अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सन् २०१५ मा हुने विश्वकप क्रिकेट प्रतियोगिताको पुरस्कारको राशी बढाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ४३ लाख डलर पाउनेछ भने कुनै खेल नहारी टोली विजयी भएमा ४६ लाख डलर पाउने आइसिसीले जनाएको छ । यस्तै उपविजेताले २० लाख डलर पाउनेछ भने सेमीफाइनलसम्म पुग्नेले ६ लाख ९२ हजार डलर पाउने छन् ।
क्वार्टरफाइनलमा पराजित चार टिमले तीन लाख ४६ हजार डलर पाउनेछन् । यो रकम सन् २०११ मा भारत, बंगलादेश र श्रीलंकामा भएको विश्वकप पुरस्कारको राशीभन्दा २० प्रतिशतले बढी हो ।  दुवईमा दुइदिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले प्रतियोगिताका ४९ वटै खेलमा निर्णय पुनरावलोकन सिस्टम डिआरएस पनि लागूगर्ने निर्णय गरेको छ । प्रतियोगिताको फाइनल खेल बराबरी भएमा दुवै टोलीलाई विजेता घोषणा गर्ने निर्णय पनि आइसिसीले गरेको छ ।

सन् २०१५ को फेब्रुअरी १४ देखि मार्च २९ सम्म अष्ट्रेलिया र न्युजिल्याण्डमा विश्वकप क्रिकेट सञ्चालन हुनेछ ।

Comments