‘स्किल’ अंग्रेजीको यो शब्दले योग्यता र दक्षतालाई जनाउँछ। त्यही शब्दबाट ‘एस’ झिकिदिने हो भने ‘किल’ अर्थात मार्नु र मर्नु समेत हुन जान्छ।

यतिखेर अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा रहेका धेरै विद्यार्थीको ‘स्किल’ नै ‘किल’ भएको अवस्था छ। राम्रो अंक ल्याएर डाक्टर, इन्जिनियर, प्राध्यापक र वैज्ञानिक बन्ने सपना बोकेका युवाहरु यता आएर उबर र क्लिनर, फार्म र जाम अनि रिजनल र सिजनल प्वाइन्टको चक्करमा फसेको देखिन्छ।

अस्ट्रेलियामा मात्र ६५ हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन्। अस्ट्रेलिया बाहेक, अमेरिका, बेलायत, जापान, न्युजिल्यान्ड र युरोपियन देशहरुमा पनि हजाराैं युवाहरु उच्च अध्ययनमा छन्।

एसएलसी र १२ कक्षामा ‘डिस्टिङसन’ अंक प्राप्त सर्टिफिकेट पाएका, डाक्टर, इन्जिनियर तथा वैज्ञानिक र प्राध्यापक बन्ने सपना बोकेका देशका युवा वैदेशिक अध्ययनका नाममा गलत सोचाइ र प्रतिकुल रोजाइका कारण दोधारमा परेको देखिन्छ।

भर्खरै अस्ट्रेलियामा गरिएको एउटा अध्ययनले देखाएको निचोड हेर्ने हो भने करिब पचास प्रतिशत नेपाली विद्यार्थी ‘भेट’ शिक्षामा आएको देखिन्छ।

१२ कक्षा पास गरेपछि समुन्द्रका सुन्दर किनार र गगनचुम्बी भवन देखेर विदेशिएका युवाहरु यतिखेर पढाइ, लेखाइ छाडेर उबर र क्लिनिङ अनि होटलमा तन्ना कँस्दै, रेस्टुरेन्टका भाँडा माझ्दै गर्दा मनोबलमा कस्तो प्रभाव पर्दैछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।

देशका प्रतिभाशाली युवाहरु दक्षता अभिवृद्धिका लागि विदेश आउँदै गर्दा पढाइभन्दा पनि काम, दाममा अल्झिएर जीवन वर्वाद गरिरहेका
त छैनन्, भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

पढाइका हिसाबले यहाँका विश्वविद्यालयहरु नराम्रा छैनन् र होइनन् पनि। विश्व वरियताक्रमका विश्वबिद्यालय पनि यहाँ छन् र ति अत्यन्तै महंगा पनि छन्, स्तरीय पनि। तर भेट शिक्षाका नाममा खोलिएका केही कोठे कलेजहरुको पढाइ र सिकाइ हेर्ने हो भने त्यसमा कुनै शैक्षिक स्तर र भरोसायोग्य देखिँदैन।

भेटमा पनि सरकारी टेफ कलेजको शिक्षा फरक र अलग छ, त्यो बिकाउ र टिकाउ पनि देखिन्छ। तर कतिपय निजी कलेजहरुमा सर्टिफिकेट, डिप्लोमा, एडभान्स डिप्लोमाको शिक्षा र उपयोगिता भने कमाउ र अस्ट्रेलिया बसाईका लागि बाटो फुकाउका रुपमा कहलिएको छ।

सबै भेट कलेजलाई एउटै टोकरीमा राख्न मिल्दैन, त्यसमा राम्रा पनि छन्। फरक रोजाइ, अनि शैक्षिक भोगाइको आधारमा केही भेट कलेजहरुले आफ्नो शैक्षिकस्तरलाई गुणस्तरीय बनाउन सकेका पनि छन् तर ती औंलामा गन्न सकिने मात्र छन्।

प्राविधिक शिक्षा अर्थात भेट कोर्स सस्तोमा पढ्दै, पैसा बचाउन र भिसा अवधि बढाउन भने उपयोगी कोर्स हो भन्दा फरक पर्दैन। केही सस्तो, सहज पढाइ र काममा बाटो फुकाइको यो माध्यम थोरै पैसामा विदेश आउन चाहनेहरुको लागि उपयोगी शिक्षा भनेर चिनिन्छ।

तथ्यांक हेर्ने हो भने पचास प्रतिशत नेपाली विद्यार्थी भेट शिक्षामै अस्ट्रेलिया आएको देखिन्छन्। कमाउका लागि ठिकै भएपनि यस्तो शिक्षाले अबका दिनमा अस्ट्रेलियामा स्थायित्व हुन भने चुनौति बनिसकेको छ।

अस्ट्रेलियाको हकमा मात्रै चलनचल्ती र उपयोगमा आउने यस्ता अध्ययन र प्रमाणपत्रहरु नेपालमा समेत शैक्षिक योग्यताको सूचीमा पर्दैनन्। कम खर्च गरेर काम गर्ने अनि पैसो कमाउनेका लागि त्यस्ता भेट कलेज पक्कै उपयोगी भएका छन्।

बग्रेल्ती खुलेका कलेज, पचास प्रतिशतसम्मको कमिशन, पढाइ कम, हाजिरी ज्यादा जस्ता कारणले भेट शिक्षाले अस्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा विद्यार्थीलाई सिप र योग्यताको कसीमा बाँध्न सकेको छैन। वर्षेनी अस्ट्रेलियन सरकारले एक सयभन्दा बढी भेट कलेजहरुको दर्ता खारेजी गर्नुले पनि यो शिक्षामा बिग्रँदो परिस्थितिलाई उजागर गरेको देखिन्छ।

अस्ट्रेलियन शिक्षा नीतिको भावना र त्यसमा रहेका कमी कमजोरीमा फाइदा उठाउने शैक्षिक गिरोहका कारण पनि कयैन भेट कलेजहरु मापदण्ड पुरा गर्न नसकी कारबाहीमा परेका देखिन्छन्।

विश्वविद्यालय र योसँग आवद्ध शंकायहरुमा पढ्दै गर्दा यसको महत्व र सिकाइले पनि अर्थ राखेको देखिन्छ। विश्वविद्यालयमा पढ्न आएका विद्यार्थीहरु स्थायित्व र व्यवसायिक सवालमा अग्रस्थानमा देखिन्छन्। तर यो महँगो भने पक्कै छ।

‘डिस्टिङसन’को अंकक ल्याई नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थी तीन–चार वर्षसम्म डिप्लोमा र एडभान्स डिप्लोमा गर्दै पढाइ आधा, काम ज्यादा गर्न थालेपछि उसको दिमागमा डलर र विदेशी ‘कलर’ले छपक्कै बास गर्न थाल्छ।

त्यसपछि दुई, तीन वर्षको हाजिरी पढाइ र सँगै डलरको कमाइले उसको कुशलता र दक्षतामा ह्रास आइसकेको हुन्छ। पढेर नेपालमा डाक्टर, इन्जिनियर, वैज्ञानिक र प्राध्यापक बन्ने हाम्रा सन्ततीहरु किचेन, उबर अनि क्लिनिङको काम र कृषि फार्मतिर दौडिरहेका देखिन्छन्। यो चिन्ताजनकको विषय हो। हाम्रोजस्तो राष्ट्रका लागि युवा शक्ति र भविष्यको गतिमा यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्वपुर्ण हो।

हामीले अवलम्वन गरेको शिक्षा नीतिमा परिवर्तनको खाँचो देखिएको छ। पछिल्लो समय अस्ट्रेलियामा एक निजी भेट कलेजमा नर्सिङ पढ्न आएका हजारौं विद्यार्थी अलपत्र परेपछि नेपालमा ठूलै हलचल मच्चिएको थियो। अहिले महिनैपिच्छे कयैन भेट कलेज रद्द भएको समाचार आइरहेका छन्। त्यहाँ पढ्ने कयैन नेपाली विद्यार्थीको अवस्था कस्तो छ कसैलाई थाहा छैन।

सरकारको शिक्षा नीतिलाई तोडमोड गरेर कमाइ खान पल्केका कयैन एजेन्सी र कलेजहरु यतिखेर सरकारी निकायलाई भ्रममा राख्न सफल बनेका छन्।

भेट कलेजहरुको प्रतिस्पर्धामा चालीस-पचास प्रतिशतसम्मको कमिशन, बोनसका कारण पनि ती कलेजहरुले विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्दैनन् भन्ने कुरा प्रमाणित हुन्छ। प्रतिस्पर्धाका कारण एजेन्टलाई दिइने बढ्दो कमिशनका कारण पनि यस्ता कलेजहरु विद्यार्थीको संख्या थुप्रार्ने र हाजिरी बुझाउने कलेजका रुपमा रुपान्तरण हुँदैछन्।

यसमा सबैभन्दा पहिलो कमजोरी त विद्यार्थी र अभिभावककै मान्नुपर्छ। विदेश पढाउने नाममा के, कहाँ र कस्तो पढाई हुन्छ भनेर नबुझ्ने अभिभावक र विदेश भन्नेवित्तिकै बुरुक्क खुट्टा उचाल्ने विध्यार्थी दोषीका पात्र हुन्। विदेश भन्नेवित्तिकै करियर बन्छ भन्ने हाम्रो सोच खराब हो।

यसमा सुधार ल्याउन राज्यको अग्रसरता महत्वपुर्ण रहन्छ। राज्यले नेपालबाट बाहिर उच्च अध्ययनमा जाने आफ्ना युवा पिंढीलाई कस्ता विद्यार्थीलाई कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने कुराको ठम्याई गर्न सकेन भने फेरि पनि यसरी विदेशमा नेपाली युवाको अस्तब्यस्तता बढ्न सक्छ।

राम्रो पढाइ र स्थायी बसाइको चाँजोपाँजो मिलाउन नसक्दा कयैन नेपाली युवाहरु गलत बाटो रोज्ने अनि अवैद्य धन्दा गर्ने गरेको पाइन्छ। यसले नेपाल र नेपालीको छविमा समेत नराम्रो प्रभाव पर्न थालेको छ।

स्रोत:सेटोपाटी

Please follow and like us:

Comments