निश्चल बस्नेत ब्ल्क बस्टर नेपाली चलचित्र लुटका युवा निर्देशक हुन् । उनै बस्नेत अहिले फेरि अर्को सफल चलचित्र टलकजंग भर्सेस टुल्के लिएर दर्शक माझ आएको छ । नेपालमा प्रदर्शन भएर पनि झण्डै २ करोड रुपैयाँको व्यापार गरिसकेको टलकजंग भर्सेस टुल्के अर्को आइतवार अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुँदैछ । अष्ट्रेलियासँग निर्देशक निश्चलको केही सेन्टीमेन्ट्स जोडिएका छन् । किनभने उनी निर्देशक बन्नुमा अष्ट्रेलियाको पनि प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको उनी बताउँछन् ।

गायक बन्ने र एल्बम निकाल्ने आफ्नो सपना र सानै उमेरमा शुरु गरिएको कम्प्युटर गेम सेन्टरको विजनेशमा फेल भएपछि निश्चल बस्नेतले रक्सीको सहारा लिए । त्यसैले नेपालमै बसे छोरा अझ विग्रने चिन्ताले उनका बाबु आमाले अध्ययनका लागि निश्चललाई अष्ट्रेलिया पठाइदिए ।

अष्ट्रेलियामा हस्पिटालिटी म्यानेजमेन्ट पढ्दै गरेका निश्चललाई यहाँ पनि दुखले साथ छोडेन । दुई वर्षको कोर्ष सकिन चार महिना मात्र बाँकी हुँदा उनी अध्ययन गरिरहेको कलेज अवैधानिक ठहरियो र बन्द भयो । उनी भन्छन्–नेपाल फर्किहाल्ने स्थिति थिएन । त्यसैले खर्च धान्नका लागि अष्ट्रेलियामा होटल क्लिनर अर्थात ट्वाइलेट सफा गर्ने र भाँडा माझ्ने काम पनि गरियो ।

यसैबीचमा उनी विरामी भए र ६ महिनासम्म सुतेरै दिन विताउँनुपर्ने स्थिति आयो । त्यही समय उनका लागि जिन्दगीको टर्निङ प्वाइन्ट भयो । त्यो फुर्सदको समयलाई उनले दिनभरि चलचित्र हेरेर सदुपयोग गर्न थाले । चलचित्र हेर्दा हेर्दा उनको मनमा बढाएको चलचित्रको चस्कालाई उनले १० डलर तिरेर नेटबाट डाउनलोड गरि भूषण दाहाल निर्देशित कागबेनी चलचित्र हेरेपछि अझ बढायो । त्यही वेलाबाट निश्चलले पनि अठोट गरे म पनि यस्तै यथार्थपरक र खाँटी नेपालीपनको चलचित्र बनाउँछु भनेर । त्यही अठोटलाई पछ्याउँदै उनी अगाडि बढे र लुट हुँदै टलकजंगसम्म आइपुग्दा कालो मोती बनेर चम्किन सफल भए ।

Comments

comments