुख्छ घाऊ “ पुराना पुस्ताका मन दुख्दा होइन , नयाँ पुस्ताका मन दुख्दा पनि यो गीतले साथ दिएको छ । जस्टिन बिबर, केटी पेरि, आतिफ अस्लाम , हनि सिंह , एमिनेम आदिका गीतहरुमा रमाउने आजका किशोर किशोरीहरुले पनि नारायण गोपालका गीतलाई अङ्गालेका छन् । त्यसैले उनी पुरानो पुस्ताका मात्र होइन , नयाँ पुस्ताका पनि म्यूजिकल आइडल हुन् ।

kamanaयहाँ एकजना भाइको सन्दर्भ जोड्न चाहन्छु । गीत संगीतमा निकै झुकाव राख्ने ती भाइ आफ्नो पढाइलाई भन्दा पनि संगीतलाई बढी प्राथमिकता दिदा रहेछन् । बरु कलेजका किताव बोक्न विर्सदो हो तर गितार सधैं उनको साथमै हुन्थ्यो । मानौं उनी संगीतको एडिक्टेड नै थिए । तर ती भाइको आमा वुवालाई भने सधैं एउटै चिन्ताले सताउँदो रहेछ कि कतै छोरा कुलतमा त लागेको छैन ? त्यसैले सकभर उनीहरु छोराको हातबाट गितार छुटाउँन चाहन्थे ।

एकदिन तिनै भाइले मसँग आएर गुनासो पोखे । दिदी मेरा मम ड्याडलाई सम्झाइदिनुस् न मेरो म्यूजिकल हबिजको बारेमा । आइ जस्ट लभ म्यूजिक । तर उहाँहरु मलाई एडिक्टेड ठान्नुहुन्छ । आइमिन ट्यापे । प्रमिस दिदी म्यूजिक बाहेक मेरो अरु एडिक्सन केही छैन । म्युजिकमा लाग्नेहरु सबै ट्यापे हुन्छन् हो ? के त्यसो भए नारायण गोपाल ब्रो पनि ट्यापे थिए ?

नारायण गोपाल कुनै एक युगका मात्र गायक होइनन्,उनका गीत र स्वर एउटा निश्चित उमेर र वर्गले मात्र मन पराउँदैनन् । यसअर्थमा उनी युगभन्दा माथि र वर्गविहीन गायक हुन् ।

ती भाइको कुराले ममा प्रभाव पर्यो परेन भिन्नै कुरा हो । तर भर्खर १७ वर्ष लाग्दै गरेका उनले लिएको पछिल्लो नाम अर्थात नारायण गोपालको नाम सुनेर भने मलाई सोच्न बाध्य बनायो । नेपाली गीत,संगीत र कलाकार भनेपछि युवा पुस्ताहरु लाखौं कोश टाढा हुन्छन् भन्ने सोंचलाई भंग गरिदिन काफी थियो उनको कुरा । किनभने उनले जस्टिन बिबर, केटी पेरि, आतिफ अस्लाम , हनि सिंह , एमिनेममध्ये कसैको नाम लिन सक्थे । नेपाली कलाकारकै भए पनि उनले पछिल्ला पुस्ताका गायक गायिकाहरुको नाम लिनु पथ्र्यो । तर ती भाइले आफ्नो आइडलका रुपमा नाम लिए त उनै नारायणगोपालको,जो उनको बाबुका मात्र होइन हजुरबाका समेत प्रिय गायक थिए होलान् ।

यसबाट के पुष्टि हुन्छ भने नारायण गोपाल कुनै एक युगका मात्र गायक होइनन्,उनका गीत र स्वर एउटा निश्चित उमेर र वर्गले मात्र मन पराउँदैनन् । यसअर्थमा उनी युगभन्दा माथि र वर्गविहीन गायक हुन् ।

त्यसैले त नारायण गोपालले गोरखा दक्षिण बाहु चौथो,छिन्नलता पुरस्कार,रेडियो नेपालबाट सर्वश्रेष्ठ गायक जस्ता थुप्रै पुरस्कारहरु र सम्मानहरु जितेका छन् । तर त्यो भन्दा ठूलो कुरा, उनले हरेक पुस्तालाई आफ्नो स्वरको बसमा पारेका छन् । लाग्छ अब आउने धेरैपछि सम्मका पिंढिहरुले जसले रक , रयाप र रफ गीत सुन्लान् र रफ शब्दहरु पछ्याउलान्–उनीहरुले पनि नारायण गोपालका गीत गुनगुनाउन भने विर्सने छैनन् । भलै भन्लान् ,“हाम्रो नारायण ब्रोको गीत“ ।

स्वर सम्राट नारायण गोपाल प्रति हार्दिक श्रद्धा सुमन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise