मर्ने कसैलाई रहर हुँदैन…

0
437

-निरू त्रिपाठी 

तपाईँले अहिलेसम्म क्यान्सर लागेको मान्छे देख्नुभएको छ?’

हस्पिटलमा शर्मिलाले सोधेको मलाई पहिलो प्रश्न। हस्पिटलमा मात्रै किन शर्मिलाले हाम्रो पहिलो भेटमा गरेको पहिलो प्रश्न नै यही हो।

शर्मिलाले यसरी पहिलो भेटमै आँखामा आँखा जुधाँएर यसरी गम्भीर र निडर प्रश्न गर्छिन् भन्ने मैले सोचेकै थिइनँ। उनको प्रश्नमा म केही बोल्नै सकिन र तुरून्तै जवाफ दिन अक्मकाएँ।

‘भन्नुस् न, तपाईँले अहिलेसम्म यति नजिकबाट क्यान्सर लागेको मान्छे देख्नुभएको छ?’

उनी रून्चे स्वरमा मलाई दोर्‍याएर फेरि त्यही प्रश्न गर्दै थिइन्। तर पहिले जुन निडरताको साथमा प्रश्न गरेकी थिइन् त्यो दोर्‍याएर गर्दा उनमा क्षणभरमै डर पलायो, उनको स्वर छिनमै काप्यो।

‘गुल्ली हलन्चोनौ पलख सुन्कन चोन’ डेढ महिनादेखि नेपालबाट आएर अहोरात बहिनीको सेवामा खटिएकी दिदी, बहिनीको ढाड मुसार्दै बहिनीलाई धेरै नबोल्न आग्रह गर्दै हुनुहुन्थ्यो।

शर्मिला बेस्सरी खोक्न थालिन्। दिदी फेरिपनि किन धेरै बोलेको भनेर बहिनीलाई सम्झाउँदै हुनुहुन्थ्यो। उनलाई श्वास फेर्न गाह्रो भइरहेको थियो। उनी आफैं बर्बराउँदै थिइन्। ‘यो नाकको अक्सिजन पाइप नहुँदो हो त म उहिल्यै मरिसकेको हुन्थेँ,’ उनी फेरि हामीतर्फ हेदैँ रून थालिन्।

उनलाई धेरै बोल्नु थियो, धेरै सोध्नु थियो उनलाई निरोगी जस्तै सन्चो भएर कुरा गर्नु थियो।

उनकी दिदी भन्दै हुनुहुन्थ्यो उनी अघिल्लो रातदेखि सुत्न सकिरहेकी छैनन्। उनलाई पल्टिनै हुदैन रे। डक्टरले दिएको औषधिले शरीरमा काम गर्न छोडिसक्यो रे। निद्रा लाग्ने औषधि दिन्छ रे टाउको हल्का रिंगाएको जस्तो हुन्छ, तर उनी निदाउन भने सक्दिन रे।

दिदीले यसो भनिरहँदा उनी शान्त भए सुनिमात्रै रहिन् र फेरि एकछिन पछि उनी मलाई पुलुक्क हेरिन्। त्यतिखेर उनको आँखालाई मैले धेरै गहिराईमा महसुस गरेँ। उनको आँखाभरी आँसु थियो। भर्खरकी उनमा बाँच्ने रहर धेरै थियो।

अनगिन्ति सपना सजाएकी शर्मिलामा अहिलेसम्म भोगेको, नलेखिएको र नबोलिएको पीडाहरु अपार थियो । त्यही उनको पीडा मैले महसुस गरेँ , उनको ठाउँमा आफूलाई राखेँ, बेडमा छट्पटिरहेकी उनी र उनको रोगलाई महसुस गरेँ , उनले आँसु झारिन् अनि मेरो पनि थामिएन।

‘तपाईँले जवाफ दिनुभएन तर देख्नुभयो नि क्यान्सर लागेको मान्छे यस्तो हुन्छ। मलाई फोक्सोको क्यान्सर भएको छ। हेर्नुस् त क्यान्सर लागेको मान्छे यसरी छटपटिन्छन् । यस्तो पीडा हुन्छ,’ उनी फेरि खोक्न थालिन्।

बहिनीको यो विलाप सुनेर दिदी सलले आँखा छोपेर भक्कानिन थाल्नुभयो। मेरो छेउमा हुनुभएको लक्ष्मी भाउजुलाई पनि असह्य भयो। हामी चारै जना केही सेकेण्ड विभिन्न तानाबाना सोचेर त्यो पीडालाई आ-आफ्नै हिसाबले शोक मनायौं।

रूदाँरूदाँ थाकेको र सुन्निएको आँखामा अझ आँसुले भिजाउँदै दिदी यो क्यान्सर त संसारमा केही मान्छेलाई पनि नहोस् , दुस्मनलाई पनि नहोस्। मेरी फूलजस्तो बहिनीले दुःख पाई। हे भगवान तिमीले अन्याय गर्यौ भन्दै बहिनीको टाउको मुसार्दै थिइन्।

‘हे कस्तो भगवानलाई दोष दिएको भगवानको कृपाले गर्दा नै म बाँचिराँछु। भगवानलाई दोष दिन छोड त,’ शर्मिला दिदीको तागत बन्दैथिइन्। उनी दिदीलाई कमजोर नबन्न संकेत गर्दै थिइन्। शर्मिलाले पहिलोचोटि निडर भएर गरेको प्रश्न, मेरो आँखामा हेर्दा उनमा देखेको बाँच्ने रहर र यसरी उनी दिदीको तागत बनिदिदाँ मलाई एकछिन लाग्यो सायद उनको यही आत्मविश्वासले उनी अझ केही वर्ष बाँच्नेछिन्।

एकछिन पछि एउटा पातली एसियन लुक भएकी नर्स मुस्कुराउँदै कोठामा आइन्। शर्मिला यसो आँखा तर्दै यो फेरि चाइनिज औषधि खुवाउन आइ, पटक्कै मेरो शरीरलाई छुदैन, सन्चै हुँदैन भन्दै बर्बराउँदै नर्सप्रति असन्तुष्ट व्यक्त गरिन् । दिदी यसो नभन शर्मिला औषधीले विस्तारै निको पार्छ कहाँ एकैचोटि छुन्छ त भन्दै बहिनीलाई जुस तयार गर्दै हुनुहुन्थ्यो।

नर्स खिस्स हाँस्दै उनलाई औषधी खुवाएर गइन्। लक्ष्मी भाउजु पनि एकछिन बाहिर निस्कनु भयो। दिदी जुसलाई अझ पातलो बनाउँदै हुनुहुन्थ्यो, शर्मिला स्यास्या गर्दै थिइन्, म सोफामा बसेर शर्मिलाले पाएको त्यो पीडालाई नियाल्दै थिएँ।

‘तपाईँलाई म चिन्छु नि!’

शर्मिलाले स्यास्या गर्दै यसो भन्दा म झसंग भएँ।

‘तपाइँको फेसबुकमा अर्कै नाम छ है।’

म आश्चर्य मानेर हजुर भनेँ।

‘तपाईँहरू मलाई भेट्न आउनुभयो कति खुसी लाग्यो। थ्याक्यू सो मच। खै म त बाँच्दिनँ जस्तो छ। मलाई मृत्युसँग डर लाग्न छोडिसक्यो। तर, यो मृत्युभन्दा अगाडि भइरहेको पीडा चाँहि असह्य भयो। किन हो खै भगवानले मलाई यति हेला गरेको। भगवानले मलाई हेरेनन्। विदेशको ठाउँमा कोही पनि विरामी नहोस् र यसरी कसैले पनि दुःख नपाओस्’, उनी डाको छोडेर रून थालिन।

तर उनी धित मारेर रून पनि सकिरहेकी थिइनन्। अलिकति डाको छोड्ने वित्तिक्कै कि खोकी लाग्ने कि श्वास फेर्न गाह्रो हुन्थ्यो उनलाई।

म त्यहाँ गएको डेढ घण्टा भइसकेको थियो। शर्मिलालाई गाह्रो पनि भइरहेको थियो र त्यहीमाथि हामी त्यहाँ भएकोले उनी बोलेको बोल्यै गर्दा कतै झन् गाह्रो त हुने होइन भनेर हस्पिटलबाट निस्कने निधो गरेँ।

‘केही किताब पढ्न मन छ तपाईँलाई?’ मैले सुस्तरी उनको शिरमा हात राखेर सोधेँ।

‘म पढ्नै सक्दिनँ, यो पीडाले ध्यान नै जादैँन। मलाई त खालि मिठो धुन, झरनाको आवाज, भजनहरू मात्रै सुन्न मन लाग्छ।’

दिदी भन्दैहुनुहुन्थ्यो,‘घरमा त खुब सुन्थिन् तर विचरा मन गरेपनि अहिले धुनमा पनि उनको ध्याननै जादैँन धेरै रोगले च्यापेर। उनलाई भित्रभित्र धेरै गाह्रो हुँदो हो त्यसैले ध्याननै गइरहेको छैन।’

शर्मिला चन्द्र दाइलाई भन्दै थिइन्, ‘बरू कोही मोङ्क व्यवस्था गरिदिनुन। मलाई ध्यान गरेर बस्न मन छ। मलाई मेडिटेसन,आध्यात्मिक कुरा खाँचो छ। चन्द्र दाइ, राजु दाइलाई फोन गरेर मोङ्कको व्यवस्था गर्न आग्रह गदै हुनुहुन्थ्यो। शर्मिलाको त्यो पीडासँगै लिएर हामी हस्पिटलबाट निस्कियौं।

२०१६, १६ जनवरीमा रोयल मेल्वर्न हस्पिटलको रुम नं १६ मा शर्मिलासँग मेरो जीवनकै पहिलो भेट भएको थियो। उनले बारम्बार ‘तपाईँले अहिलेसम्म क्यान्सर लागेको मान्छे देख्नु भएको छ?’ प्रश्न गर्दा मैले जवाफ नदिनुको कारण पनि एउटै थियो- किनकि मैले अहिलेसम्म त्यसरी क्यान्सर लागेको मान्छे देखेकै थिइनँ। क्यान्सरले मान्छेलाई गलाउँछ भनेको सुनेको थिएँ तर मैले आफ्नो आँखाले त्यसरी गलाएको देखेकै थिइनँ।

उनलाई भेटेर आएपछि मलाई त्यो दिनै नरमाइलो लागिरह्यो। बाहिर टन्टलापुर घाँम लागिरहेको थियो। तर, मेरो मनमा कालो बाँदल मडारिँदैँ थियो। बाटोको हरेक मान्छेलाई निहाले र बाटोको बीचमा ट्राम कुरेर बसेको मैले आफूले आफूलाई निहालेँ।

ट्राममा कोही जोडि प्रेममा लिप्त थिए, कोही जोडी मुख बंगाएर कुरा गर्दै थिए, कोही फोनमा जोड जोडसँग बोल्दै थिए , कोही बृद्ध सिटमा बलै बसेर स्यास्या गर्दै थिए, कोही कानमा एयरफोन लगाए मस्त थिए त कोही पुस्तकमा लिप्त थिए। त्यही ट्राम थियो, त्यही बाटो थियो, त्यही ट्रेन थियो , त्यही नोटिस नगरेका तर भीडभाडमा प्राय ठोक्किरहने  मानिसहरु थिए तर मलाई अनौठो लागिरहेको थियो। यी सबै मानिसहरू र म आफैँ पनि  दुई घडीपछिको जीन्दगी थाहा नपाएर कुदिँरहेकी थिए।

हस्पिटलबाट निस्कने बेलामा मैले मेरो हात शर्मीलाको शीरमा राखेर एकछिन मुसारिरहेको थिएँ, उनको शरीर कापिरहेको थियो। शीर तातो र बाँफिलो बनिरहेको थियो। उनको मन र मस्ष्तिकको सुरताल मिलिरहेको थिएन । उनको आत्मा भड्किरहेको थियो । छिनमा बाँच्ने रहर, छिनमा मृत्युसँग डर नलाग्ने कुरा, छिनमा भगवानप्रति कृतज्ञ, छिनमा भगवानप्रति गुनासो, उनमा उत्पन्न भएको यो अस्थिरताले मलाई त्यहाँबाट फर्किसकेको भोलिपल्ट अफिससम्म पनि पिरोलिरह्यो।

‘म सुत्न सक्दिनँ, म निदाउँन सकिरहेको छैन, मलाई पीडा भयो, म सुत्न चाहन्छु, म यो पीडाबाट मुक्त हुन चाहन्छु’, यो आवाजले म भित्र एउटा पीडादायी तरंग उत्पन्न गरिरह्यो। म अफिसमा किबोर्ड चलाउँदै इमेलहरुको रिप्लाइ त गर्दै थिए तर मेरो दिमागमा भरे हस्पिटलमा शर्मिलालाई भेट्न जाँदा के लगिदिउँ होला उनलाई के लगिदिदाँ उनको पीडा कम होला भनेर सोच्दै थिएँ।

त्यतिकैमा लक्ष्मी भाउजुले भन्नुभयो, ‘भर्खरै डक्टरले भन्यो रे शर्मिला इज नो मोर।’

मेरो खुट्टा काप्न थाल्यो, पाउदेखि चिसो भएर आयो, भनन्न रिंगटा लाग्यो। तर सत्य कुरा त्यही थियो हिजो भर्खरै मैले भेटेको शर्मिलाको मृत्यु भएको थियो।

एक नेपाली क्यान्सरसँग अन्तिम लडाई लडिरहेको छ भन्ने समाचारले एउटा मानवताको हिसाबले म अघिल्लो दिन मात्रै त्यहाँ पुगेको थिए। उनको मृत्युको खबरले म भित्र यस्तो सन्नटा छायो कि किन म त्यहाँ गएको होला, बरू नदेखेको भए पनि हुन्थ्यो जस्तो लाग्यो। काम सकेर साँझ उनलाई अन्तिम चोटि हेर्न हस्पिटल गएँ।

रूम नं १६ मा शर्मिला सुतिरहेकी थिइन्। उनीसँग पहिलो भेटपनि त्यही भएको थियो र अन्तिम भेट पनि त्यही भयो। अघिल्लो दिन सुत्न नसकेर छटपटिएकी शर्मिला आज मस्तसँग कुनै पीडा बिना सुतिरहेकी थिइन्। उनको शिरमा हात राखे शरीर चिसो थियो। उनको मन शान्त थियो। उनमा छट्पटि थिएन। एकदमै आनन्द महसुस गरेकी थिइन्।

मैले पहिलो पटक क्यान्सर लागेको मान्छे देखेको थिएँ, मैले पहिलोपटक कुनै मृत शरीरलाई त्यसरी नजिकबाट निहालेँ र मैले पहिलोचोटि त्यसरी मृत शरीरको त्यो शान्तपनलाई महसुस गरेँ। कृष्णहरि बरालले लेखेको गीत याद आयो।

मर्ने कसैलाई रहर हुँदैन

तर नमरेको प्रहर हुँदैन।

भागेर जाउँ कुन ठाउँ जाउँ

मान्छे नमर्ने सहर हुँदैन।

र मनमनै भने श्रद्धाञ्जली शर्मिला तिमीलाई अर्कोजुनी हुन्छ भने तिमी त्यो जन्मको सबैभन्दा खुसी र सुखी मान्छे रहनू।

-सेतोपाटीमा प्रकाशित