भूकम्पको प्रकोपबाट बँचेकाहरुको मनले आफू सकुशल हुँदा पनि सुरक्षित महशुस गर्न सकेको छैन । प्रकोपमा ज्यान गुमाउनेहरुको शोकमा रोएको मनमा पीडाको पोको थपिएको छ र थपिदो छ । सुरक्षा प्रदान गर्ने भौतिक संरचनाबाटै उनीहरु पलपल त्रसित बनिरहेका छन् ।

एकीकरण सडक चोक, खुशीवु, काठमाडौंका राजेन्द्रबाबु श्रेष्ठको ससुरालीमा गत वैशाख १२ गते शनिबार सप्ताहव्यापी पुराण शुरु हुन लागेको थियो । विडम्बना, त्यही समयमा भूकम्प आयो र उनले ससुराली र घर पट्टिका १७ जना आफन्त गुमाए । घरले थिचेर पत्नी सहितका आफन्त गुमाएका उनले १३ दिनको काजकिरिया पनि त्रासका विच सम्पन्न गरे । भूकम्पले क्षति नपु¥याएको आफ्नो घरमा भूकम्पको १७ दिन बितिसक्दा पनि उनले सुरक्षित महशुस गर्न सकिरहेका छैनन् । उनलाई पलपल छिमेकी घरहरुले तर्साइरहेका छन् । उनको घर छेउमा ४ तले ५ तले घरहरु रहेका छन् । चर्किएका भित्ता र ढल्न आँटेका ती घरले उनलाई घुरेर हेरेजस्तै लाग्छ । कुन बेला घर ढल्ने हो र बाँचेकालाई बिताउने हो, उनको पीडा सहिनसक्नु छ ।

चोकका ४ घरहरु अत्यन्त जीर्ण भएका छन् । ५ आना जग्गामा साढे तीन तलाको घर बनाउने अनुमति लिएका थिए घरधनीले । तर, अन्यले समेत भवन निर्माण मापदण्ड नमानेको सिको गर्दै उनीहरुले पनि नियम मिचेर घर अग्लाए । कतिपय अवस्थामा निरीक्षणमा आएका सरकारी कर्मचारीकै लोभलालचलाई सघाउँदै तला थप्ने दुष्साहस गरे । अहिले जति अग्लो घर उत्तिकै अग्लोे समस्या सिर्जना भएको छ । चर्किएका घर सरकारले भत्काउनु पर्ने र र राहत दिनुपर्ने उनीहरुको माग छ ।

जीर्ण रहेका ती अग्ला घरले वरपरका अन्य घरलाई धावा बोलिरहेका छन् । नभत्एिका घरका मानिसहरुमा भत्कन लागेका घरको पीडा कम्ती सकसपूर्ण छैन । राज्य पक्षले यस्ता संरचनाहरुमाथि चाँडोभन्दा चाँडो ध्यान दिनुपर्ने पीडितहरुको आग्रह छ । वैशाख १२ गते पछि खुशीवु चोकको जस्तै समस्या अन्यत्रका स्थानीयले पनि व्यहोरेका छन् । भूकम्प प्रभावितलाई राहत तथा उद्धारका कार्य गरिरहँदा यी समस्याका लागि पनि समाधान खोजिनु पर्छ ।

भूकम्पको प्रकोपले मच्चाएको विध्वंशसँगै यी समस्याले पनि महासंकट ननिम्त्याउलान् भन्न सकिन्न ।

Comments