कन्सल्टेन्सीको फस्टाउँदो व्यापार,मर्कामा सेवाग्राही

0
371

–मनोज पौडेल

बिद्यार्थी कुनै पनि देशको आर्थीक स्रोत हो । त्यसमाथि अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोत नै अन्तराष्ट्रिय विद्यार्थीहरु हुन् । त्यसरी अष्ट्रेलिया आउँने विद्यार्थीहरुमा नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । देश राजनीतिक खिचातानीले अक्रान्त अनि गरिबीको दलदल झन्झन् गहिरिदै जाँदा विद्यार्थीहरुमा देशप्रति हिनताबोध जाग्नुको साथै देशमा बसेर कुनै भविष्य नदेख्दा आजका युवाहरु विदेश पलायन हुनु स्वभाबिकनै हो ।

आफ्ना साथीहरुको लवाईखवाई,देखासिकी अनि घन्टाको यति र उति आम्दानी भन्ने कुराहरुले पनि विद्यार्थीहरुलाई विदेश पलायन हुन उत्प्ररित गर्दछ । त्यति मात्र नभएर महङ्गा महङ्गा स्मार्ट फोन देखेर जो कोहि साथीको मन बहरालिनु कुनै नौलो भएन । किनभने यो एउटा मानविय गुणपनि हो।

कुरा गरौ कन्सल्टेन्सीको जहाँबाट बिद्यार्थीको बार्गेनीङ शुरु हुन्छ । अनविज्ञ बिद्यार्थीहरुको पहिलो यात्रा हुन्छ च्याउसरि उम्रिएका कन्सल्टेन्सीबाट । सहि र भरपर्दो सल्लाहको खोजीमा सैयौँ कन्सल्टेन्सीहरुको भीडमा सही कन्सल्टेन्सी छान्दै भौतारिन न बाध्य हुन्छन् बिद्यार्थीहरु । तर ती कन्सल्टेन्सीहरु बिद्यार्थीको भविष्यमा भन्दा बढी आफ्नो फाईदामा कस्सा कस्सी गर्छन् र अपूरो र सुन्दर सपनाको प्रलोभन देखाई बिद्यार्थीलाई अतिरन्जित बनाउनमा अग्रसर हुन्छन् ।

सबै कन्सल्टेन्सी खराव भन्नपनि खोजेको होइन तर दसमा नौ चाँहि बिद्याार्थीको भलो भन्दा पनि आफ्नो फाईदामा लुच्छालुच्छी गरेको मेरो अनभुव छ । डकुमेन्ट बनाउने देखि कलेजको व्यबस्थापन र ईमिग्रेसनका नियमहरुमा सहि र अपडेटेड जानकारी नहुँदा धेरै बिद्यार्थीहरुको भिषा रिजेक्ट हुने गरेको छ । भोलीको भबिष्य यानिकी पिआरको सुनौलो भविस्य देखेर लाखौ पैसा लगानी गरेका हुन्छन् बिद्यार्थीले तर कन्सल्टेन्सीको अपुरो जानकारीले योग्यता नपुगेका बिद्यार्थीहरुलाई पनि पठाउँदा समय अनि पैसाको बर्बाद भएको मैले भोगेको र देखेको छु ।

आज अष्ट्रेलीयामा पनि कन्सल्टेन्सीहरु धेरैनै भईसके,कति खोलिने तर्खरमा पनि छन् । कतिले सहि र राम्रो सल्लाह दिन्छन् भने कतिले कलेजबाट आउने कमिसनको लोभमा बिद्यार्थीहरुमाथि खेलबाड गरेका प्रसस्तै उदाहरणहरु छन् । नाम नबाउताउने शर्तमा एक बहिनीले कन्सल्टेन्सीको गद्दारको कारण पढाई सकेपछि पाउने अस्थाई भिसाको लागि उचित परामर्स नदिदा थप बिद्यार्थी भिसामा गएर पैसा र समयको बर्बाद भएको गुनासो पोख्दै थिइन् । त्यस्तै एकजना भाइले भिसाका लागि आवेदन हालेको धेरै महिनासम्म पनि भिसा नआएको देखेर सिधै ईमिग्रेसनमा बुझ्दा भिसा धेरै अगाडि पठाएको कुरा बताएपछि कन्सल्टेन्सीमा बुझ्दा ईमेल धेरै अगाडि आएको तर अप्डेट नगरेको बताए । यी त केबल झिना मसिना उदाहरण मात्र हुन् । यस्ता हेलचेक्राई धेरै छन् जसका कारण कति बिद्यार्थी त नेपाल फर्कन बाध्य भएका छन् ।

त्यसैले व्यापारको नाममा बिद्यार्थीमाथि कुनै किसिमको खेलबाड नहोस् भन्नका लागि हामी आफैं सचेत हुनुपर्छ । कन्सल्टेन्सी छान्दा सही र विश्वासनीय छान्नुपर्छ जुले सहि र भरपर्दो सुचना प्रदान गरोेस् । ताकी बिद्यार्थीले दुःख झेल्नु नपरोस अनि अनाहकमा लाखौ लगानी माटोमा नमिसियोस् जसले गर्दा घर परिवारमा समेत मानसिक तनाव सिर्जना भई अप्रिय घटना नघटोस । बिषेश गरेर नेपालमा जसले झुटा तर सुन्दर सपना बुनेर, अष्ट्रेलियाले टिका लगाएर पिआर दिने लोभ देखाएर सोझा बिद्यार्थीलाई नठगीयोस र यहाँपनि कमिशनको लोभमा बिद्यार्थीलाई बलिको बोको नबनाईयोस ।

बिद्यार्थी भिसामा स्वम् बिद्यार्थीलाई काम, नेपालको ऋृण अनि कति व्यक्तिगत तनाबहरु झेलिरहनु परेको हुन्छ । त्यसमा अझ कन्सल्टेन्सीले सहि सुचना नदिँदा विद्यार्थीहरुले भोग्नुपरेको तनावका बारेमा त सबैजना भुक्तभोगी नै होलान् ।