डा केसीको अनसनप्रति गम्भीर बन्न अष्ट्रेलियन नेपाली डेन्टल डाक्टरहरुको अनुरोध

0
339

मेलबर्न । अष्ट्रेलियन नेप्लीज डेन्टल एशोसियसन एएनएमडिएले नेपालको मेडिकल शिक्षाको सुधारको माग राखी दुई हप्तादेखि अनसनरत डा गोविन्द केसीको मागप्रति गम्भीर बन्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।

संस्थाका तर्फबाट महासचिव डा चन्द्रदीपक पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको मेडिकल शिक्षाको समग्र सुधार हुनुपर्नेमा आफूहरु पनि सकरात्मक रहेको उल्लेख गरेको छ । यसका लागि सरकार र स्वयम् मेडिकल क्षेत्र गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
नेपालको मेडिकल शिक्षाको सुधारका लागि भन्दै डा गोविन्द केसीले पटक पटक अनसन बस्दै आउनुलाई दुर्भाग्य भनिएको छ । मुलुकको समग्र मेडिकल शिक्षाको सुधारका लागि एकजनाको मात्र ज्यान जोखिममा पार्नु दुखद रहेको एएनएमडिएको विज्ञप्तिमा उल्लेख छ ।

एएनएमडिएले आफ्ना सदस्यहरुमा नेपालको राजनीतिमा मुछिने कुनै नियत नभए पनि मेडिकल शिक्षाको सुधारका लागि एकजना सहकर्मीले आफ्नो ज्यानलाई समेत जोखिम राखेर गरिरहेको अनसनप्रति नजरअन्दाज पनि गर्न नसकिने उल्लेख छ ।

त्यसैले डा गोविन्द केसीले उठाएका मागहरुबारे छलफल गरि दीर्घकालीन रुपमा माग सम्बोधन गर्न वार्ताको टेबलमा बस्न सबै सरोकारवाला नेपाली राजनीतिक दलहरुलाई अनुरोध गरेको छ ।