काठमाडौं । मुलुकमा संविधान निर्माण अभियान समापनको चरणमा पुगिरहेको बेला शीर्ष नेताहरुको दिल्ली म्याराथनले पनि गति पाइरहेको छ ।

गत साता मात्र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्कनुभएको थियो । फेरि एक सातापछि नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा बुधबार भारत जाँदैहुनुहुन्छ । एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि बुधबार नै अकस्मात भारत प्रस्थान गर्नुभएको छ ।

नेता देउवा अपरान्ह चार बजे नयाँदिल्ली प्रस्थान गर्नुहुने कार्यक्रम छ । भारत बसाइको क्रममा उहाँले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

देउवाको भ्रमण राजनीतिक भए पनि पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता खनाल भने स्वास्थ्य उपचारको वाहना बनाएर दिल्ली जानुभएको छ । उहाँ नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको खनाल निकट स्रोतले जनायो ।

गत असोजमा अमेरिकाको मेरिल्यान्डमा उपचार गरेर आएका खनाल फलोअपका लागि दिल्ली जानुभएको हो । उहाँले मेदान्त अस्पतालमा स्वास्थ्य जाँच गर्नुहुनेछ ।

बुधबार बिहान नेपाल एयरलाइन्सबाट दिल्ली प्रस्थान गर्नुभएका खनाल बिहीबार स्वास्थ्य परिक्षण गरी शुक्रबार नेपाल फर्कने कार्यक्रम छ । खनाल पिसाव सम्बन्धि समस्याबाट पीडित हुनुहुन्छ ।

Comments