बाइकर्स ग्याङविरुद्ध अष्ट्रेलिया सरकारको आक्रमक योजना सार्वजनिक

0
912

‘ती व्यक्तिहरुले हाम्रा अष्ट्रेलियन जनताहरुलाई दुख दिएर सताएका छन् । त्यसैले सरकार अब चुप लागेर बस्दैन ।’

मेलबर्न । अष्ट्रेलिया सरकारले मोटरसाइकल ग्याङविरुद्ध आक्रमक नीति सार्वजनिक गरेको छ । यहाँको सरकारले शुक्रवार मोटरसाइकल ग्याङविरुद्ध विशेष वारको घोषणा गरेको हो । यो योजना अन्तर्गत हालसम्म ८० भन्दा बढी विदेशी नागरिकहरुमाथि कारवाही गरिसकिएको परराष्ट्र मामिला मन्त्रालयले जनाएको छ । ती व्यक्तिहरु लागू औषधको कारोबार,तस्करी,बन्दुकको अवैध व्यापार लगायतका अपराधमा संलग्न रहेको मन्त्रालयले जनाएको छ ।

अद्यागमन मन्त्री पिटर डट्टनले हालसम्म ८१ जना बाइकर ग्याङका सदस्यहरुलाई पक्राउ गरि उनीहरुको भिसा रद्द गर्नुका साथै तीमध्ये धेरैलाई देश निकाला गरि फिर्ता पठाइसकिएको प्रष्ट पारेका छन् । तीमध्ये केही भने अझै जेलमा रहेको पनि उनले बताए । अष्ट्रेलियामा बाइकर ग्याङको नाममा अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका न्यूजिल्याण्ड,बेलायत,बोस्निया,अल्बानिया,इराक,अफगानिस्तान र भियातनामका नागरिकहरु रहेका छन् । डट्टनले बाइकर ग्याङलाई कानूनी दायराभित्र ल्याउँन आक्रमक नीति सार्वजनिक गर्न पाउँदा सरकार खुशी रहेको बताए । उनले थपे–ती व्यक्तिहरुले हाम्रा अष्ट्रेलियन जनताहरुलाई दुख दिएर सताएका छन् । त्यसैले सरकार अब चुप लागेर बस्दैन । साथै उनले अष्ट्रेलियामा रहँदै आएका कुनै विदेशी नागरिकबाट केही अपराधिक क्रियाकलाप भए तुरुन्त भिसा क्यान्सिल हुनसक्ने चेताववनी समेत दिए ।

संगठित अपराधिक सञ्जालहरुसँग लिंक भएका बाइकर्स ग्याङ अष्ट्रेलियाको सुरक्षा निकायका लागि टाउको दुखाइ बन्दै आएको छ । अहिले अष्ट्रेलियामा यस्ता ३८ वटा बाइकर्स ग्याङका झण्डै ४५०० जना सदस्य रहेको अनुमान छ । यस्तै उनीहरुकासँग जोडिएका कमनकिरोज,द रेबेल्स,हेल्स एन्जल्स र द मंगोल्स जस्ता संगठित अपराधिक समूहरुमा हजारौं सदस्य रहेका छन् । उनीहरुलाई सहयोग गर्ने वकिल र एकाउन्टेन्डहरुको संख्या पनि उल्लेख्य रहेको सरकारको अनुसन्धानबाट खुलेको बताइएको छ ।