४ हजार ३ सय ६४ मा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज हुँदा १५ जनाको कोरोना संक्रमणका कारण ज्यान भएको छ ।

नेपालमा बुधबार साँझसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण र आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । अहिलसम्म देशका ७७ जिल्ला मध्ये ७२ जिल्लामा कोरोना विस्तार भएको छ ।

खुकुलो बन्दै लकडाउन

सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कृषि, उद्योग र व्यापारलाई खुकुलो बनाउने निर्णय गरेको छ । बिहिबारदेखी नै लागू हुनेगरी काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूको जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनलाई केही खुकुलो पार्ने निर्णय सरकारले गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार भोलिबाट नै बजार खोल्न दिइने छ ।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपनि सवारी साधनको अन्तिम नम्बर जोर भएकाहरु जोर दिन र बिजोर भएकाहरु बिजोर दिन चल्न पाउनेगरी व्यवस्थापन गरिएको छ । विद्यालय, सिनेमा हल, मनोरञ्जनात्मक व्यवसाय लगायतका धेरै भीडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिइने जानकारी गराएका थिए ।

एसईई परिक्षा स्थगित

कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार सरकारले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेसँगै नियमित परीक्षा नहुने भएको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको जानकारी दिनुभयो ।

विद्यालय तहमा आन्तरिक परीक्षा र मूल्याङ्कन हुने मन्त्री पोखरेलले बताउनुभयो । अब विद्यालयहरूले परीक्षा बोर्डमा पठाउने आन्तरिम मूल्यांकन नम्बरका आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गरिनेछ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमलाई कारण देखाउँदै चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबाट स्थगित भएको थियो ।

चार्टर उडानको शुल्कबारे छानबीन गर्न समिति गठन

चार्टर फ्लाइटको शुल्कबारे छानबीन गर्न पर्यटन मन्त्रालयले छानबीन समिति गठन गरेको छ ।पछिल्लो महामारीका बेला नियमित उडान रद्द छन् । तर विदेशबाट स्वदेश आउन खोज्ने नेपालीहरुलाई ल्याउन भने केही चार्टर उडानलाई सरकारले अनुमति दिन थालेको छ ।यस्ता चार्टर उडानमा भाडा चर्को भएको भन्ने यात्रुहरुको गुनासो बढ्दै गएसंगै सरकाले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

यस सम्बन्धमा चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारमा के कति भाडा लिएका हुन् सोको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई सात दिनको समय दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

ट्रम्प आगामी निर्वाचनको प्रचारप्रसार थाल्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताएका छन् ।राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताएका छन् ।गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन ।कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्‍याली र सभालाई निरन्तरता दिने बताएका हुन ।ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन ।

शुक्रबारबाट आफूले र्‍याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् ।विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।

Comments