नेपालीहरुका लागि सपनाको देश बनेको अमेरिका आइपुग्ने नेपालीहरुको संख्या निक्कै वृद्धि हुन थालेको छ ।डीभी लोटरीबाट अमेरिका बसाइसराइको प्रक्रियाअन्तर्गत आउनेहरुको संख्या सन् १९९६ देखि बढेर गएको हो । आजभोलि डीभी लोटरी पारेर आउने नेपालीहरुको संख्या जतिजति बढ्दै गएको छ त्यति नै नेपालबाट अमेरिका आइपुगुन्जेलसम्म धेरैले आर्थिकदेखि मानसिक पीडा भोग्नुपरेको घटनाहरु पाइन थालेका छन् ।

त्यसको मुख्य कारण अमेरिका आएपछि पैसा कमाएर जिन्दगी बदलिहाल्छ भन्ने मानसिकता धेरैमा देखा परेको अधिवक्ता माधवी बस्नेत कार्की बताउनुहुन्छ ।

तर जीन्दगी अमेरिकामा त्यति सजिलो कहाँ छ र – तपाई नयाँ देश नयाँ ठाउमा तपाईले धेरै मेहनत गर्नुपर्छ । त्यसका लागि बुद्धि पुर्याएर धैर्यताका साथ काम गर्नुपर्छ अप्ठेरो अवश्य छैन ।

लामो सयमदेखि अमेरिकामै कानुनी तथा प्राध्यापन पेशामा रहँदै आउनुभएकी माधवी बस्नेत कार्की भन्नुहुन्छहामी नेपालीहरु जो अमेरिका आइपुगेका छौंनेपाल जस्तो गरिब मुलुकमा पनि एककिसिमको सजिलो जिन्दगी बिताउने बानी परिसकेका छौं । हामी आफ्नो जीन्दगीलाई सजिलो लिन्छौं यो नै हामी नेपालीहरुको कमजोरी होअधिवक्ता थप्नुहुन्छअर्को कुरा हामीमा अरुमाथि धेरै छिटो विश्वास गर्ने बानी छ त्यसले गर्दा पनि हामीले ठाउँ ठाउँमा दुःख पाइरहेका हुन्छौं ।

त्यही अर्को माथि विश्वास राख्ने भएपछि डीभी परेपछि नेपाली नेपालमा ठगिन थाल्छ । आफ्नो आर्थिकस्तर दरो नभएका आर्थिक स्थिति दरो भएकाहरु पनि जानि नजानि डीभी लोटरीका बारेमा सामान्य ज्ञानको समेत जानकारी नराख्नाले डीभी लोटरीका सल्लाहाकारका रुपमा नेपालको राजधानीमा बोर्ड झुण्डाएर बसेका तथाकथित बुज्रुकहरुमाफ्त उनीहरुको ठगिने क्रम शुरु हुन्छ ।

डीभी लोटरीका बारेमा अमेरिकी राजदूताबासले पटक पटक जानकारीका लागि अन्यत्र जानु नपर्ने सिधै दूताबासमा सम्पर्क गर्न आउनु भन्दा भन्दै पनि परेको डीभी लोटरी पनि पुनः दूताबासले रद्द पो गरिदिने हो कि भनी उनीहरु दूताबास जान छाडेर बोर्ड झुण्डाएर बसेका दलालहरुकैमा धाउने परम्परा नै बनिसकेको छ ।

सायद त्यसैका कारणले नेपालमा डीभी पीडितहरुले समेत राजनीतिक दलहरुकै जस्तो विरोध प्रदर्शन र बाटोमा टायर बालेर भोक हड्ताल बसेर विरोध जनाएको समाचार आयो । यो समस्याको जड अरु कोही नभएर डीभी पर्नेहरु आफैंले गर्दा समस्या उब्जेको हो भन्दा डिभि पीडितहरुलाई लेखाइले त बिझ्ला तर यथार्ता त्यही नै हो ।

धेरै नेपालीहरु हल्लाको पछाडि दौडन सिपालु छौं । त्यसैगरी नक्कली कागज बनाउने दलालहरु नेपालमा छ्याप्छ्याप्ती पसल थापेरै बसेका छन् तिनीहरुलाई कारवाही गर्ने कुनै निकाय छैन । पैसा कमाउनका लागि जति पैसा पनि खर्च गर्न तयार रहेर बसेका नेपालीहरुका कारण तपाईहामीले डीभी पीडित हुनुपरिरहेको छ । हामी नेपालीहरु गरिब पनि छौं तर खै कसरी हो दलाललाई भने जति पैसा दिन पनि हामीसित पैसा छ र हामी त्यो रकम दिन तयार छौं ।

डीभी लोटरी श्रीमान् श्रीमतीमध्ये कसैलाई परेको छ भने र तिनीहरुका २१ वर्षभन्दा कम उमेरका छोराछोरी भए उनीहरुलाई अमेरिक कानुनी रुपमा आउन सक्ने प्रावधान रहेको हुन्छ जुन कुरा डीभी लोटरी भर्दा नै ख्याल गरेर भरेको हुनुपर्ने हो तर यति हुँदाहुँदै पनि सबै परिवारलाई लिएर गएमा म आफूलाई नै अमेरिकी दूताबासले जान पोनदिने हो कि बरु म एक्लै अमेरिका पुगें भने त एक दुइ वर्ष भित्रै अमेरिका बोलाइ हाल्छु नि भन्ने आफ्ना मनगढन्ते कुराका कारण कतिपयले आफ्नो परिवारलाई पाँच छ वर्षसम्म नेपालमा एक्लै छाड्नुपरेको पाइएको छ ।

त्यसरी आउने नेपालीले आफ्नो परिवार बोलाउनका लागि पाँच वर्षपछि अमेरिकाको नागरिक बन्नुपर्यो अनि एकादवर्षपछि उसका परिवार अमेरिका आउन पाउने अवस्था हुन्छ होइन भने त्यो नेपालीले आफ्ना परिवारलाई एकाद वर्ष दुइ तीन वर्षमा नेपाल जाँदै भेट्दै गर्नु सिवाय अरु कानुनी प्रक्रियाबाट आउन सक्ने स्थिति हुँदैन ।

यी कुराको जानकारी नहुनाले आज अमेरिका डीभी परेर आइपुगेका कयौं नेपाली परिवारको विछोड भइरहेको छ । अर्को कुरा डीभी लोटरी भर्दा नै हामी पूरा जानकारी नै नलिइ भरिदिन्छौं ।

डीभी पर्ने कि नपर्ने हो भनी हामी परिवारका सबै सदस्यप्रति त्यति चासो राखेर डीभी नभरेका कारण धेरै दुख पाएका घटनाहरु छन् । विवाहितले आफ्नै श्रीमतीको नाम वा श्रीमानको नामबच्चाहरुको नाम राख्न चुकेका र आफ्नो जानकारी समेत गलत दिएको अवस्थामा दूताबासमा रकम बुझाएपछि त्यो रकम फिर्ता नभएका घटना छन् ।

त्यतिमात्र हैन नेपालीहरुका कथाहरु फरक छन्एउटी आफ्नो संभावित विवाहको केटो कसै गरी अमेरिका आइपुगेको थियो तर उसले आफ्नी हुनेवाली श्रीमतीलाई ल्याउन सकिरहेको थिएन । सुनसरी घर भएका तीन छोराछोरीका बाउलाई डीभी पर्यो त्यो कुरा आफ्नो हुनेवाला पतिदेव अमेरिकामा हुने र उ पनि अमेरिका जसैगरी आउन आतुर थिई त्यो युवतीले थाहापाई डीभी परेका पुरुषको आर्थिकस्थिति कमजोरीको फाइदा ती महिलाले उठाइन् र सम्पूर्ण विवाहको कागजात तयार गरेर उनी ती पुरुषलाई समेत खर्च वर्च हालेर अमेरिका आइन् । अमेरिका आएपछि उनी आफ्नो हुनेवाल पतिसँग गइन् ।

विगत पाँच वर्ष भयो अब ती साथमा विवाह गरेर आउने पुरुषभने अमेरिका आएर न ती महिलासित सम्बन्द विच्छद नै गर्न पाएका छन् नत आफ्नी नेपालमा भएकी श्रीमती छोरा छोरी नै अमेरिका ल्याउन पाउँने अवस्थामा छन् । सुनिन्छ ती महिला सम्बन्ध विच्छेद गरौं भन्दा अब तिनै पुरुषसँग चार पाँच हजार डलरको बार्गेनिङ गर्न थालेकि छिन् रे ।

यसको प्रमुख कारण सही सल्लाहा र सुझाव दिन सक्नेको कमी भएर पनि हो । नेपालीहरुको आफ्नो आर्थिक स्थित कमजोर हुनका कारणले आफूले साथमा ल्याउन पाउने परिवारलाई समेत नेपालमा छाडेर केही टाठा बाठा पैसावालहरुले भने एकले अर्काको नक्कली श्रीमती वा नक्कली श्रीमान् भएर आउनेको बाटा खर्च समेत हालिदिएर अमेरिका आएका नेपालीहरु पनि भेटिएका छन् । त्यति मात्र हैन काखको बच्चा समेत छाडेर परदेशको ठाउँमा कसरीहुर्काउने भनेर आफ्ना काखे छोराछोरीलाई नेपालमै छाडेर आउने नेपाली आमाबाउहरु पनि प्रशस्तै भेटिन थालेका छन् ।

त्यसो त नेपालमा डीभी लोटरी पर्नुभनेको अमेरिकामा आएपछि अमेरिकी सरकारले नै सबै काम बसोबास खोजिदिन्छ भन्ने हल्लाको विश्वासमासमेत कतिपयहरु परेका पाइन्छन् । यथार्ता नितान्त फरक छ ।

जसलाई अमेरिकाका लागि डीभी लोटरी पर्यो त्यो व्यक्तिले आफूले डीभी भरेको पसलमा गएर दलाललाई सोधि खोजी गर्नुको साटो सिधै सम्बन्धित दूताबासमा गएमा दूताबासले सम्पूर्ण जानकारी गराउँछ ।

डीभी परेपछि सम्बन्धित दूताबासले खोजेको कागजपत्र दिनुभयो र डीभीको दायराभित्र पर्न सक्नुभयो भने तपाई अमेरिका आउनुहुन्छ । अमेरिका आएर पनि तपाईका लागि केही महिना त्यति सहज नहुन सक्छ भन्ने कुरालाई आत्मसाथ गर्नुभयो भने तपाईको भलो हुन्छ ।

जसलाई अमेरिकी डीभी पर्यो र त्यसलाई अमेरिकामा स्थापित हुन झण्डै छ सात महिना लाग्छ । त्यो पनि डीभी परेकाहरुका कोही आफन्तहरु अमेरिकामा छन् र तिनीहरुले राम्रो सहयोग गरेका खण्डमा नत्र त्यो नयाँ आउने व्यक्तिले आफू एक्लैले अमेरिकामा गएर स्थापित हुन निकै हम्मेहम्मे नै पर्छ ।

सायद त्यही भएर अमेरिकी राजदूताबासले अमेरिकाको स्वागत पत्र कुनै आफन्त वा चिनेजानेको व्यक्तिमाफ्त खोजिरहेको हुन्छ ।

तपाई अमेरिका आएको तीन दिनपछिदेखि काम गर्छु र कमाउन थाल्छु भन्ने सोसाइ नराख्नुहोला । यहाँ आइपुगेपछि पनि तपाईका लागि सरकारी केही प्रक्रियाहरु पुरा गर्नुपर्छ जुन प्रक्रिया पूरा गर्न झण्डै दुइ सातादेखि एक महिनासम्म लाग्छ । त्यो के हो भने अमेरिकामा काम गर्नका लागि सोसल सेक्युरिटी कार्ड चाहिन्छ जुन कार्डका लागि निवेदन दिएको आआफ्नो राज्य हेरेर हुन्छ दुइ सातादेखि एक महिनासम्म पनि लाग्न सक्छ । त्यसपछि मात्र तपाई अमेरिका कुनै पनि कम्पनीमा काम गर्नका लागि योग्य मानिनुहुन्छ ।

तपाई काम खोज्नका लागि योग्यमात्र हुनुभएको छ काम दिने नदिने कम्पनीहरुको आफ्नो कुरा हो ।

अब आयो कामको कुरोनेपालमा तपाईं सायद कोही कलेजमा पढाउनुहुन्थ्यो होलाया सरकारी जागिरे हुनुहुथ्यो होला या आफ्नै कुनै वन्दव्यापार गर्नुहुन्थ्यो या कहिले पनि काम नगरेर घरमा आमाको होटलमा खान खाने अनि बाबुको लजमा सुत्ने दिनभर राजनीतिक गफ जोत्दै हिड्नुहुन्थ्यो होला भने त्यसका लागि पनि अमेरिका सहज छैन ।

काम केही ढिलो छिटो हो तपाईका आफन्तहरु नजिकमा हुनुहुन्छ भने उहाँहरुका माध्यमबाट कतै न कतै काम पाउनुहुन्छ । त्यो काम भनेको पेट्रोलपम्प -ग्याँस स्टेशन)सेभेनइलेभेन खुद्रापसलडंकिन डोनटफास्टफुड यस्तै यस्तैमा अगाडि आएका नेपालीहरुले जेजस्तो काम पाएका छन् तिनीहरुले गरेको स्टोरमा भनसुनका आधारमा तपाईले काम पाउनुहुन्छ । तपाई अत्यन्त अलग संसारबाट अमेरिका आउनुभएको छ यसैले काम सिक्नेसामान्य भाषाको अनुमान लगाउँदै विस्तारै विस्तारै काम सिक्नुपर्ने हुन्छ । तपाईलाई एक साता या दश दिनसम्म कामको तालिम दिदैन दुइ तीनदिनभित्रमा तपाईले पसलको रजिष्टर चलाउनेदेखि पसलको सरसफाइबडारकुँडार सबै आफैंले गर्नुपर्ने हुन्छ ।

तपाईले त्यतिखेर म नेपालमा यस्तो थिएँ यहाँ म कसरी झाडुबडारु गरौं भन्नुभयो भने तपाईले त्यहाँ पाएको काम पनि भोलिदेखि कामका लागि नआउनुभए हुन्छ भनेर मेनेजरले भनिदिन्छ ।

होइन नेपालदेखि नै कामको सम्मान गर्न जान्नुभएको छ भने काम जेजस्तो भेटिन्छ तपाईले गर्नुहुन्छ आफ्नो मिहिनेत गर्दै जानुभयो र आफ्नो क्षमतामा वृद्धि गर्नुभयो भने अन्यत्र ठूलाठूला स्टोरहरुमा काम पाउन सक्नुहुन्छ । ठूला स्टोरहरुमा काम पाउनुभयो भने कम्पनीका प्रचलित विदाहरुबोनसस्वास्थ्य बिमाका लागि पनि कम्पनी हेरेर एक महिनादेखि ९० दिनभित्रमा ती सुविधाहरु प्ाउन सक्नुहुन्छ ।

कतिपय राज्यमा तपाईंको राम्रो योग्यता छ भने स्थानीय नगरक्षेत्र -काउन्टी) मार्फत समेत तपाईलाई आफ्नो बायोडाटा बनाउन सिकाउनेदेखि लिएर काम खोज्ने तरिका समेत तपाईलाई सिकाइदिन्छ ।

तर त्यसका लागि धैर्य र लगनशील अनि आफूमा आत्मविश्वास चाहिन्छ ।

कतिपय अवस्थामा अमेरिकामा पनि नेपालमा जस्तै कुनै कम्पनी या स्टोरमा काम गर्नका लागि चिनेजानेको व्यक्ति छ भने भनसुनका आधारमा अलि छिटो काम पाइने कुरा पक्का हो । नेपाल अति नै सानो देश हो र हामी नेपालीले धेरै कुरा देखेका भोगका छैनौ । हामी पक्कै पनि संसारमा भर मिहिनेती जातिमा चिनिन्छौ । आफ्नो मानसिकता परिवर्तन गर्नुजरुरी छ । म परिश्रम गर्न सक्छु भन्ने मानसिकता लिएर आउनुभयो भने राम्रो हुन्छ । राता रात केही पनि हुन्न । परिश्रम गर्नेका लागि अमेरिका स्वगर् छ भन्दा अन्यथा नहोला ।

ए साँची तपाई आफ्नो डेराडण्डा उठाएर नेपालबाट आउँदै हुनुहुन्छ । ख्याल गर्नुहोला नि तपाई आउँदा चाहिने अति आवश्यक सामानहरु साथमा ल्याउनुहोला आउना साथ यहाँ तपाईलाई डलरको भाउ नेपालीमा रुपान्तरण गर्न थाल्नुभयो भने तपाई अमेरिकामा भोकै पर्नुहुन्छ नि 

तपाईहरु साथीभाइ आफन्तकोमा आइपुग्नुभएको भए अमेरिकामा फूर्सद निकाल्न निक्कै कठिन हुन्छ यसैले आएको झण्डै तीन सातादेखि एक महिनासम्म तपाईका लागि निक्कै फुर्सदिलो समय हुनजान्छ ।

बस्नका लागि आफ्नै नाममा तपाईले कोठा पाउन सक्नुहुन्न । यहाँका हाउजिङ कम्पनीहरुले घर भाडामा दिनका लागि सम्बन्धित व्यक्तिको आम्दानी हेरेरमात्र त्यसले महिनाको भाडातिर्न सक्छ कि सक्दैनकतै आर्थिक अपचलन गरेर आर्थिक विग्रिएको व्यक्ति पो हो कि भनेर सोधि खोजी अर्थात् यहाँ त्यसलाई सम्बन्धित व्यक्तिको क्रेडिट चेकगर्ने भन्छ । जुन यहाँका मानिसहरुको सोसल सेक्युरिटी माफ्त् सबै विवरण उनीहरुले हेर्न सक्छन् । यसैले तपाईं नयाँ आउनुभएको हुन्छ तपाईको कुनै जानकारी नभेटेपछि बस्ने ठाउँ पनि उनीहरुले दिदैनन् । यसैले अब काम पाउनुभन्दा पहिले दुःख जेलो गरेर अलि दिन नजिकका नातेदार वा साथीहरुसँगै बस्नुपर्ने वाध्यता हुन्छ । वा ती पहिले नै आएका साथीहरुले तपाईलाई कतै डेरा डण्डा उसले आफ्नै नाममा लिएर हुन्छ कि कसैगरी राखिदिन्छन् ।

तपाई जाडो महिनामा अमेरिका आउँदै हुनुहुन्छ भने जाडोमा लगाउने दरो ज्याकेट बोकेर आउनुहुनेछ । आफूलाई चाहिने लुगाफाटा भरसक एक वर्ष सात आठ महिनालाई पुग्ने बोकेर आउनुभएकै राम्रो ।

खाने कुराको हकमा नेपालदेखि दाल चामल गुन्द्रुक बोक्ने झन्झट नगर्नुहोला । यदि केही कथम् तपाई अमेरिका उत्रिसकेपछि एयरपोर्टको भन्सारमा तपाईका खाद्य सामग्री अमेरिकी भन्सारका अधिकृतहरुले भेटे भने सबै फ्याँकिदिने पक्का छ ।

तीन चार जनाको परिवारै आउँदै हुनुहुन्छ सामानको वजन धेरै छैन भने घरमा तत्काललाई चाहिने केही भाँडाकुँडा किनेर हाल्नुभए हुन्छ अनि सुत्नका लागि तन्दा र ब्लयाँककेट भने नबिर्सी ल्याउनुहुनेछ ।

ए तपाईलाई डीभी पर्यो र जाने निश्चित भएपछि तपाईले गाडी भने नेपालमा पनि सिक्नुभयो भने यहाँ आएपछि त्यो काम लाग्छ । गाडी अमेरिकाका कतिपय सहरहरुमा नभइ नहुने साधन हुन् ।

विशेष विशेष गरेर न्युयोर्कभन्दा अन्य राज्यहरुमा आउनुहुन्छ भने ढिलो छिटो तपाईलाई गाडी चाहिन्छ चाहिन्छ र तपाईले किन्नै पर्ने हुन्छ यसर्थ गाडी कुदाउने प्रयास नेपालमै गरेर आउनुभयो भने अति उत्तम हुन्छ ।

्अर्को कुरो अमेरिकामा जाने गाडी सिक्ने मात्र होइन मेरो त आफन्त नै ड्राइभर लाइसेन्स दिने ठाउँमा मान्छे छ नि नत्र आठ दश हजार दियो भने फलानाले लाइसेन्स बनाइदिइहाल्छ भनेर त्यसरी ड्राइभर चालक कार्ड हातपार्ने चक्करमा भने भुलेर पनि नलाग्नुहोला नि । तपाई सिक्नुहोस् गाडी चलाउन जान्ने भएर आउनुहोस् त्यसैमा तपाईंकाकल्याण छ ।

यहाँ आएपछि सामान्य कुरामा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । बाटो काट्नेकुनै भीडभाडमा पुग्नुभयो भने त्यहाँ नेपालमा जस्तो एकापसमा ठेलमठेल गरेर वा अरु कसैलाई धक्का लगाएर हिड्नु होला । त्यसो गर्नुभयो भने तपाईले मुद्दा खेप्नुपर्ने पनि हुन सक्छ ।

त्यस्तै बाटो काट्दा विचार पुर्याएर काट्नुहोला यदी जथाभावी बाटो काट्नुभयो भने तपाईलाई प्रहरीले पूर्जी थमाइदिन पनि सक्छ ।

हामी त्यही गरिब मुलुकका मानिस हौं । हामीले जतिसुकै सुख र सुविधा देखेका भएपनि हाम्रो लागि विकसित मुलुकहरुका हरेक ससाना कुराका बारेमा थाहा हुँदैन त्यसैले आफूले थाहा नपाएको कुराहरुलाई तपाईले पहिले आइसकेकाहरुलाई सोद्धा विग्रिदैन ।

त्यसो त कतिपय पहिले पहिले आएर बसेका नेपालीहरु नयाँ आउने नेपालीहरुप्रति वेवास्ताको भावनाले हेर्ने गरेका पनि पाइन्छन् तर सबै नेपालीमा त्यो लागू हुँदैन । नजानेको नथाहापाएको कुरा सोध्नुहोस् सोद्धा विग्रदैन ।

अंग्रेजीमा पोख्त नहुँदैमा तपाई आफूलाई नर्वस नबनाउनुहोस् राज्यले कतिपय सरकारी काम कारवाहीमा वा वीमाहरुमा अंग्रेजी भाषामा कुरा बुझाउन सक्नुभएन भने तपाईका लागि दोभाषे पनि उपलब्ध हुन्छन् ।

यसरी अमेरिका आउनुपूर्व तपाईंले केही जानकारी यस्तै अध्ययन वा आफन्तमार्फत नै भए पनि जानकारी लिनुभयो तपाईहरुलाई पनि सजिलो हुन्छ  | ( साभार: नेपालइटाली ब्लग)

Comments

comments