अष्ट्रेलियाली नेपाली प्रतिभाहरुका लागि ‘मेलबर्न डबली’ तयार

0
942

मेलबर्न । कामको व्यस्ततसँगै अवसरबाट बञ्चित भएर आफ्नो प्रतिभा खुम्च्याएर बस्न बाध्य अष्ट्रेलियाका नेपाली प्रतिभाहरुका लागि यो आइतवार सुखद दिनको रुपमा रहनेछ । किनभने आइतवार ती प्रतिभाहरुले आ आफ्नो प्रतिभा र खुशी डबलीमा प्रस्तुत गर्न पाउँने भएका छन् ।

प्रतिभा भएर पनि समय,व्यस्तत र अवसरको अभावमा खुम्चिएर बस्न विवश प्रतिभाहरुलाई लक्षित गरि सोलाङ्चरले मेलबर्न डबली शुरु गर्न लागेको हो । यसको पहिलो अंक यो आइतवार मेलबर्नस्थित द थनवरी थियटरमा हुँदैछ ।

हुन त विदेशको जीवन व्यस्त नै हुन्छन् । यो प्रतिस्पर्धी जमानामा व्यस्त हुनु पनि पर्छ । तर कहिले कहिं यति व्यस्त भैदिन्छन् कि मान्छेले आफ्ना सबै सपना,क्षमता र प्रतिभालाई समेत गुम्साएर राख्नुपर्छ । र, कालान्तरमा उभित्रका सबै प्रतिभाहरु प्रष्फुटन नभईकनै मन मर्दै जाने खतरा रहन्छ । यसबाट व्यक्तिभित्र अव्यक्त र अदृश्य कुण्ठाले जन्म लिन्छ र मुलुक अनि समाजले एउटा सम्भावित प्रतिभालाई गुमाउँछ । यही कुरालाई मनन गर्दै अष्ट्रेलियाको मेलबर्नमा नेपाली कला,संस्कृति,भाषा र समुदायका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएको सोलाङ्चरको संयोजनमा मेलबर्न डबली नामक मासिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

यो मेलबर्न डबली सिर्जनशीलहरुको मञ्च हुनेछ,सोलाङचरका क्रियटिभ डाइरेक्टर राजु शाक्यले बताउँनुभयो । त्यसैले कुनै विधामा प्रतिभा र सिर्जना क्षमता भएकाहरुले मेलबर्न डबलीमा आएर प्रस्तुत गर्न सकिने उहाँको भनाई छ । किनभने मेलबर्न डबली सिर्जना र प्रतिभा देखाउँने माध्यम बन्नेछ । हरेक महिना हुने यो कार्यक्रममा व्यक्तिले आफूभित्र रहेका जुनसुकै विधाका क्षमता,सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । चाहे त्यो संगीत,नृत्य,वृत्तचित्र,लघु चलचित्र, नाटक, अभिनय, वादविवाद,वक्तृत्वकला,कविता,स्ट्याण्ड अप कमेडी,कथा वाचन होस या कुनै पनि पाक कला (खानेकुरा पकाउँने कला),आफूभित्र रहेका यी प्रतिभालाई मेलबर्न डबलीमा आएर प्रस्तुत गर्न सकिने उहाँले बताउँनुभयो ।

प्रतिभा भएका जोसुकैले पनि निशुल्क रुपमा यसमा सहभागीता जनाउँन सक्नेछन् । यो विशुद्ध सहभागीमुलक प्रस्तुति भएकोले यसमा कनै पुरस्कारको व्यवस्था भने गरिएको छैन । पुरस्कारभन्दा अवसर ठूलो हो भन्ने कतिपय प्रतिभाहरु मेलबर्न डबलीमा आफ्नो प्रतिभा उजागार गर्न व्यग्रताका साथ कुरिबसेका छन् ।