आउँछ -जान्छ “माघ १९” 

0
586

२०६१ सालको माघ १९, कसरी बिर्सन सक्छ र एउटा होस हवासमा रहेको सचेत नेपालीले ? त्यही बिर्सन नसकिने माघ १९ पनि त्यसयता १० चोटि आएर गैसक्यो ! हरेक पटक गुलावी जाडोसँगै जिस्क्यादै आउँछ, जान्छ माघ १९ । हरेक पटक आउँदा उसले सोध्छ , यसबीचमा के भयो त मुलुकमा ? केही भएन, भयो भने एउटै भयो नौ दिनमा नौलो वीस दिनमा बिस्र्यो । तैपनि हामीले भन्न छोडेका छैनौ, एउटै माघले जाडो जाँदैन ।

pradeep

-डा. प्रदीप भट्टराई

माघ महिनालाई लिएर नेपाली समाजमा अनेक उखान चलेका छन् । त्यसमाथि पनि जाडोलाई नै लिएर बनाइएका दुई उखान त अझै पनि लोकप्रिय छन् । एउटा हो, बलिया बांगा बाघलाई, लुते ल्यांग्रा माघलाई । अनि अर्को हो, एक माघले जाडो जाँदैन । माघको गुलावी जाडोलाई लिएर कथिएका यी दुबै उखान जीवन र जगतसँग मात्र हैन, माघ भयसँग पनि जोडिएका छन् ।
माघ महिना उखानको कोणबाट मात्र महत्वपूर्ण छैन । यससँग जोडिएका अनेक त्रासदीका कारण पनि यो बिर्सनलायक महिना हैन । त्यस्तै एउटा त्रासदी हो, नब्बे सालको भुइँचालो । १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पले धेरै नेपालीको ज्यान मात्र लिएन, तत्कालिन नेपालको जनजीवनमाथि पनि जबर्जस्त डंका पिट्यो । त्योभन्दा पनि अर्को महत्वपूर्ण काण्ड जोडिएको छ यो महिनासँग । १९९७ सालको माघ महिनामै राणाशाहीले चार सपूतको बली चढाएर शहीदखेतीको विजन लगायोे । माररे पनि बाँचेका ती शहीदको सम्मानमा आज पनि मुलुक माघ १० देखि १६ गतेसम्म सगर्व शहीद सप्ताह मनाउने गर्छ । भलै, कसैका लागि यो कर्मकाण्डी सप्ताह पनि लाग्न सक्छ ।
यी त अलि पुराना कुरा भए । नयाँ कुरा गर्दा २०६१ साल माघ १९ गतेको चर्चा चुलीमा हुन्छ । हिजो मात्र एक दशक पूरा गरेको माघ १९ लाई मानिसहरु अनेक सोच र कोणबाट सम्झन्छन् । यही दिन तत्कालिन राजा ज्ञानेन्द्रले देउबा सरकारलाई अपदस्थ गरी मुलुकको वागडोर आफ्नो हातमा लिएका थिए । यसो गर्दा उनले टेलिफोन, मोबाइल, इमेल सबै ह्याक गरेका थिए । शाही सेनाका अधिकृतलाई सुपर सम्पादक नियुक्त गरेर मुलुकको सञ्चार माध्यमको ब्यारेकीकरण गरिदिएका थिए । राजनीतिक दलका कतिपय नेता नजरबन्दमा राखेका थिए भने कतिपयलाई प्रहरी हिरासतमा पाहुना बनाएका थिए । आफ्ना बाबु महेन्द्रको समयका पतुर अनुहारमा पालिस लगाएर सत्तासवार गर्ने सोच पालेर यस्तै हर्कतहरु गरेका थिए उनले ।
२०६१ साल माघ १९ गते नेपालका अन्तिम राजाले गरेको यही थियो । तर, यसलाई हेर्ने आम मानिसको सोच र कोणमा १८० डिग्रीको फन्को भेटिन्थ्यो , आज पनि त्यसमा खासै फरक आएका छैन । धेरैले यसलाई इतिहासकै सबैभन्दा कालो दिनका रुपमा बुझे । र, त्यही सोच र कोणबाट यसको ब्याख्या र विश्लेषण पनि गरे । संख्यामा थोरै सही, केहीले यसलाई स्वर्णिम युगको थालनीका रुपमा पनि लिए । उनीहरुले यसलाई त्यही सोच र कोणबाट अथ्र्याए । को ठीक, यो आफैंमा निरपेक्ष प्रश्न हैन । १० वर्ष बितिसक्यो, अझै पनि को ठीक र को बेठीक भन्न सकिएको छैन । औचित्य पुष्टि गर्नेहरुले नगरेपछि कतिपय प्रश्नहरु आफैं पेचिला बन्दा रहेछन् ।
इतिहास साक्षी छ, मुलुक त्यतिबेला माओवादी सशस्त्र द्वन्दको चपेटामा थियो । दलका एक से एक नेताहरु त्यो समस्यालाई समाधान गर्न असमर्थ थिए । जनतामा ठूलो असुरक्षाभाव थियो । सर्वसाधारण जनता तत्कालिन सेना र माओवादी दुबैको चपेटामा थिए । जो कोही ठूला नेता पनि सत्ताका लागि बोलावटको आशा गरेर बसेका थिए । इतिहास दशी प्रमाण लिएर बोलिरहेको छ, कतिपयले त नारायणहिटीको पश्चिम ढोकामा आवेदन समेत दिन भ्याएका थिए । एक किसिमले भन्ने हो भने सत्ताका लागि लिगलिग दौड सुरु भैसकेको अवस्था थियो ।
कोहीबाट पनि पार नलागेको त्योे अवस्थामा आमजनता भने तत्कालिन राजालाई लगभग शंकाको सुविधा दिने मनस्थितिमा पुगेका थिए । उनीहरुलाई जो आए पनि उस्तै जस्तो भैसकेको थियो । जो आएर मुलुकलाई द्वन्दबाट बाहिर निकाल्न सक्थ्यो, जनता उसकै स्वस्ति गाउन लगभग तयार भएको अवस्था थियो त्यो ।
अरु कोणबाट आमजनता खासै प्रभावित नभए पनि पहिलोपटक मुलुक सञ्चार नाकाबन्दीमा परेको थियो । सर्वसाधारणका घरमा टेलिफोनको घण्टी बज्न छोडेको थियो । अलि पहुँच भएकाहरुको गोजीमा मोबाइलको बोल्ती बन्द भैसकेको थियो । इमेल र इन्टरनेटको सञ्चारबाट पनि मुलुक बिच्छेद भैसकेको अवस्था थियो । सञ्चारसँग संसार गाँसिइ सकेको नयाँ पुस्ताका लागि यो अवस्था एक किसिमले विचित्रको थियो ।
आम मानिसले सुरुमा धेरै ठूलो इलेक्ट्कि सक महसुस गरे पनि उनीहरु क्रमशः यसैमा अभ्यस्त हुँदै थिए । यो कदमको विपक्षमा खासै जनमत नदेखिएपछि सरकार पनि राहतको अनुभव गर्दै थियो । तर, जनतालाई त द्वन्दको स्थितिबाट मुक्ति चाहिएको थियो । त्यसैका लागि मात्र ऊ तत्कालिन राजा ज्ञानेन्द्रलाई शंकाको सुविधा दिन तयार भएको अवस्था थियो । एकातिर जनताले आशातित राहत नपाउनु अर्कोतिर शत्रुको शत्रु मित्र हुन्छ भनेझै रणोदिपचोकमा पुगेका कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र रोल्पातिर भौतारिरहका माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डबीच दिल्ली सम्झौता हुनु, केवल काकताली मात्रै थिएन, नेपाली इतिहासको टर्निंग पोइन्ट पनि थिए । त्यही सम्झौताका आधारमा अर्को १४ महिनापछि तत्कालिन राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेव फगत ज्ञानेन्द्र हुँदै नागार्जुनतिर लागे भने गिरिजाप्रसाद कोइराला राष्ट्प्रमुख र सरकार प्रमुखका रुपमा उदाए ।
त्यसयताका १० वर्षलाई सरसर्ती हेर्दा मुलुकमा धेरै किसिमको परिवर्तन भएको देखिन्छ । वाग्मतीमा पानी हैन, ढल बगेर होला शायद, मुलुकमा परिवर्तनका नाममा जे हुनुपर्ने हो, त्यो भैरहेको छैन र जे नहुनुपर्ने हो त्यो चाँहि फटाफट भैरहेको छ । यस पछाडिको कारण खोतल्ने हो भने मुलुकमा एउटा दरवार सकिएर अरु अनेक दरवारको खेती हुनु नै केन्द्रमा भेटिन्छ । हिजो दरवारमा हुनेहरु असान्दिर्भक हुँदै गर्दा हात्तीछाप चप्पल घिसार्नेहरु आज कुनै बिना जायज स्रोत नयाँ सिंहासनमा पुगेको अवस्था जगजाहेर छ । जनताका नाममा दलले, दलका नाममा गुटले र गुटका नाममा व्यक्तिले शासन गर्ने अनौठो लोकतन्त्र नेपालमा आएको छ । यही लोकतन्त्रको परीक्षणमा एक पछि अर्को नेता असफल हुँदै लिलिपुट अवतारमा पुगेका छन् । यसबीचमा भएको सबैभन्दा अजवको परिवर्तन चाँहि प्रचण्ड हुनु र प्रचण्ड नहुनु भएको छ । मानिस यति छिटै कसरी यस्तो अवस्थामा पुग्छ, यो आफैंमा गजबको पहेली बनेको छ । मुलुक त्रुपबिनाको उराठलाग्दो अवस्थामा रुमलिदै संक्रमणतिर लम्किरेहको छ ।
संविधानसभाको पछिल्लो चित्र झण्डै झण्डै २०५२ सालतिरको जस्तै देखिन थालेको छ । केही समयपछि नै मधेसी मोर्चाको गच्छेदार मार्का सत्तापक्षमा फर्केपछि मुलुकमा त्यही चित्र दोहोरिने छ । हिजो सबै मिलेर २०४७ सालको संविधान बनाउँदाको हालत त यस्तो छ भने आज धेरैले २०७२ को संविधान बनाउँदा कस्तो होला ? यस बारेमा चिन्ता गर्नुपर्नेहरुमा पटक्कै चिन्ता देखिएको छैन ।
यतिबेला प्रचण्डहरु संविधानसभा मात्र हैन, राजधानी नै छोड्ने कुरा गरिरहेका छन् । अर्को पक्ष पनि छिटै गैदिए हुन्थ्यो भनेजस्तो गरिरहेको छ । दुबैतिर धुपौरेहरु अगरवत्ती सल्काइरहेका छन् । एक पक्षलाई प्रचण्डलाई खुइल्याएर सेखी झार्नु छ । तर, उनीहरुले के बुझेका छैनन् भने प्रचण्ड खुइलिदैमा अर्को प्रचण्ड नजन्मिने हैन । अर्को पक्षलाई पनि पटक पटक प्रचण्डको खेती गर्नु छ । यो मुलुकलाई एउटै प्रचण्ड धेरै भैसक्यो । अब अरु कति प्रचण्ड जन्माउनेतिर लाग्ने हो । जनता यसैमा आजित छ ।
भनिन्छ, नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो । अहिले मुलुक यही भनाइको सहारामा छ । अहिले हामी जे जस्ता तर्कहरुको खेती गरिरहेका छौं लाग्छ हामीले माघ १९ पनि बिस्र्यौ, २०६२ ०६३ को आन्दोलन पनि बिस्र्यौ । माओवादी सशस्त्रद्वन्दको नाममा हजारौ नेपालीको अनाहकमा ज्यान गएको पनि बिस्र्यौ । यो बिर्सने क्रम बढ्दै जाँदा हामीले अरु पनि धेरै कुरा बिर्सने छौं । मुलुकको इतिहास बिर्सने छौ, राष्ट्यिता बिर्सने छौं । अझ यसो भनौं, २१ औ शताव्दीमा गजवको पहिचान निर्माण गर्ने अभियानमा हामी सबै बिर्सने छौं ।
त्यसपछि हामीसँग के रहन्छ ? हामीले नै खुइल्याएका अभिशप्त नेताहरुको बूढौली । हामीले नै अश्विसनीय बनाएका दलका फुंग रंग उडेका केही थान झण्डाहरु । उमेर छँदा मलेसिया र खाडीमा पौरख गर्न पठाएर फर्किएका थकित अनुहारहरु । अनि, कहिल्यै मिल्न नसक्ने गरी उकासिएका झगडियाजस्ता जनताहरु ।
के हामीले बनाउन चाहेको नेपाल यही हो ? हैन भने किन दुख्दैन हँ हामीलाई माघ १९ ? किन तर्साउदैन हँ यसको छायाले हामीलाई ? प्रश्न यी र यस्ता अरु पनि फालिम लाग्न तयार छन् । तर, उत्तर दिन कोही तयार छैनन् । त्यसैले त फेरि पनि भने हुन्छ, एक माघले जाडो जाँदेन । आगे उनीहरु नै जानुन् ।