काठमाडौं । असार १५ को अवसरमा आयोजित रोपाइँ महोत्सवका क्रममा काठमाडौं मूलपानीको धानखेतमा महिलासँग अश्लील हर्कत गरेको अभियोगमा विवादित बनेका कृषि मन्त्री हरि पराजुलीसँग स्पष्टीकरण मागिएको छ ।

मन्त्री पराजुलीले उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष बामदेव गौतमलाई बुधवार अपरान्ह ४ बजे भेटेर करिब २० मिनेट स्पष्टीकरण दिएका हुन् । गृहमन्त्रालय पुगेर दिएको स्पष्टीकरणमा उनले आफूविरुद्ध गलत प्रचार भएको स्पष्टीकरण दिएका थिए ।

गृहमन्त्री गौतमले पराजुलीको हर्कत राम्रो नभएको भन्दै असन्तुष्टि जनाएपछि उनले आफूले केही नगरेको र आयोजक कृषक महिला समूहले नै विज्ञप्ति निकालेर मिडियामा भइरहेको प्रचारको खण्डन गरेको समेत गौतमलाई बताएका थिए ।
पराजुलीको पछिल्लो प्रकरणबारे अध्यक्ष केपी ओलीले पनि असन्तुष्टि जनाएपछि उनको मन्त्री पद धरापमा परेको छ । उनी पाटीभित्र बामदेव गौतम निकटस्थ मानिन्छन् ।

यसैबीच मूलपानीमा मंगलबार रोपाइँ कार्यक्रम आयोजना गरेका मनोहरा मिश्रति कृृषक समाज र महांकाल सफल कृृषक समूहका अध्यक्षद्धय नर्बदा फुयाल र पार्वती चापागाईका नाममा निकालिएको विज्ञप्ति पनि मन्त्री पराजुलीले गृहमन्त्रीलाई देखाएका छन् ।

ती दुबै समूहका अध्यक्षले मन्त्रीलाई आफूहरुले प्रमुख अतिथि बोलाएको र मिडियामा आएजस्तो केही पनि नभएको भन्दै अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् ।

Comments