परासी । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गको बीचमा पर्ने नवलपरासीको कावासोतिमा ‘रिफ्रेसमेन्ट सेन्टर’ स्थापना गर्ने भएको छ । लामो दुरीमा सवारी चलाउने सार्वजनिक यातायातका  चालकका लागि केही समय अनिवार्य रूपमा आराम गर्न स्थायी रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्न लागिएको हो ।

कावासोतिमा २०७१ साल मंसिरदेखि अस्थायी ‘रिफ्रेसमेन्ट सेन्टर’ स्थापना गरिएको थियो ।  त्यही सेन्टरलाई अब स्थायी रूपमा विकास गरिने यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशनालयले जनाएका छन् । ‘कावासोतिमा इलाका प्रहरी कार्यालय छ । कार्यालयकै जग्गामा स्थायी भवन बनाउन लागिएको छ,’ ट्राफिक निर्देशनालयका डीआईजी विजयकुमार भट्टले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले विभागले भवन निर्माण गरिदिने र त्यसको सञ्चालन ट्राफिक प्रहरीले गर्ने बताए । लामो दुरीमा सवारी चलाउदा सार्वजनिक यातायातका सवारी चालकलाई करिब १० देखि १५ मिनेट आराम दिन रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको हो । ट्राफिक प्रहरीले गत वर्षबाटै पूर्वपश्चिम लोकमार्गसहितका केही सडकमा गरि ३७ अस्थायी रिफ्रेसमेन्ट सेन्टर सञ्चालनमा ल्याएको छ ।

Comments