–दीपेन्द्र दोङ तामाङ ।

१८ औं सार्क सम्मेलनको मिति जति नजिकिदै छ सरकारलाई तयारीमा उत्तिकै चटारो छ । त्योसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा पनि बढ्दो छ । लाग्छ यो सार्क सम्मलेन होइन मोदीको भ्रमण हो । मोदीको स्वागतका लागि जनकपुर र लुम्विनीमा विशेष तयारी गरिएको छ । यसरी शिखर सम्मेलनलाई नै मोदीमय बनाउँन लागिएकोप्रति सांसदहरुले आपत्ति जनाएको छ । त्यसमाथि सम्मेलनमा भाग लिन आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गर्ने र स्थानीयलाई साइकल उपहार दिने तयारी समेत गरिएपछि सांसदहरुले मोदीको मकसद प्रष्ट पार्न सरकारसँग माग गरेको छ । सार्क सम्मेलनका लागि सहभागि हुन आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठाउँ ठाउँमा सभा गर्ने तथा साइकल बाँड्ने कार्यक्रमप्रति सासदहरुले विहीवार संसदको राज्य व्यवस्था समिति बैठकमानै आपत्ति जनाएका थिए । समिति बैठकमा सांसदहरुले चुनावका बेलामा जस्तो साइकल बाँड्ने, टोल टोलमा भाषण गर्दै हिड्ने कार्यक्रमले कुटनीतिक मर्यादा उल्लंघन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यस्ता कुराले कुटनीतिक मर्यादा र अर्को देशको सार्वभौमिकतामाथि कस्तो असर पर्छ भन्ने बिषयमा समेत सांसदहरुले प्रश्न गरेका थिए ।

यता सरकारले भने प्रचारमा आए जस्तो मोदीको कुनै कार्यक्रम नरहेको जवाफ दिएको छ । विहीवारको बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भारतीय प्रधानमन्त्री मोदीले विराटनगरमा नागरिक अभिनन्दन समारोहमा सम्मान ग्रहण गर्नुहुने भए पनि कुनै जिन्सी बितरणको कार्यक्रम भने नभएको स्पष्ट पार्नुभयो । गृहमन्त्री गौतमले मोदीबाट साइकल बाड्ने कुनै कार्यक्रम नरहेको जानकारी दिदै टोल टोलमा भाषण गर्ने नभई नागरिक अभिनन्दनको कार्यक्रम मात्र रहेको जानकारी दिनुभएको थियो ।

समितिको बैठकमा सांसदहरुले सार्क सम्मेलनमा सहभागी हुन आउने अतिथिहरुको अन्य कार्यक्रमबारे पनि सरकारसंग छलफल गरेको थिए । बैठकमा प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाले विभिन्न ठाउँमा जान चाहदा सरकारले उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा हुन गइरहेको १८ औ सार्क सम्मेलन ऐतिहासिक हुने दाबी समेत गर्नुभयो ।

सांसदहरुले सार्कको सुरक्षा सार्वजनिक विदा, ट्राफिक व्यवस्थापन लगायका विषयमा समेत सरकारसंग जानकारी मागेका थिए । सार्क व्यवस्थापनका नाममा सर्वसाधारणलाई सास्ती नदिन पनि सासदहरुले आग्रह गरेका थिए । राज्य व्यवस्था समितिले सार्क सम्मेलनको सुरक्षा व्यवस्था बलियो बनाउन र चुस्त ट्राफिक व्यवस्थापन गरी सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

Comments