–दीपेन्द्र दोङ तामाङ ।

अष्ट्रेलियन क्रिकेट टिमका सदस्य फिलिप ह्युजको बुधबार अन्त्येष्टि गरिएको छ । बाउन्सर बलले लागेर गम्भीर घाइते भएका फिलिपको गत बिहीबार सिड्नीमा निधन भएको थियो । फिलिपको, सिड्नी र ब्रिसबेनको बीचमा रहेको उनको गृह नगर मेक्सभिलमा अन्त्येष्टि गरिएको हो ।

फिलिपलाई अन्तिम बिदाइ गर्न हजारौ मानिस उपस्थित भएका थिए । उनको बिदाइको समयमा मेक्सभिल हाइस्कुलको स्पोर्टस हलमा उपस्थित सबै मानिसको आंखा रसाएको थियो । फिलिपको बिदाइमा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एब्बट उनका टिमका सहयात्रीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी अष्ट्रेलियाका पुर्व खेलाडी सेन वार्न, रिकी पोन्टिङ, एडम गिलक्रिस्ट, ग्लेन म्याकग्रेथ, भारतीय ब्याट्सम्यान बिराट कोहली, रोहित शर्मा रवि शास्त्री लगायत वेस्ट इन्डिजका पुर्व खेलाडी ब्रायन लारा, न्युजिल्याण्डका अल राउण्डर सर रिर्चड पनि फिलिपको अन्तिम बिदाइमा सहभागी थिए । फिलिप अस्ट्रेलियाको घरेलु प्रतियोगिता शेफिल्ड शिल्ड खेल्ने क्रममा सियन एब्बटको बाउन्सर बलले घांटीको माथिल्लो भागमा लागेपछि गम्भीर घाइते भएका थिए । फिलिप दक्षिण अष्ट्रेलियको प्रतिनिधित्व गर्दै न्यु साउथ वेल्स बिरुद्ध खेलिरहेका थिए । बलले लागेपछि मैदानमानै ढलेका फिलिपको कोमामा गएको २ दिनपछि निधन भएको थियो ।

सारा बिश्वलाईनै रुवाएका फिलिपको अन्तिम संस्कारमा दक्षिण अस्ट्रेलियाका टिमका सहयात्री, न्यु साउथ वेल्सका खेलाडी र स्वयम एब्बट पनि सहभागी भए । फिलिपको बिदाइ समारोह निकै भावुक बनेको थियो । मर्मस्पर्शी श्रद्धान्जलि पढेर सुनाउदा उपस्थित सबैले आंशु रोक्न सकेनन् । अस्ट्रेलियाका कप्तान माइकल क्लार्क फेरि एक पटक भावविह्ल बने । फिलिपलाई अन्तिम श्रद्धान्जलि दिने क्रममा क्लार्कले फिलिप अझै आफुसंगै भएको महसुस हुने गरेको बताए । फिलिपको खेल भावना सधै टिमसंग रहने र यसले खेललाई अझ सुदृढ बनाउने कप्तान क्लार्कको भनाइ थियो ।

फिलिपको खेल भावना अब सधै खेलको एक महत्वुपर्ण हिस्सा हुने भन्दै कप्तान क्लार्कले फिलिप प्रति श्रद्धान्जलि ब्यक्त गरे । क्लार्कले फिलिपको कफिन पनि बोकेका थिए । अष्ट्रेलिया क्रिकेट बोर्डका प्रमुख जेम्स सदरलेण्डले टेष्ट खेल्ने ४ सय ८ औं खेलाडी बन्ने यात्रा सम्म फिलिपको भुमिका सदैव प्रेरणादायी रहेको उल्लेख गरे । फिलिपको अन्तिम संस्कारको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो भने बिभिन्न शरहमा स्क्रिन राखिएको थियो । फिलिपलाई चोट लागेको सिड्नी क्रिकेट मैदानमा पनि स्क्रिन मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिवटर मार्फत फिलिपलाई श्रद्धान्जलि ब्यक्त गरेका छन ।

Please follow and like us:

Comments