‘अष्ट्रेलियाको जीवन फेसबुकमा अरुले पोष्ट गरेको फोटो हेरेर थाहा हुन्न,आफैंले भोगेपछि मात्र थाहा हुन्छ’

0
3884

मेलबर्न । हिमालयन कङ्गारुको नियमित स्तम्भ स्टुडेन्ट टकमा यसपटक हामी गोल्ड कोष्ट निवासी पूजा कर्मचार्यका अनुभवहरु प्रस्तुत गर्दैछौं । ललितपुरकी स्थायी बासिन्दा पूजा अहिले अष्ट्रेलियामा ग्रीफ्फीथ विश्वविद्यालयमा नर्सिङ गर्दैछिन् । उनको विचारमा अष्ट्रेलियाको जीवन फेसबुकहरुमा अरुले पोष्ट गरेको फोटोहरु हेरेर थाहा हुन्न,आफैंले भोगेपछि मात्र थाहा हुन्छ । र,उनको भोगाइमा दु:खभित्र पनि मज्जा पाइने ठाउँ हो अष्ट्रेलिया ।

तपाईको नाम ?

पूजा कर्मचार्य

नेपालमा घर कहाँ हो ?

ललितपुर

कहाँ पढ्दै हुनुहुन्छ ?

ग्रीफ्फीथ विश्वविद्यालयमा ।

के पढ्दै हुनुहुन्छ ?

नर्सिङ ।

आफैंले रोजेको विषय कि परिवारले ?

आफैंले रोजेकी हूँ ।

विद्यार्थी जीवन किन रमाइलो ?

साथीहरुको कारणले । अझ आफ्नो विचार मिल्ने साथीहरु भए झनै रमाइलो हुन्छ ।

विद्यार्थी जीवन के कारणले कहिलेकाहि नरमाइलो लाग्छ ?

ट्युशन फि महँगो भएकोले । अनि धेरै एसाइन्मेन्ट हुँदा र परीक्षाको बेला पनि विद्यार्थी जीवन नरमाइलो लाग्छ ।

अष्ट्रेलिया आएर के सिक्नुभयो ?

पैसा,समय र परिवारको महत्व कतिको छ भन्ने सिकायो ।

अष्ट्रेलियाको सकरात्मक र नकरात्मक पक्ष के भेट्टाउनुभयो ?

सकरात्मक पक्ष : अष्ट्रेलिया आएपछि स्वावलम्बी भइन्छ । आफ्नो करियर बनाउँदै छिट्टै जीवनप्रति उत्तरदायी बनाउँछ । यहाँको जीवनशैली राम्रो छ । दुख जति गर्यो उति नै फल पनि पाइन्छ , त्यसैले दुख गर्दा पनि मज्जा आउँछ ।

नकरात्मक पक्ष : आफ्नै लागि समय पाइदैन । साथीभाइ र परिवारसँग समेत राम्ररी समय विताउँन पाइदैन । यसले गर्दा एक्लो महसुस हुन्छ । कहिलेकाही त असाध्यै झ्याउ लाग्छ । अष्ट्रेलियनहरुको भीडमा छुट्टै लाग्छ ।

नेपाल हुँदा सोचेको अष्ट्रेलिया र यहाँ आइसकेपछि के फरक पाउनुभयो ?

हुन त नेपालमा हुँदैखेरि विदेशमा काम गर्नुपर्छ भन्ने थाहा थियो । तर यहाँ आएपछि बल्ल थाहा भयो विदेशको काम । हामी फेसबुकहरुमा अरुले राखेको फोटो हेरेर सोच्छौं–वाह ! विदेशको लाइफ त क्या रमाइलो । तर त्यो रमाइलोभित्रको दुख चाहिं यहाँ आएर भोग्नेलाई मात्र थाहा हुन्छ ।
त्यसो भन्दैमा अष्ट्रेलियाको जीवन नराम्रो भन्ने होइन । धेरै कुरा सिक्न पाइन्छ । तपाई जे गर्न चाहनुहुन्छ निर्धक्क भएर गर्न सक्नुहुन्छ । तपाईलाई रोक्ने र छेक्ने कोही हुँदैनन् ।

अष्ट्रेलिया आउन चाहने साथीहरुलाई के भन्नुहुन्छ ?

पूर्ण रुपमा तयार भएर आउँनुहोस् । किनभने अष्ट्रेलियामा जति रमाइलो छ,त्यतिकै धैर्यताको पनि खाँचो पर्छ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.