काठमाडौं । सदभावना पार्टीका पाँच जना सभासद्हरुले  संविधानसभाबाट सामुहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले  विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने भएकाले यसको साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने बताउदै राजीनामा दिएको जनाएको छ । मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सदभावना अध्यक्ष महतोले यो आफूहरुको बाध्यत्मक निर्णय भएको भन्दै आफ्ना सबै नेताकार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिनुभएको छ ।

पार्टीका तर्फबाट लक्ष्मणलाल कर्ण,नरसिंह चौधरी, बिमलकुमार केडिया, माधवी रानी शाहशैलकुमारी देवी समानुपातिक  सभासद् रहेका छन् । सदभावनाले काठमाडौंमा रहेको पार्टी कार्यालय मधेसमा जारी आन्दोलन सफल नभएसम्मका लागि बन्द गर्दै सम्पर्क कार्यालयमा परिणत गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महतोले मधेसमा छिट्टै केन्द्रीय कार्यालय खोल्ने बताउँनुभयो  । यो आफ्नो पार्टीको मात्रै निर्णय भएको र मधेसी मोर्चाले पनि आवश्यक निर्णय गर्ने उहाँले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा सदभावना संसदीय दलको नेता लक्ष्मणलाल कर्णले संविधानभासमा बस्नुको औचित्य नभएकाले संयुक्त राजीनामा दिएको जानकारी गराउनुभयो । सदभावना पार्टीका निर्वाचित सभासद् संजयकुमार शाह भने यसअघि नै निलम्वित छन् ।

Comments