नेपाली गायनमा विशिष्ट स्थान बनाएका अद्वितीय स्वरका धनी स्वर सम्राट नारायणगोपाल गुर्वाचार्यको २४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

काठमाडौंको किलागलमा जन्मिनुभएका नारायणगोपालको विसं ०४७ मंसिर १९ गते निधन भएको थियो । उहाँको सुमधुर गीत–संगीतले लोकप्रियताको कीर्तिमान स्थापित गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा नितान्त मौलिक स्वर र विशेष रागात्मक पहिचान बनाएर स्वरसम्राटको जनउपाधि पाउन सफल नारायणगोपालको समकक्षमा आजसम्म अन्य कुनै गायक पुग्न सकेका छैनन् । करीब २ हजार गीत गाउनुभएका उहाँका सबै गीतहरु स्रोता र दर्शकबीच लोकप्रिय बन्न सफल भएका छन् ।

ए कान्छा ठट्टैमा यो बैंश जान थाल्यो ,प्रेयसीका यादहरू,मन्दिरमा छ कि मूर्तिमा माया,मलाई छोडी मेरो छायाँ कतै गएछ‘,पर्खी बसेँ आउला भनी,एउटा मान्छेको मायाले,मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता अनगिन्ति गीत गाएर नेपाली स्रोता र दर्शकको मनमा युगौं युगका लागि नारायणगोपाल अमर बन्न सफल भएका छन् ।

२४ औं स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले आज स्वर्गीय नारायणगोपालकै महाराजगञ्जस्थित घरमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा उहाँको प्रतिमामा माल्यार्पण गरिदैछ ।

Comments

comments