७१ जिल्लामा कोरोना विस्तार

आइतबार रोल्पामा समेत कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोना विस्तार भएको छ । आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

प्रदेश १ का १२ जिल्लामा २ सय ५९, प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१, कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ।

क्वारेन्टाइनमा बस्नेहरु र आइसोलेसनमा समेत कोरोना संक्रमित बढ्दैगर्दा सांसदहरुले नै क्वारेन्टिनस्थल हिरासत, जेल र गोठजस्ता भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रदेश मन्त्रालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोय अनुसन्धान आयोगले प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा छापा मारेको छ । मन्त्रालयमा व्यापक अनियमितता र अपारदर्शी काम भएको भन्ने उजुरीपछि बर्दिवासस्थित आयोगको टोलीले आइतबार छापा मारेको हो ।

प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटी पीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भन्दै उजूरी परेको बताइएको छ । आयोगले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा औपचारिक रुपमै दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्ष समान हैसियत रहनेगरी महन्थ ठाकुर र उपेन्द्र यादव रहनेगरी दल दर्ता गरिएको हो । पार्टीको बरिष्ठ नेतामा क्रमश बाबुराम भट्टराई राजेन्द्र महतो र अशोक राई रहने भएका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकता घोषणा भएको थियो । नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा लामो समयदेखी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

नेपालमा सलह किराको जोखिम तत्काललाई टर्‍याे

नेपालमा  सलह किराको जोखिम तत्काललाई टरेको छ । कीट विज्ञले झुन्डमा हिँड्ने सलह किराको समूह विभाजित भएको र उनीहरुको बहाव भारतकोे दक्षिण पूर्वतिर सर्ने सम्भावना रहेकोले नेपालमा जोखिम तत्काललाई टरेको बताएका छन् । वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालका अनुसार सलहको बहाव उत्तरतिर सरेको भए नेपालमा जोखिम हुन्थ्यो । तर किराको बहाव दक्षिण पूर्वतर्फ सरेकोले तत्काललाई सङ्कट टरेको छ ।

नेपालमा मनसुनी गतिविधि सुरु हुन थालेको र सलहको प्रजननका लागि नेपालको हावापानी पनि उपयुक्त नभएकोले यसको जोखिम टरेको अर्यालले बताउनुभयो । सलह किराललाई फूल पार्न मरुभूमिकै हावापानी चाहिन्छ । मरुभूमिको जस्तो हावापानी नेपालमा नभएकोले अहिलेको लागि यो सम्भावना टरेको डाक्टर अर्यालको भनाइ छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले पनि यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी गराएको बताउनुभयो ।

अमेरिकामा २० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २० लाखभन्दा बढी संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६७६ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ७ हजार २२० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा नेपाली समय अनुसार सोमबार बिहान साढे ५ बजेसम्म १ लाख १२ हजार ४४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३७३ जनाको मृत्यु भएको छ ।कुल संक्रमितमध्ये ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३६ हजार २४७ जनामध्ये १६ हजार ९१५ जनाको अवस्था गम्भीर रहेको छ ।

 

Please follow and like us:

Comments