कविता : बुद्ध हैन, युद्धको यात्रा अपनाऊ

0
695

-गोपाल सुवेदी

आँखामा पट्टि बाँधी हेर्नुपर्छ
जिब्रो काटेर बोल्नुपर्छ
तिमीले सुनेको त्यो गलत थिएन
जे जस्तो होस अरुको कुरामा यहाँ,सहि थप्नुपर्छ ।

उज्यालो बिहानीमा अँध्यारो तिमी खोज्न हिड्नु
चढेको भर्याङ ,अब तल तिमी झर्न खोज्नु
सर्वस्वीकार्य बन्नु छ भने तिमिलाई,
कु–मार्गको दिशातर्फ आजैबाट हिड्न सिक्नु

रोएका मनहरुलाई निच्च दाँत देखाई हिंड्नुपर्छ
’स्वाभिमान’को चिन्ता नलेउ, कौडिको भाउमा बेच्नुपर्छ
देह,बरिष्ठेको हो,उसकैलागि समय तिमीले खर्चनुपर्छ
बुद्ध हैन, युद्धको यात्रा तिमिले आजै अपनाउनु पर्छ

नाच्छौ कति आफ्नो धुनमा ?अरुको इसारामा चल्न सिक्नु
मन हैन, जितेका धन गनेर, आफ्नो सफलता नाप्न सिक्नु
आउँदा दिनको शुभकामना छ तिमीलाई मेरो साथी,
सफल हुनका निम्ति,बिश्वास गर्नेप्रति घात गर्न सिक्नु !