पहिरोले निम्त्याउँने विनाश रोक्न अब के गर्ने ?

0
422

हिमालयन कंगारू डेस्क । वैशाख १२ को महाविनाशकारी भूकम्प र त्यसपछिको निरन्तरको पराकम्पनका कारण पहाडहरु थिलथिलो बनेका छन् । भूकम्पले चर्काएको र गलाएको पहाडहरु पहिरो बनेर खस्ने क्रम जारी छ । कमजोर बनेका पहाडहरु पराकम्पनसंगै खस्दै जाँदा पहाडी जिल्लाहरुमा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ भने कालीगण्डकीले भोगेको नियति डरलाग्दो चेतावनी बनेर तेर्सिएको छ । ठूला तथा साना भूकम्पले गर्दा महाभारत पहाडी श्रृखला लगायतको चट्टानी तथा माटोयुक्त पहाडी संरचनालाई कमजोर बनाईदिदा बर्षातको महिनामा पहाडहरु चुनौती बनेर पेश हुने जोखिम बढेको छ ।

ठुलो भूकम्प र सयौं साना पराकम्पनहरुको असर र भूकम्प पीडितहरुको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण जस्ता विषयहरुले भरिएका सञ्चार मध्यामहरुका प्रस्तुतीहरु आईतबार अचानक अर्को संकटपूर्ण विषय तर्फ मोडियो । त्यो थियो भूकम्पका कारण कमजोर बनेको काली गण्डकीमाथिको काफलडाँडा पहाडवाट अचानक पहिरो खस्दा काली गण्डकी थुनिन पुगेको प्रशंग । पहिलोको कारण काली गण्डकी बग्न नसक्दा ठुलो ताल बन्न पुग्यो र त्यो ताल कुनै पनि समय अनियन्त्रित रुपमा फुट्ने खतराका कारण सयौं परिवारलाई विस्थापन गर्नु पर्यो । साथै काली गण्डकीले असर पर्ने सक्ने सात जिल्लामा समेत अलर्ट जारी गरियो । धन्न प्राकृतिक किसिमले काली बग्न थालिन र ठुलो संकटबाट मुलुक र काली गण्डकी किनारका जनताले मुक्ति पाए ।

स्वदेशी तथा विदेशी भूगर्भ विद्हरुले महाविनासकारी भूकम्प र त्यस यताका सयौं पराकम्पनहरुले गर्दा भूकम्प प्रभावित धेरै पहाडी जिल्लामा पहिरोको सम्भावना रहेकोले सचेत रहन आग्रह गर्दै आएका छन् । उनिहरुले अत्यन्त जोखिमपूर्ण वस्तिहरु हटाउन समेत सरकारलाई आग्रह गरेका छन् ।

भूकम्पका कारण पहिरो जाँदा हिमाली जिल्ला मुस्ताङ्ग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भयो । स्थानीय जनताले प्रहरी तथा सेनाको सहयोगमा बाटो त खुलाए तर अझै त्यो क्षेत्रमा पहिरोको डर भने ब्याप्त छ ।

भूकम्पका कारण दोलखाका विभिन्न स्थानमा लगातार पहिरोहरु गइरहेको छ । जानकारीमा आए अनुसार हालसम्म तीन जनाको पहिरोको कारण मृत्यु भईसकेको छ । नेपाल सरकारका पूर्व जलस्रोत सचिव शितलवावु रेग्मीको भनाईमा भूकम्पको कारण पहिरोको सम्भावना अवश्यंवाभी भएकोले सरकारले प्रत्येक जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गर्नु भपर्छ ।

पहिरोको कारण सवैभन्दा क्षति वेहोरेको सिन्धुपाल्चोक जिल्लाका धेरैजसो स्थानमा जमिन धाजा धाजामा फाटेको छ । सिन्धुपाल्चोकको पहाड त लगभग पुरै जोखिम अवस्थामा रहेको भूगर्भ विदहरुको भनाई छ । घर निर्माण गर्दा अव सवै भन्दाबढि भू–अध्यन सिन्धुपाल्चोकको हुनुपर्ने उनीहरुको सुझाव छ । त्रिभुवन विश्व विद्यालयका भूगर्भ विषयका सह–प्राध्यापक डा. रञ्जन दाहालका भनाईमा मुलुकको ठुलो हिस्सा ओगटेको पहाडको भूवनोट नै कमजोर हुन पुगेकोले विना अनुसन्धान भवन तथा पूर्वाधार निर्माणका कार्यहरु अगाडी बढाउन हुँदैन ।

भ्ूागर्भ विदहरुले भूकम्पका कारण बढी प्रभावित सात जिल्लालाई पहिरोको दृष्टिकोणलेपनि उच्च जोखिम रहेको आँकलन गरेका छन् । म्याग्दी, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा सानो स्तरका पहिरोहरु गइरहेका छन् । असारबाट बर्षा शुरु हुने भएकोले पहिरोको थप जोखिम हुने देखिएकोले अहिलेबाट नै आवश्यक तयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन् ।