-बुद्धि शर्मा

नेपालमा बैशाख १२ मा गएको महाविनासकारी भूकम्पको कारण ठूलो मात्रामा मानविय एवं भौतिक क्षति भएसंगै भूकम्प किन जान्छ ? के कारणले गर्दा नेपाल भूकम्पीय दृष्टिकोणले बढी जोखिमयुक्त छ ? भन्ने प्रश्नहरुमा समेत बहस शुरु थालेको छ । यतिखेर आएर राजनीतिक नेतृत्वले राज्य संचालनमा भएको भयानक गल्तीको महसुस गरिरहेको छ । आखिर कुनैपनि बेला ठूलो भूकम्प जान्छ भन्ने थाहा हुँदा हुँदै पनि वेवास्ता गरिएकोमा नेतृत्व वर्ग यतिखेर आत्मालोचित अवस्थामा छ । आखिर किन जान्छ त नेपालमा भूकम्प ? नेपाल के कारणले उच्च भूकम्पीय जोखममा पर्दछ त ?

पृथ्वीको माथिल्लो भूभाग विभिन्न किसिमका टुक्राहरु मिलेर बनेको छ । त्यसलाई प्लेट भनिन्छ । नेपालसमेत रहेको हिमालयन बेल्टको निर्माण ईन्डियन प्लेट र युरेसियन समेत भनिने तिब्बतीयन प्लेट एकएर्कामा जुधेर बनेको छ । सानो भएको कारण इन्डियन प्लेटले तिब्बतीयन प्लेटलाई धकेल्न सक्दैन । जसको कारण प्रत्येक वर्ष २ सेन्टिमिटरका दरले भित्र धसिने गर्छ । यसरी भित्र धस्सिरहने क्रममा घर्षणले गर्दा प्लेटहरूको परिधिमा शक्ति सञ्चय भइरहेको हुन्छ । प्लेट–प्लेटबीचको परिधिलाई फल्ट वा चिराहरू पनि भनिन्छ । जसमध्ये ९२ वटा सक्रिय फल्टहरू नेपालकै सीमाभित्र पर्छन् । ती मध्ये दुइटा फल्टहरू काठमाडौं उपत्यकाभित्रै छन् ।

इन्डियन प्लेट तिब्बतीयन प्लेटमा धसिइरहेको र अथाह शक्ति सञ्चय भइरहेका कारण हिमालयमूनि नेपालमा शक्तिशाली भूकम्प आउन सक्ने पूर्वअनुमान गर्न सकिन्थ्यो । तर पनि ती शक्तिशाली भूकम्प कहिले र कहाँ आउँछ भनेर तिथि मिति तोक्न सकिन्छ वा सकिन्न भन्ने सम्बन्धमा वैज्ञानिकहरूको दुई धार विद्यमान छ । एक थरीको मत भूकम्पबारे भविष्यवाणी गर्न सकिन्छ भन्ने छ भने अर्र्काे थरी भूकम्पको भविष्यवाणी गर्न सकिन्न, मात्र यसको क्षति न्यूनीकरणसम्बन्धी उचित उपायहरू सोचेर काम गर्नुपर्छ भन्छन् ।
हालसम्मपनि नेपाली विज्ञहरूसँग भूकम्पसम्बन्धी पूर्वअनुमान र तिथिमिति तोक्ने कुनै त्यस्तो बल्यिो वैज्ञानिक आधार तथा संयन्त्र तयार भइसकेका छैन ।

भूकम्प होरिजेन्टल र भर्टिकल वा सतही र गहिराइ दुवै प्रकृतिको हुन सक्छ । सतही भूकम्प पृथ्वीको माथिल्लो तहबाट प्लेटहरूको हलचलले गर्दा हुन्छ । प्लेटहरू टुक्रा–टुक्रामा छुट्टिनु र यसले गति पाउनुमा पृथ्वीको सतहमूनि चिसो र तातो बीचको तापक्रमको फरक र यसकै कारणले बहने ‘कन्भेक्सन करेन्ट’ लाई नै प्रमुख कारण मान्न सकिन्छ । यसैगरी पृथ्वीको गहिराइमा अधिक तापक्रम र दबाबका कारणले चट्टानहरूको स्वरूप परिवर्तन हुने क्रममा हुने असन्तुलनका कारणले पनि भूकम्प जान सक्ने विज्ञहरुको भनाई छ ।
बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पको मुख्य झड्का काठमाडौं र पोखराको बीच भागमा थियो । यो धक्काबाट काठमाडौंभित्रबाट करिब १ सय किमिसम्म चट्टानहरू चिरिएको अनुमान गरिएको छ । राजधानीका कतिपय स्थानमा धाँजासमेत फाटेको छ ।

काठमाडौं उपत्यका करिब १ सय २० किमि लम्बाइ र ६० किमि चौडाइ प्लेटमाथि रहेको र ३० सेकेन्डको मूख्य कम्पनमा यो प्लेट ३ मिटर पर सरेको भन्ने विज्ञहरूको भनाइ छ ।

हालसम्म गएको मुख्य भूकम्प र पराकम्पनहरूको उद्गम स्थानलााई हेर्दा करिब १ सय ७० किमि पूर्व–पश्चिम र ७० किमि उत्तर–दक्षिण क्षेत्रफलमा सीमित गर्दै नेपालको मध्य क्षेत्र हुँदै क्रमशः पूर्वतिर दोलखासम्म पुगेको देखिन्छ ।

भारत, पाकिस्तान, हाइटी आदि देशमा मुख्य भूकम्पपछि गएको पराकम्पनको मापन ठूलो भएको इतिहासले हामीकहाँ पनि ठूलो स्केलको पराकम्पन आउने त होइन ? भनेर सर्वत्र त्रास व्याप्त छ तर पनि हालसम्म गएका धेरैजसो पराकम्पनको उद्गमविन्दु हेर्दा नेपालको मध्य क्षेत्रमा भएको र शक्ति क्षीण हुँदै पूर्वतिर लागेको तथा पूर्व क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएका ठूलो स्केलका पराकम्पन हेर्दा सुरुको भन्दा ठूलो स्केलको भूकम्पको सम्भावना टरिसकेको विज्ञहरुको दावी छ ।

जति ठूलो स्केलमा भूकम्प जान्छ, त्यही हिसाबले चट्टानहरू चिरा पर्ने तथा छुट्टिने प्रक्रिया अघि बढ्ने हुनाले नेपालको मध्य र पूर्र्वी क्षेत्रमा रहेको चट्टानमा बढी नै चिराचिरा परेको अनुमान गर्न सकिन्छ । भूकम्पको विगत र वर्तमान केलाउँदा भूकम्पको पुनरावृत्ति ८१ वर्षभन्दा कम हुने तथा पछि आउने भूकम्पको स्केलसमेत कम हुने अनुमान गरिएको छ ।

काठमाडांै उपत्यका खाल््डोका उत्तर र दक्षिणमा कडा चट्टानहरूबाट बनेका पहाडहरू छन् । भूकम्पीय तरंगहरूले यहाँको जमिन हल्लाउनासाथ ती तरंगहरू यही खाल््डोमा मात्र सीमित हुन गई तरंगको माप झनै ठूलो हुने हुँदा भूकम्पीय दृष्टिले काठमाडौं निकै जोखिमयुक्त रहेको विज्ञहरुको भनाइ छ । काठमाडौं नजिकै रहेको ककनी क्षेत्रसँग तुलना गर्दा भूकम्पीय तरंग त्यहाँको तुलनामा काठमाडौंमा छ गुणासम्म बढी हुने एक अध्ययनले देखाएको छ । भूकम्प जाँदा जमिन हल््िलन पुगी जमिनमुनिको पानी र माटो मिलेर दल्दले माटोमा परिणत हुन्छ र घरहरू पूर्ण तथा आंशिक रूपले भासिने खतरा पनि उत्तिकै हुन जान्छ । यस प्रकारले हेर्दा सिंगो नेपाल, त्यसमा
पनि काठमाडौं खाल््डो भूकम्पीय दृष्टिकोणले अति नै संवेदनशील मानिन्छ ।

भूकम्पकै करणले ठूल््ठूला पहिराहरू पनि जान सक्छन,नदीहरू थुनिन सक्छन, हिमतालहरू फुट्न सक्छन । हिमनदीहरूमा ‘फल््यास फल्ड’ पनि जान सक्छन् र नदी छेउका बस्तीहरू डुबाउन पनि सक्छन । यसपालीको भूकम्पले जमिन नराम्ररी हल््लाएको छ,,जसको कारणले पनि ठूल्ठूला पहिराहरू आउने सम्भावना बढेको छ । त्यसैले पनि संरचनाहरू निमाण गर्ने क्रममा हाम्रो भूगोललाई हेरेर बनाउन सके क्षति न्यूनीकरणमा टेवा पुग्ने विज्ञहरुको सुझाव छ ।

त्यसैले संरचनाहरू निर्माण गर्दा भवन निर्माण निर्देशिकाको पूर्ण पालन गरेर निर्माण स्थलको माटोको परीक्षणसमेत गरी उपर्युक्त नक्सा तथा स्ट्रक्चरल र जियोटेनिकल डिजाइनसमेत गराउनुपर्छ । नरम माटोमा भूकम्पको बढ्दो प्रभाव हुने हुँदा माटोको भार थेग्ने क्षमताको पहिचान गर्न जरुरी हुन्छ । आवश्यकताअनुसार जगको माटो बदल््नसमेत पछि पर्न हुन्न र डिजाइनरले निर्देशन गरेबमोजिमका काममा कत्ति पनि सम्झौता नगरी संरचनाहरू निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

यसपालीको भूकम्पले मुलुकका लागि अबको केही दशकलाई पुग्ने विनाशलीला रचेर गएको छ । यो महाविनाशवाट नेपालको राजनीतिक नेतृत्वको गम्भीर रुपमा चेत खुल्न आवश्यक छ । अवका नीति एवं कार्यान्वयन अगाडि बढाउदा भूकम्प प्रतिरोधलाई मूख्य प्राथमिक विषय बनाइनुपर्नेमा आम नेपालीको मतैक्यता रहेको छ ।

Comments