अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी एकदिवशीय बिश्वकप क्रिकेटका लागि भारतीय टिममा नअटाएका युवराज सिंहलाई इण्डियन प्रिमियर लिग आइपिएल क्लबले भने किर्तिमानी रकममा खरिद गरेको छ । अलराउण्डर युवराजलाई दिल्ली डेयर डेभिल्सले १६ करोड भारतीय रुपैयामा खरिद गरेको हो ।

दिल्ली डेयर डेविल्सले १६ करोडमा किने संगै युवराज आइपिएलको इतिहासकै सबैभन्दा महंगो खेलाडी बनेका छन् । युवराजलाई खरिद गर्न दिल्ली डेयर डेविल्स र रोयल च्यालेञ्र्जस बैङलोरबीच कडा प्रतिस्पर्धा चलेको थियो । गत बर्ष बैङलोरले युवराजलाई १४ करोडमा खरिद गरेको थियो । लामो समय देखि राष्ट्रिय टिममा नरहेका युवराजको मूल्यलाई लिएर केही बिश्लेषकहरुले प्रश्न समेत उठाएका छन् । सन् २०११ को बिश्वकप भारतले जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवराजलाई किन्न सुरुवातमा दिल्ली र बैङलोरको टिम सहित किंङस इलाभेन पंजाव र राजस्थान रोयल्सले पनि बोली लगाएका थिए । तर युवराजको लिलामी रकम ७ करोड पुगेपछि राजस्थान र पंजाबको टिम पछि हटेका थिए ।

८ फ्रेन्चाइजीले सहभागीता जनाएको लिलामीको संचालन इङल्याण्डका ब्यबसायिक लिलामीकर्ता रिचर्ड मेड्लीले गरेका थिए । युवराजसंगै दिल्लीको टिमले श्रीलङकाका कप्तान तथा अलराउण्डर एंजेलो म्याथ्युजलाई ७ करोड ५० लाखमा खरिद गरेको छ ।

यो रकम लिलामीको पहिलो दिनको तेस्रो सर्बाधिक रकम हो । बैङलोरको टिमले दिनेश कार्तिकलाई दश करोड ५० लाखमा खरिद गरेको छ । अघिल्लो बर्ष ९ करोडमा दिल्लीमा बिकेका इङल्याण्डका पूर्व कप्तान केविन पिटरसन यसपटक मात्र २ करोडमा हैदराबादको टिम सनराइर्जसमा बिके । कुमार संगाकारा, दक्षिण अफ्रिकाका हासिम अमला र इरफान पठान जस्ता खेलाडीको भने बोली लागेन ।

यसपटक प्रत्येक फ्रेन्चाइजीले लिलामीको समयमा ६३ करोड सम्म खर्च गर्न छुट दिइएको छ । यो रकम गत बर्ष भन्दा ५ प्रतिशतले बढी हो । आइपिएलको आठौं संस्करण ८ अप्रिल देखी सुरु हुदैछ ।

Comments