काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् । तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त ? पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ । घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ ।

 

सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ ।विराटनगरकी १९ वर्षीया युवतीमा लकडाउन सुरु भएदेखि अनौठो लक्षण देखा पर्न थाल्यो । उनी जथाभावी बोल्ने, रुने, हाँस्ने, आत्तिने, रातभर नसुत्ने गर्थिन् । उनी स्थानीय क्लिनिकमा गइन्, उपचार गराइन् । समस्या बीसको उन्नाइस नभएपछि उनी मानसिक रोग विशेषज्ञ डा. रितेश थापाको सम्पर्कमा आइन् । ‘गम्भीर मानसिक समस्या साइकोसिस नै भइसकेको रहेछ । परामर्श र औषधिले उनी ठीक हुँदै छिन्,’ डा. रितेशले भने ।

डा. रितेशका अनुसार क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी कुरा र भ्रामक समाचार पढ्दा मानिस मानसिक बिरामी बन्दै छन् । घरमै केही नगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपटी र तनाव हुने समस्या बढिरहेको छ । मनोचिकित्सकहरूका अनुसार कोभिड–१९ को डर र त्रासले नयाँ मानसिक रोगका बिरामी थपिएका त छन् नै पुराना मानसिक रोगीको व्यथा झन् बढेको छ ।

ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालले कोभिड–१९ सम्बन्धी मनोसामाजिक परामर्श दिन हटलाइन सञ्चालन गरिरहेको छ । एक सातादेखि सञ्चालन गरिएको हटलाइनमा बुधबारसम्म २७ जनाले कल गरिसकेका छन् । फोन गर्नेमा धेरै पुरुष छन् । क्लिनिकल साइकोलोजिस्ट र साइकोसोसल काउन्सिलरले बिहान ८ देखि साँझ ६ बजेसम्म मानसिक समस्यासम्बन्धी परामर्श दिन्छन् । संस्थाका कार्यकारी निर्देशक डा. कमल गौतमका अनुसार धेरै जनाले मानिसमा कोभिड–१९ कसरी सर्छ भनेर जिज्ञासा राख्छन् । ‘निद्रा नलाग्दा, आत्तिँदा, घाँटी खसखस गर्दा कोरोना हो कि भनेर फोन गर्ने पनि छन्,’ उनले भने, ‘कोरोना लागिहाल्छ कि भन्ने शंका गरेर मनमा कुरा खेलाउने र छटपटी हुने समस्या साझा रूपमा देखिएको छ ।’चिकित्सकहरूले परामर्श दिएर औषधि प्रेस्क्राइब गरे पनि औषधि किन्न समस्या छ । ‘सरकारले स्काइप तथा टेलिमेडिसिन सेन्टरबाट कसरी परामर्श दिने, कसरी औषधि प्रेस्क्रिप्सन गर्ने भनेर गाइडलाइन बनाउनुपर्छ,’ डा. गौतमले भने ।

मनोचिकित्सक डा. कपिल उपाध्यायलाई केही दिनअघि तेह्रथुमकी एक शिक्षिकाको फोन आयो । आफ्नो ठाउँमा कोभिड–१९ को संक्रमण फैलियो भने के गर्ने भनेर उनी निकै तनावमा रहिछन् । ‘अहिले सहरमा मात्र होइन गाउँमा पनि मानसिक समस्या देखिन थालेको छ । सहरका मान्छे कामविहीन भएर घरमै बसेका छन्, व्यायायमा पनि हुँदैन,’ उनले भने, ‘कामले शारीरिक स्फूर्ति राख्नुका साथै दिमाग ताजा बनाउन गाउँमा सम्भव छ ।’विश्वभरि नै कोभिड–१९ महामारीका रूपमा फैलिइरहँदा मनमा डर हुनु मानवीय स्वभाव भएको चिकित्सकहरू बताउँछन् । ‘सकारात्मक सोचले दिमाग मात्र होइन, शरीर पनि बलियो बनाउँछ,’ डा. उपाध्यायले भने, ‘महामारीसँग भिड्न सक्छु भन्ने सकारात्मक विचार राख्ने गरे यस्ता समस्याबाट मुक्त भइन्छ ।’

तनावरहित कसरी हुने ?

  • सामाजिक सञ्जालमा धेरै समय नबिताउने
  • कोभिड–१९ सम्बन्धी समाचार धेरै नपढ्ने, आधिकारिक मिडियाको मात्र भर पर्ने
  • आफूलाई व्यस्त राख्ने तथा मनमा लागेका कुरा गर्ने
  • परिवारसँग समय बिताउने
  • पोषणजन्य आहार खाने
  • किताब पढ्ने, लेख्ने, फिल्म हेर्ने
  • सामान्य व्यायाम र योग गर्ने
  • पर्याप्त निदाउने
  • जाँडरक्सी र अन्य लागुपदार्थबाट टाढा रहने
  • महामारी बिस्तारै साम्य हुन्छ भन्ने सोच राख्ने
Please follow and like us:

Comments