छोरा तँ सधै खुसि हुनु भनि आमाले दिएको आशिष याद आयो – आशिष

0
418

नेपालमा मात्र होइन नेपाली समुदाय रहेका विदेशी मुलुकमा समेत न्महन चाड दशैको रौनक उत्तिकै हुने गर्छ | हिमालयन कंगारूको दशैं विशेष शृंखलामा अष्ट्रेलियामा रहनुभएका तपाईले नै मन मस्तिष्कमा सजाउनु भएका प्रिय सार्वजनिक व्यक्तित्वहरु सँगको कुराकनी पस्किने प्रयास गर्दै छौं |  अष्ट्रेलियामा रहेर कलिलो उमेरमा नै चलचित्र क्षेत्रमा निर्देशकको रुपमा उदाउनु भएका आशिष भेटवाल सँग गरिएको दशैँ विशेष कुराकानी |  निर्देशक आशिष भेटवालको चलचित्र ” जंगबहादुरको कोट ” निर्माणाधीन छ |

यसपाली दशैँको तयारी कस्तो छ ?

यसपटकको दशैँ अनौपचारिक हुदैछ, यसैबर्ष मात्रै हामीले परिवारमा हजुरआमा गुमायौं त्यसैले उहाँको स्मरणमा यो वर्ष कुनै चाडपर्व औपचारिक रुपमा मनाइने छैन |

नेपालमा हुँदा  पछिल्लो पटक दशैँ कहिले मनाउनु भएको थियो ?

२०६९ सालको दशैँ मैले नेपालमा नै मनाएको हुँ | परिवार र साथी भाई सँगै मनाइएको थियो |

दशैका परिकार मध्ये तपाईलाई मन पर्ने  परिकार कुन हो ?

बुबाले पकाउनु भएको खसीको मासु अरु परिकार सँग दाज्नै सक्दिन , असाध्यै मिठो लाग्छ , मेरो त विशेष नै हो |

अनि पेय पदार्थ ?

त्यो चाहिँ स्पेशल भन्ने छैन , फ्यान्टा पिउन रुचाउँछु |

तपाइको बिचारमा दशैंको सकारात्मक पक्ष के हो ?

दशैँ जस्ता चाडपर्वले सधै सकारत्मक भूमिका खेल्छ, पारिवारिक भेटघाट, आपसी सम्बन्ध विस्तार र सुदृढ गराउने दशैँ पर्वले सबै किसिमका पिरचिन्ता समेत बिर्साउन सहयोग पुर्याउँछ |

दशैँ पर्वका सुधार्नु पर्ने केहि पक्ष देख्नु भएको छ ?

त्यस्तो त लाग्दैन | तर बाध्यताबस पढाई र जागिरकै सिलसिलामा परिवार आफन्त र साथीभाई सँग छुट्टिनु पर्दाको भावनात्मक पिडा महसुस हुन्छ | सबैले सामजिक सन्जाल फेसबुकमा परिवार सँग साटेका हरेक पल र खुसि बाडिरहेका हुन्छन त्यो देख्दा अनि आफुले त्यो पल बिताउन नपाउंदा कहिलेकाही चसक्क हुन्छ |

अन्त्यमा दशैँको अवसरमा शुभकामनाका शब्दहरु छन् कि ?

नंग फुल्दा दशैँ मा नया लुगा पाइन्छ भन्ने दिन याद आयो

त्यहि नया लुगा किन्न न्युरोड तिर गाको छिन यान आयो

 एक महिने छुट्टी हुने बित्तिकै बसपार्कमा टिकेट काटेर

नाइट बस मा सरर गुडदै मामाघर गाको याद आयो

 मन्दिर मा भगवती लाइ कालो बोका बलि दिदा

रगत देखेर दुइ घण्टा बेहोस भाको याद आयो

 साथि भाइ संग बसेर बोट हालेर तास खेल्दा

त्यहि तास मा जित्न नपाउदा रिसाएको याद आयो

 बास गाडेर ठुलाबाले पिङ्ग बनाइदिदा

त्यहि पिङ्ग मा कान्छीलाइ मच्चाइदेको याद आयो

 सबै संग बसेर साइत को टिका निधार मा थाप्दा

टिका सकेर सबै जना मासु चिउरा खाको मलाइ याद आयो

 आज यहि सब कुरा सम्झेर एक्लै एक्लै दुखि हुदा

छोरा त सधै खुसि हुनु भनि आमाले मलाई आशिष देको याद आयो…..

दशैँको पावन  अवसरमा शुभकामना बाँड्ने मौका दिनु भएको मा हिमालयन कंगारुलाई धेरै धन्यवाद | उज्ज्वल भविष्यको कामना गर्दछु |