अरबमा निलिएकी चेलीको कथा

0
294

आफुले जन्म दिएको ९ बर्षे छोरो परिवार अनि नेपाल छोडेर तीन बर्ष अघि अरब पुगेकी शोभा परियारलाई  भयानक मृत्युले घेरेको पत्तो नै भएन | पति सँगको सम्बन्ध बिग्रनु छोरो समेत अपांग हुनुले बिरक्तिएकी शोभालाई एक दलालले परिवारलाइ समेत पत्तो नदिई मुम्बई हुँदै साउदी अरब पुर्याएको थियो |
शोभा साउदी अरब पुगे लगत्तै पहिले देखि सम्बन्ध बिग्रिएका उनका श्रीमान् ले अर्को बिहे गरे |उता शोभाले साउदी अरबमा काम गर्न बसेकै घरका  मालिक र मालिक्नीको यातना सहनु पर्यो |असह्य पिडा हुन थाले पछि टेलिफोन मार्फत  आफुलाई नेपाल फर्किन सघाउन घरमा खबर गरिन् बूढा भैसकेका बाबु आमाले छोरी फर्काउने तयारी गरे | शोभालाई साउदी पठाउने एजेन्टलाई  १९ हजार रुपियाँ ऋण खोजेर छोरी फर्काइदिने शर्तमा  बुझाए । रकम बुझाएको महिनौ बिते पनि शोभाको अत्तोपत्तो केहि नभए पछि दलालको खोजीमा बाबुआमा लागे | छोरी खोजिदिन्छु भन्ने दलाल गैरकानुनी रुपमा मानव ओसारपसार गरेको आरोपमा जेल परेको थाहा पाए पछि त  बाबु आमाको अलि अलि बाँकि रहेको आशा पनि मर्दै गयो |

कुरा २०७० साल चैत्र महिनाको हो अचानक शोभाले घरमा फोन गरेर आफुले मालिक को २ बर्षे छोरो मारिदिएको र जेल परेको तितो सत्य आफ्ना बाबु आमालाई फोन मार्फत नै सुनाइन् | जेल परे पनि छुटेर छिटै नेपाल आउने प्रक्रिया अघि बढेको समेत उनले परिवारलाई खबर गरेकी थिईन् |

 दिन बित्दै जाँदा पत्रपत्रिकामा शोभालाई मृत्युदण्ड हुनसक्ने खबर आउन थाल्यो | मृत्युदण्डको खबर सुन्ने बित्तिकै हतासिएका बाबु आमाले उनको जीवन रक्षा गरिदिन निकै प्रयास गरे | राष्ट्रपति रामवरण यादब सम्म पिडा पोख्न पुगेका शोभाका बाबु आमाले अन्त्यमा छोरीलाई घाँटी रेटेर मृत्युदण्ड दिएको खबर सुन्नु परेको छ | साउदी अरबको अररामा सोमबार बिहान मृत्युदण्ड दिइएको भनिएको शोभाको शव समेत अब  नेपाल आउँदैन | नेपाली दूतावासले जोगाउन गरेको कुटनीतिक  प्रयासको बाबजुद पनि  अदालती फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि साउदी  राजाको आदेशमा  शोभालाई मृत्युदण्डको सजाय दिइयो |

आमाको मृत्युको खबर समेत पत्याउदैनन् १२ बर्षीय छोरा दिवस | तनहुँको स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत  दिवस ओठ फाटेका कारण स्पष्ट आवाजमा बोल्न नसक्ने छन् | उनलाई ममी  घर आउने र आउँदा साइकल ल्याइदिने कुरा मात्रै विस्वाश छ | जुनकुरा दिवस स्वयंले ममीको  मुखबाट सुनेका थिए |

आशै आशमा रेटिएको सपनाले पर्खाइमा बसेका अबोध बालक दिवस अनि आशुको पोखरीमा चुर्लुम्म डुबेका बृद्ध बाबाआमाले कसरि चित्त बुझाउलान् भोलिका दिनहरुमा |हरेक दिन अरबको भूमिमा मालिक र मालिक्नीको सेवामा खटिने नेपाली चेलीहरुको बीचमा शोभाको जस्तै मृत्युकथा न दोहोरिएला भन्न सकिने अवस्था छैन | कयौं चेलीहरुको  कारुणिक जीवन यसैगरी टुंगिने खतरा अझै बढ्दो क्रममा नै छ |