अष्ट्रेलियाको भोडाफोनले अन्तराष्ट्रिय कल सूचीबाट नेपाललाई हटायो

0
1072

मेलबर्न । अष्ट्रेलियाको प्रमुख दूर सञ्चार कम्पनी भोडाफोनले दिदै आएको अन्तराष्ट्रिय कलको सूचीबाट नेपाललाई हटाएकोप्रति नेपाली समुदायले कम्पनीको ध्यानकर्षण गराएको छ ।

भोडाफोनले अन्तराष्ट्रिय कलको सूचीबाट नेपालको नाम हटाएकोप्रति नेपाली समुदायबाट विभिन्न किसिमका गुनासो आएपछि नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभले औपचारिक रुपमा पत्रचार गर्दै भोडाफोनको ध्यानकर्षण गराएको छ । पत्रमार्फत न्याभले हजारौं नेपाली ग्राहकहरुलाई परेको असुविधालाई सम्बोधन गरि सूचीबाट हटाइएको नेपालको नाम पुनः उल्लेख गर्न अनुरोध सहित ध्यानकर्षण गराएको छ ।

न्याभको पत्रमा भिक्टोरियामा रहँदै आएका करिब १० हजार नेपालीको आधा अर्थात ५ हजार नेपाली भोडाफोनको ग्राहक रहेको उल्लेख छ । अझ यसमा नेपाली विद्यार्थीहरुको समेत संख्या जोडे धेरै हुने भनिएको छ । नेपाली समुदायकाबीच अत्यन्त लोकप्रिय रहँदै आएको भोडाफोनबाट दैनिक रुपमा हजारौं कल नेपालमा हुने गरेको दाबी गर्दै न्याभले अन्तराष्ट्रिय कलको सूचीबाट नेपालको नाम हटेपछि नेपाली ग्राहकहरु थप मूल्य मारमा परेकोले अविलम्ब निर्णय फिर्ता लिन अनुरोध गरिएको छ ।

साथै नेपालीको भावनालाई कम्पनीले समयमै सम्बोधन नगरे हजारौंको संख्यामा रहेको नेपाली ग्राहकहरुले अर्कै कम्पनीको मोबाइल सेवा लिन बाध्य हुनेतर्फ पनि ध्यानकर्षण गराएको छ । यसबाट अन्ततः कम्पनीलाई नै घाटा हुने न्याभको दाबी छ ।

NAV