गिरिजाले गरेको विमान अपहरणबारेको डकुमेन्ट्री मंगलवार मेलबर्नमा देखाइने

0
639

मेलबर्न । कुनै पनि अपहरण अप्रिय मात्र होइन हरेक देशको कानून अनुसार दण्डनीय समेत मानिन्छ । तर नेपालमा भएको एउटा विमान अपहरण प्रकरणबारे भने नेपाली इतिहासमा सकरात्मक चर्चा हुँदै आएको छ । सन् १९७३ मा भएको उक्त विमान अपहरणको उदेश्य जनताको अधिकारका लागि थियो । त्यसैले यसलाई प्रजातन्त्रका लागि गरिएको विमान अपहरण मानिन्छ । यस अपहरणमा संलग्न थिए,गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु । विपी कोइराला नेतृत्वको नेपाली काँग्रेसको राज्यविरुद्धको जन विद्रोह अभियान अन्तर्गत नै विमान अपहरण गरिएको थियो ।

मुलुकको दोस्रो ठूलो शहर विराटनगरबाट राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौंका लागि उडेको राष्ट्रिय ध्वजावाहक विमान अपहरण गरेर सबै नगद लुटिएको थियो ।

उक्त विमान अपहरणको योजना कसरी बन्यो ? त्यसमा को को संलग्न थिए ? अपहरित विमान कहाँ लगियो ? त्यसले तत्कालीन राणा शासनलाई कस्तो धक्का पुग्यो ? २००७ सालको प्रजातन्त्रको सूर्योदयमा त्यो प्रकरणको कस्तो भूमिका रह्यो ? यी र यस्तै जिज्ञासाहरुको जवाफ दिने गरि पत्रकार जगत नेपालले एउटा डकुमेन्ट्री तयार पारेका छन्–प्रजातन्त्रका लागि अपहरण अर्थात हाइज्याकिङ फर डमोक्रेसी ।

यही ऐतिहासिक पृष्ठभूमीको वृत्तचित्र अब अष्ट्रेलियाका नेपाली दर्शकहरुबीच प्रदर्शन हुँदैछ । अष्ट्रेलियाका अग्रज नेपाली पत्रकार पेशल लुइँटेलको संयोजनमा हाइज्याकिङ फर डमोक्रेसी वृत्तचित्र यही आउँदो मंगलवार मेलबर्नको कोबर्ग लाइब्रेरीमा प्रदर्शन हुन लागेको हो । उक्त विशेष प्रदर्शनीमा वृत्तचित्रका निर्देशक तथा पत्रकार जगत नेपालको समेत उपस्थिति रहनेछ । वृत्तचित्रबारे उठेका हरेक जिज्ञासाहरुको जवाफ उहाँले दिनुहुनेछ । आफ्नो वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको बताउँदै निर्देशक नेपालले नेपालको प्रजातान्त्रिक राजनीतिमा चाख हुने हरेक नेपालीले यो वृत्तचित्र हेर्नुपर्ने बताउँनुभयो ।

सिड्नीमा दुईपटक प्रदर्शन भैसकेको हाइज्याकिङ फर डमोक्रेसी वृत्तचित्र मेलबर्नमा भने विशेष प्रदर्शनी मात्र गर्न लागिएको हो । अनावश्यक रुपमा दर्शकको भीडभाड बढाउँनु भन्दा सीमित दर्शकहरुकाबीच अर्थपूर्ण प्रदर्शनी गर्ने उदेश्यले विशेष प्रदर्शनी गर्न लागिएको संयोजक लुइँटेलले बताउँनुभयो । यद्यपि वृत्तचित्र हेर्न चाहने सबै दर्शकलाई भने स्वागत गरिने उहाँले जानकारी दिनुभयो । यो डकुमेन्ट्री हेर्न इच्छुकले संयोजक लुइँटेललाई ०४२५२२१६५६ मा सम्पर्क राख्न सकिनेछ ।

यो वृत्तचित्र प्रदर्शनीबाट उठेको रकम पत्रकारिता गर्दा गर्दै आफ्नो ज्यान गुमाएका तीन दर्जन नेपाली पत्रकारका छोरा छोरीहरुको शिक्षा दीक्षाका लागि खर्चने निर्देशक नेपालले बताउँनुभयो ।