जुलाई १ देखि अष्ट्रेलियामा तलव बढ्ने,न्युनतम तलब प्रतिघण्टा १७.७० पुग्ने

0
2264

–दीपेन्द्र दोङ तामाङ ।

मेलबर्न । आगामी जुलाई १, २०१६ देखि अष्ट्रेलियामा न्युनतम तलबमा २.४ प्रतिशत वृद्धि हुने छ ।

कर्मचारी अधिकार र तलब सम्बन्धि निर्णय गर्न स्थापित फेयर वर्क अष्ट्रेलियाको निर्णयबाट उक्त दरमा तलब बढ्ने भएको हो । उक्त वृद्धिका साथ् न्युनतम तलब प्रति घण्टा १७ डलर ७० सेन्ट पुग्ने भएको छ ।

तर यो घोषणाबाट पनि यहाँका श्रमिकहरु खुशी हुन सकेका छैनन् । ट्रेड यूनियन सम्वद्द नेताहरु यसबाट अझ धेरै असन्तुष्ट देखिएका छन् । उनीहरु भन्छन्–यो तलव वृद्धि दर अत्यन्त न्यून हो । यसबाट अष्ट्रेलियामा हाल बढेको महँगीको सामना गर्न सकिदैन । साथै उनीहरुले तलवमा अहिले गरिएको वृद्धि दर एक दशक अघिको तलव बराबर रहेको दाबी पनि गरेका छन् । यसबाट न्यूनतम् तलबमा काम गरिरहेका ३० लाख श्रमिकहरुले बढ्दो महँगीसँग जुध्न नसक्ने उनीहरुको कथन छ । त्यसैले मजदुर अगुवाहरुले प्रतिघण्टा १८ दशमलव ०७ सेन्ट वा प्रत्येक हप्ता ८६ डलर ९० सेन्ट तलव दर तोकिनुपर्ने माग गरेका छन् ।
तर यता व्यापारिक क्षेत्रहरुले भने धेरै तलव वृद्धि गर्न नहुने माग गरेका छन् ।

यसैबीच पछिल्लो तलब वृद्धिले रोजगारीको बजारमा कुनै असर नगर्ने फेयर वर्कले दाबी गरेको छ । तर केही खुद्रा विक्रेताहरुले भने तलव वृद्धिका साथ केही कामदारको कामको समय कटौति गर्न सक्ने चेतावनी दिएका छन् । उद्योगीहरुले समेत तलव बढेसँगै काम खोजीरहेकाहरुलाई पनि दबाब पर्न सक्ने चेतावनी दिएका छन् ।

फेयरवर्कले हरेक वर्ष अष्ट्रेलियाको राष्ट्रिय तलव दरको पुनर्मूल्यांकन गरि पुनर्विचार गर्ने गर्दछ । उसले गत वर्ष २ दशमलव ५० को दरले अष्ट्रेलियाको राष्ट्रिय तलव बढाएको थियो ।