मेलबर्न । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी विद्यार्थीहरुलाई आफ्नै देश फर्किन सुझाव दिएका छन् ।

कोरोना भाइरसका कारण काम नपाउने स्थिति आएपछि यतिबेला अष्ट्रेलियामा विदेशी विद्यार्थीहरु आर्थिक संकटमा परेका छन् । यसै विषयमा प्रधानमन्त्री मोरिसनले विद्यार्थीहरुलाई आफ्नो देश फर्किन सुझाव दिएका हुन् ।

शुक्रबार रिपोर्टरहरुसंग बोल्दै उनले भनेका छन्, ” विद्यार्थी भिसा, भिजिटर भिसा लगायत अस्थायी भिसामा अष्ट्रेलिया आएका व्यक्तिहरु यहाँ बस्नैपर्छ भन्ने बाध्यता छैन । त्यसैले यो अहिलेको अवस्थामा आर्थिक रुपमा आत्मनिभर हुन सकिंदैन भने आफ्नो देश फर्किनु उत्तम हुन्छ ” ।

मन्त्री मोरिसनले विद्यार्थी र अन्य अस्थायी भिसामा रहेकाहरूको लागी काम गर्न पाउने समयावधि बढाइएको बताएका छन्। अष्ट्रेलिया सरकारले अहिले आफ्ना नागरिक र स्थायी बसोबास गरिरहेकाहरुलाई हेर्नुपर्ने अवस्था रहेकोले अस्थायी भिसा होल्डरहरुलाई थप आर्थिक सहायता गर्न नसकिने प्रधानमन्त्री मोरिसनको भनाइ रहेको छ ।

उनले अष्ट्रेलिया आएका विद्यार्थीहरु यहाँ बसाइको पहिलो १२ महिनासम्म आफूलाई आर्थिक रूपमा सहायता गर्न सक्ने देखाएर मात्र आउने हुनाले सरकारको अहिलेको अपेक्षा अनुचित नरहेको समेत बताएका छन् ।

Source : news.com.au

Comments