प्रधानमन्त्री सुशील कोइरालाले सडक आन्दोलनमा रहेका विपक्षी दललाई वार्तामा आउन पुनः आह्वान गर्नुभएको छ ।

हिजो वक्तव्य जारी गर्दै प्रधानमन्त्री कोइरालाले सहमतिकै आधारमा संविधान निर्माणका लागि दलहरुलाई आग्रह गर्नुभएको हो । एक वर्षभित्र संविधान जारी गर्न सरकारले गरेको अनेकौं प्रयासका बाबजुत सफल हुन नसकिएको भन्दै उहाँले सहमतिका आधारमा संविधान बनाउन एकीकृत माओवादी तथा मधेस केन्द्रित दलहरुलाई आन्दोलन छाडेर संविधानका सहमति हुन बाँकी बुँदाहरुमा सहमति खोज्न वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणलाई गति दिन आफूसहित सत्ताधारी दल पूर्ण प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ ।

यता प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले भने वार्ताका लागि प्रधानमन्त्रीले गरेको आह्वानको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ । उसले प्रधानमन्त्रीको आह्वान दुई अर्थ लाग्ने र अमुर्त भएको बताएको छ । एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले माघ ११ को बहुमतीय प्रक्रिया औपचारिक रुपमा खारेज नगरेसम्म विश्वासको वातावरण नबन्ने बताउनुभएको हो ।

Comments