अष्ट्रेलियाको सिड्नीका एक नेपाली युवा जिम हलमा मृत भेटिए

0
548

सिड्नी । सिड्नीका एक नेपाली युवा सुरज भट्टराईको आज निधन भएको छ । दिउँसो करिब २ बजे उनी आफ्नै अपार्टमेन्ट नजिकै रहेको जिम हलमा मृत भेटिएका छन् ।

सिड्नीको हस्र्टभिलस्थित गेटवे अपार्टमेन्टमा परिवारसँग बस्दै आएका भट्टराई आफ्नो छोरा लिएर दिउँसो जीम गर्न त्यहाँ लागेका थिए । तर, केहीबेरमा उनी मृत भेटिए । प्रहरीले घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान सुरु गरेको छ । स्वीमिंग पुल सँगै रहेको जिमखानामा रहेको सीसी क्यामेरा बिग्रिएका कारण भित्र के भएको थियो भन्ने केही जानकारी प्राप्त नभए पनि प्रहरीले हर्ट एट्याकका कारण दुर्घटना भएको अनुमान गरेको छ । उनीसँगै रहेका उनका छोरामा मनोवैज्ञानिक असर नदेखेपछि त्यहाँभित्र कुनै अन्य गतिविधि भएको हुनसक्ने सम्भावना नरहेको प्रहरीले प्रारम्भिक विश्लेषण गरेको हो । उनको पारिवारिक निकट श्रोतले भट्टराईमा मुटुको समस्या नभएको जानकारी दिएको छ ।

अहिले शवलाई स्थानीय ग्लीबको फोरेन्सिक डिपार्टमेन्टमा लाने तयारी गरिएको छ । घटना लगत्तै सँगै रहेका छोराले बाहिर आएर अन्यलाई जानकारी दिएका थिए । भट्टराईकी श्रीमती पनि घटनास्थलमा पुगिसकेको र प्रहरीले उनबाट जानकारी लिएको बताइएको छ । अनुसन्धान पूरा भइसकेपछि मात्रै मृत्युको कारणबारे थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ । मृतक भट्टराईको श्रीमती, छोरा र छोरी छन् ।

तन्दुरुस्त मान्छेलाई नै यस्तो दुर्घटना परेपछि यतिबेला सिड्नीको नेपाली समूदाय आश्चर्यमा परेको छ ।

-एमएन टिभीबाट