– विकास पाण्डे, ब्रिसबेन

कोरोना भाइरसले विश्व आक्रान्त भइरहेको समयमा अष्ट्रेलिया पनि त्यसबाट अछुतो रहन सकेन । कोरोना भाइरसले गर्दा यतिबेला अष्ट्रेलियामा हरेकको जीवन प्रभावित भएको छ । त्यसमा पनि विदेशी विद्यार्थीहरु अझ बढी प्रभावित भएका छन् ।

तर, विदेशी विद्यार्थीहरुबाट जो लाभान्वित भएका छन् उनीहरुले यो कठीन परिस्थितिमा विद्यार्थीहरुको सहयोगको लागि प्रभावकारी कदम चालेको देखिंदैन । अष्ट्रेलियन सरकारले अरुबेलाको भन्दा बढी समय काम गर्ने अनुमति दिएतापनि अन्य प्रभावकारी सहयोग प्याकेज ल्याएको छैन । यो संकटको घडीमा विद्यार्थीहरुलाई यो भन्दा बढी सहयोगको खाँचो छ ।

म पनि १५ वर्ष अगाडी विद्यार्थी नै थिएँ । त्यसैले पनि उनीहरुको अहिलेको आवश्यकता र उनीहरुका समस्यालाई मैले महसुस गरेको छु । विदेशी विद्यार्थीहरु आफ्नो देशबाट धेरै टाढा यहाँ करियरको खोजीमा आएका छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो देशबाट सहयोगको आशा राख्दैनन् भने अर्कोतिर परिवारले पनि यो कठीन समय झेलिरहेको हुनाले उनीहरुले आवश्यकता अनुसार साथ र सहयोग पाउन सक्दैनन् ।

लेखक

विद्यार्थीहरु यस्तो अवस्थामा छन् कि, न त उनीहरुसंग पर्याप्त काम छ, न त निर्भर हुनसक्ने परिवार छ, न बैंक ब्यालेन्स छ, न त उनीहरुको लागि सरकार छ ।

अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आफ्नो देशमा आकर्षित गर्नको लागि हरेक वर्ष मिलियन डलर खर्च गर्ने गर्छ । तर, अष्ट्रेलिया प्रति आकर्षित भएर आएका विद्यार्थीहरु अहिले निराश छन्, तनावमा छन् । उनीहरुको आशालाई फर्काउनुपर्ने अवस्था आएको छ । अहिले अष्ट्रेलिया सरकारले अष्ट्रेलियाका नागरिक र पीआर होल्डरहरुलाई राहत प्याकेज ल्याएको छ । तर, त्यो राहत प्याकेजले विद्यार्थीहरुलाई समेटेको छैन । विद्यार्थीहरुले यही देशमा आफ्नो श्रम खन्याएका छन्, यही देशमा ट्याक्स तिरेका छन्, यहींको अर्थतन्त्रलाई बलियो बनाइदिएका छन् । २०१८-१९ मा अष्ट्रेलियाको अर्थतन्त्रमा विदेशी विद्यार्थीहरुले ३८ बिलियन डलर योगदान गरेका छन् भन्ने हामीले बिर्सनु हुँदैन ।

हस्पिटालिटी बिजनेस, बीमा कम्पनी, शिक्षा क्षेत्र, रेन्टल बिजनेस लगायतका बिजनेसमा विद्यार्थीहरुको योगदानलाई हामीले बिर्सिएका हौँ ? हामीले ती विद्यार्थीलाई बिर्सियौं, जसले अहिलेको अवस्थामा अत्यावश्यक स्वास्थ्य क्षेत्रमा योगदान दिएका छन् ? अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिको हैसियतले पनि म संकटको घडीमा सरकारले विद्यार्थीहरुलाई नहेरेको  इतिहास लेखियोस भन्ने चाहन्न ।

अहिले विद्यार्थीहरुले जागिर गुमाइरहेका छन्, घरभाडा देखि विभिन्न बिल पेमेन्ट को तनावले थिचिएका छन् । त्यस्तै कतिपय विद्यार्थीहरुलाई भिसाको तनाव थपिएको छ र बिदामा गएका कतिपय विद्यार्थीहरु उतै अड्किएका छन् ।

यस्तो अवस्थामा अष्ट्रेलियन सरकारले विदेशी विद्यार्थीको लागि मेरो विचारमा निम्न राहत प्याकेज ल्याउनुपर्छ :

१. भिसा म्याद ६ महिना या कोरोनाबाट प्रभावित भएजति समय बढाइदिनुपर्छ । यसले गर्दा धेरै विद्यार्थीहरुको तनाव घट्नेछ । सबै बन्द रहेको समयमा विद्यार्थीहरुले कसरि प्लेसमेन्ट  पाउँछन् र कोर्स पूरा गर्छन् ? यो सोंच्नुपर्ने समय भएको छ ।

२. विद्यार्थीहरु काम नपाउने र भाडा  तथा बिल तिर्नुपर्ने तनावले मानसिक रुपमा बिरामी हुने, सडकमा आउने अवस्था समेत आउनसक्छ  । त्यसैले प्रति विद्यार्थी १ हजार डलर प्रदान गर्ने या घरभाडा छुट गरिदिने योजना ल्याउनुपर्छ ।

लेखक भाइव कलेज ब्रिसबेनका सीइओ हुनुहुन्छ ।

Comments