एनआरएनले गोरखाको लाप्राकमा बनाउँने वस्तीको माष्टर प्लान बन्दै

0
513

मेलबर्न । एनआरएन अध्यक्ष शेष घलेले नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पमा क्षतिग्रस्त बनेको लाप्राकमा बनाउन लागिएको ६ सय घरको माष्टर प्लान आगामी अगष्ट महिनाभित्र तयार गरिसक्ने बताउनुभएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आयोजित एक ‘अनौपचारिक’ छलफल कार्यक्रममा अध्यक्ष घलेले भूकम्प प्रभावित नेपालीहरुको पुनर्वासका लागि विश्वव्यापी रुपमा एनआरएनए सक्रियताका साथ लागिरहेको बताउँनुभयो ।

एनआरएनका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले आयोजना गर्नुभएको अन्तक्रिया कार्यक्रममा एनआरएनले गरेका कामहरुको विषयमा जानकारी दिँदै अध्यक्ष घलेले भूकम्प पीडितको लागि गरिएको सहयोग संकलन रकमबारे एनआरएनको ७१ देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले लेखा प्रतिवेदन बुझाउनुपर्ने बताउनुभयो । अध्यक्ष घलेले अन्य संघ संस्थाले पनि भूकम्प पीडितका लागि सहयोग रकम संकलन गरेको भए एनआरएनएमा पठाउन आग्रह गर्नुभयो । त्यसक्रममा स्वीटजरल्याण्ड र ईटलीबाट पनि उल्लेख्य रकम संकलन भएको उहाँले जानकारी दिनुभयो । गएको एक वर्षमा एनआरएनएको कोषमा २० करोड निक्षेप रकम जम्मा गरेर त्यसको ५० लाख व्याजमात्रै आर्जन गरेको जानकारी पनि उहाँले दिनुभयो ।

सोही कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोतानेले अझै पनि एनआरएन अष्ट्रेलियासँग ६० हजार डलर खातामा रहेको र यो रकमलाई एक लाख डलर पुर्याएर आईसीसीलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । यसै प्रसंगमा एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले समर्थन जनाउँदै नेपाल महोत्सव लगायतका कार्यक्रमबाट संकलन हुने रकमबाट ६० हजारमा थप गर्दै एक लाख डलर पुर्याउँने योजना रहेको बताउनुभएको थियो ।