काठमाडौं । नेपाल ओलम्पिक कमिटीको साधारणसभा तथा निर्वाचन स्थगित गरिएको छ । बिहीबार आयोजित साधारणसभामा कार्यविधि नपुगेको भन्दै आगामी एक महिनाभित्र नयाँ नेतृत्वको निर्वाचन गर्ने निर्णय गरिएको हो ।

विवादकाबीच अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीले बिहीबार  गरेको विशेष साधारणसभा तथा नेतृत्वका लागि निर्वाचन, आवद्ध संघहरुबाटै उठेको असन्तुष्टि, अदालतको अन्तरिम आदेश र व्यवस्थापिका संसदको दवावका कारण स्थगित गरिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष ध्र्रुव बहादुर प्रधानले कार्यविधिको अस्पष्टता, कमिटीको काम कारबाही पनि पारदर्शी नदेखिएकाले निर्वाचन तथा साधारणसभालाई साधारणसभामा मात्र रुपान्तरण गरिएको र आगामी एक महिनाभित्र नयाँ नेतृत्वका लागि निर्वाचन हुने जानकारी दिनुभयो ।

ओलम्पिक कमिटीमा आवद्ध २६ मध्ये अखिल नेपाल फुटवल संघ एन्फालाई साधारण सभाको निम्तो विधान अनुसार नभएपछि बिहीबारको निर्वाचन तथा साधारणसभा स्थगित भएको हो । एन्फा महासचिव धिरेन प्रधान ओलम्पिक कमिटीका उपाध्यक्ष हुन । कमिटीका महासचिव तथा अध्यक्षका उम्मेद्वार जीवनराम श्रेष्ठले साधारणसभा तथा निर्वाचन स्थगित गर्न विभिन्न खेल संघले गरेको मागप्रति इ्रगित गर्दै नेपाल ओलम्पिक कमिटीमा २३ वटा ओलम्पिक र ३ वटा ननओलम्पिक खेल संघहरु आवद्ध रहेकाले अन्य खेलसंघहरुले उठाएको विवादको कुनै तुक नरहेको जिकिर गर्नुभयो ।

साधारणसभा तथा निर्वाचनको पर्यवेक्षणका लागि आएका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि हैदर फर्मानले पनि नेपाल सरकारले ओलम्पिक मुभमेन्ट विरुद्ध अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउनु भयो । ओलम्पिक कमिटीको साधारणसभा सुरु हुनु अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई तहको सुरक्षा घेराले ओलम्पिक कमिटीको भवनलाई नियन्त्रणमा लिएको थियो ।

Comments