मुलुकको ३८ औं प्रधानमन्त्री : ओली या कोइराला ?

0
322

-दीपेन्द्र दोङ तामाङ ।

काठमाडौं । मुलुकले आज ३८ औं प्रधानमन्त्री पाउँने भएको छ ।

राष्ट्रपति डाक्टर रामबरण यादवले दिनुभएको सात दिनको म्यादभित्र सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि बहुमतीय प्रक्रिया शुरु भएको हो । त्यस अन्तर्गत हिजो शनिवार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रधानमन्त्रीका आकांक्षीहरुले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय पाएका थिए । उक्त समयसीमाभित्र एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति सुशील कोइरालाको मात्र उम्मेदवारी परेपछि नयाँ प्रधानमन्त्रीमा उहाँहरुमध्येबाट कुनै एक बन्नुहुने निश्चित छ ।

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिकासंसदमा आज विहान ११ बजेपछि निर्वाचन हुँदैछ ।

काँग्रेसभित्र रडाको :

दलहरुबीच संविधान जारी गर्नुअघि नै राजनीतिक भागबण्डामा भद्र सहमति भैसकेको थियो । जसअनुसार अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँने भद्र सहमति भएको एमालेको दाबी छ । तर आएर काँग्रेसले भद्र सहमति तोडेर धोका दिएको एमालेको आरोप छ ।

उता पार्टी सभापति सुशील कोइराला आफैंले प्रधानमन्त्रीको उम्मेदवारीमा दाबी गर्नुभएपछि काँग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ । यही असन्तुष्टिको कारण सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिनुभएको छ भने काँग्रेसभित्रका गगन थापा लगायतका नेताहरु नेतृत्व पंक्तिसँग रुष्ट बनेका छन् । संविधान जारी गर्ने ऐतिहासिक क्षणको नेतृत्व गरेर इतिहासमा नमेटिने क्रेडिट हासिल गरिसकेको काँग्रेस पार्टीलाई फेरि केही व्यक्तिहरुको सत्ता लोलुपताले पतनको बाटोमा लगेको उनीहरुको जिकिर छ । यसबाट काँग्रेस बेइमानी,धोकेबाज र सत्तापरस्त पार्टीका रुपमा देखा परेको स्वयम् काँग्रेसी नेताहरुको ठहर छ । अहिले देखिएको पार्टीभित्रको यो रडाकोले आउँदै गरेको काँग्रेसको महाधिवेशनमा ठूलै उथलपुथल ल्याउँने निश्चित छ ।

सुशील कोइराला आफैंले प्रधानमन्त्रीको उम्मेदवारीमा दाबी गर्नुभएपछि काँग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ । यही असन्तुष्टिको कारण सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिनुभएको छ भने काँग्रेसभित्रका गगन थापा लगायतका नेताहरु नेतृत्व पंक्तिसँग रुष्ट बनेका छन् ।

पार्टी सभापति सुशील कोइराला अरु कतैबाट परिचालित र्भरहेको उनीहरुको बुझाइ छ । श्रोतका अनुसार शुक्रवार भारतीय राजदूत रञ्जित रेसँग भेटेर फर्किनुभएपछि कोइरालाको मुड फेरिएको हो । त्यसैले कोइरालाको उम्मेदवारीमा भारतको प्रत्यक्ष दबाब र इन्ट्रेष्ट रहेकोमा कुनै शंका छैन । सकभर एमाले अध्यक्ष केपी ओली सत्तामा नआऊन् भन्ने दिल्लीको चाहना रहँदै आएको छ ।

केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री ?

पछिल्लो समीकरण हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री बन्नुहुने लगभग निश्चित छ ।

एकीकृत माओवादी,राप्रपा नेपाल सहित विभिन्न १३ साना दल र स्वतन्त्र सांसदको समेत ओलीलाई समर्थन जुटेपछि यो सम्भावना थप बलियो भएको छ । एकीकृत माओवादीले १४ बूँदे सहमति गर्दै सशर्त ओलीलाई समर्थन गरेको हो । यस्तै राप्रपा नेपालले पनि केही मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै समर्थन गरेको छ । श्रोतका अनसार राप्रपाले उपप्रधानमन्त्री,परराष्ट्र सहित तीन मन्त्रालय मागेको छ । पार्टी अध्यक्ष कमल थापा आफैं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रुपमा सरकारमा जाने तय भएको राप्रपा नेपालले जनाएको छ । त्यसैले राप्रपा नेपालले एमाले अध्यक्ष ओलीको पक्षमा मतदान गर्न पार्टीभित्र ह्वीप नै जारी गरिसकेको छ ।

उता संविधान जारी गर्ने बेलामा पार्टीभित्रै विद्रोह गर्नुभएका एकीकृत माओवादीका संसद प्रभु साहको भोट पनि ओलीले पाउँनुहुने निश्चित भएको छ । मधेशमा जारी आन्दोलन र मधेशका मागका बारेमा उचित सम्बोधन गर्ने ओलीको प्रतिवद्दतापछि साह भोट दिन सहमत हुनुभएको हो ।

मधेशमा आन्दोलनरत अन्य दलहरुले भने आज विहान मात्र निर्णय गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत देखिएकोले उनीहरुको मत पनि ओलीले नै पाउँने लगभग तय भएको मोर्चा निकट स्रोतले जनाएको छ ।

एकीकृत माओवादी,राप्रपा नेपाल सहित विभिन्न १३ साना दल र स्वतन्त्र सांसदको समेत ओलीलाई समर्थन जुटेपछि यो सम्भावना थप बलियो भएको छ । एकीकृत माओवादीले १४ बूँदे सहमति गर्दै सशर्त ओलीलाई समर्थन गरेको हो । यस्तै राप्रपा नेपालले पनि केही मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै समर्थन गरेको छ । श्रोतका अनसार राप्रपाले उपप्रधानमन्त्री,परराष्ट्र सहित तीन मन्त्रालय मागेको छ । पार्टी अध्यक्ष कमल थापा आफैं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रुपमा सरकारमा जाने तय भएको राप्रपा नेपालले जनाएको छ ।