पछिल्लो साता भूकम्पको पराकम्पन घट्दै गएपछि सर्वसाधारण आश्वस्त भएका थिए । जनजीवन पनि विस्तारै सामान्य बन्दै थियो । यहीबीच साताको अन्तिम दिन शुक्रबार मात्रै ६ पटक पराकम्पन गएपछि सर्वसाधारण फेरि त्रस्त बन्न थालेको छ ।

शुक्रबारको छैटौं बेलुकी ८ बजेर ४४ मिनेटमा दोलखा केन्द्रविन्दु भएको ४ दशमलव १ म्याग्निच्यूटका पराकम्पन गएको थियो । यसअघि बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । अपरान्ह धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । उक्त धक्का यो वर्षकै सबैभन्दा ठूलो भएको पनि केन्द्रले जनाएको छ । त्यसपछि बेलुका ५.१७ बजे दोलखालाई केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो । यसअघि आजै अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो । यस्तै शुक्रवार नै साँझ ७ बजेर ९ मिनेटमा हुम्ला केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्यूटको अर्को ठूलो पराकम्पन गएको थियो ।

साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २५८ परकम्प गएका छन् ।

Comments