विश्वभर भएको ‘जिहादी हिंसा’मा परी पछिल्लो एक महिनामा प्रतिघन्टा ७ जना व्यक्तिको मृत्यु भएको एक तथ्यांकले देखाएको छ ।

‘बीबीसी’ले संकलन गरेको तथ्यांकअनुसार गएको नोभेम्बर महिनामा विश्वभर भएका जिहादी हिंसामा परी ५ हजार ४२ जनाको मृत्यु भएको छ । यसमा ८० प्रतिशत घटना विश्वका चार मुलुकमा मात्रै भएका छन् । नोभेम्बर महिनामा जिहादीहरुले ६ सय ६४ आक्रमण गरेको र प्रत्येक दिन १ सय ६८ जना मारिएका थिए ।  ‘न्यूज रिपोर्ट’ र नागरिक समाजबाट प्राप्त खबरअनुसार इराक, नाइजेरिया, सिरिया र अफगानिस्तानमा सबैभन्दा बढी जिहादी हिंसामा मानिसहरु मारिएका छन् । इराक जिहादी हिंसाबाट सबैभन्दा खतरानाक मुलुकको रुपमा देखिएको छ । इराकमा भएको २ सय ३३ आक्रमणमा १७ सय ७० व्यक्ति मारिएका छन् ।

नाइजेरियामा ७ सय ८६ व्यक्ति मारिएका छन् । त्यहाँ बोको हरामले २७ आक्रमण गरेको छ । यस्तै, पूर्वी अफ्रिकामा अल शबाबले सोमालिया र केन्यामा गरेको आक्रमणबाट २ सय ६६ व्यक्ति मारिएका छन्  ।

Comments